रसुवागढी र साञ्जेनले सेयर बिक्री गर्दै, स्थानीयलाई भन्दा सर्वसाधारणलाई पहिले

काठमाडौं । रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि सेयर बिक्रीको प्रक्रिया शुरु गरेको छ । स्थानीयवासीलाई सेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल एक अर्ब रुपैयाँभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले एक अर्ब २६ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । उनले भने, “स्थानीयवासीले आफूहरुलाई सेयर बिक्रीको समय पछाडि सारिदिन गरेको आग्रह नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएका छाैँ । बोर्ड अनुमति दिने प्रक्रियामा छ ।” सो कम्पनीले रसुवावासीलाई ६८ करोड ४२ लाख रूपैयाँ बराबरको साधारण सेयर बिक्री गर्नेछ । कूल ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनीले आगामी आवमा आयोजना निर्माण सक्ने जनाएको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीले पनि सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ । स्थानीयवासीको मागका आधारमा आफ्नो कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आयोजना प्रमुख किरण श्रेष्ठले जानकारी दिए । सो कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । कम्पनीले सर्वसाधारणलाई ५४ करोड ७५ लाख रुपैयाँ तथा रसुवावासीलाई ३६ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ । दुवै आयोजना आगामी आवभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । रासस

एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत हकप्रद निष्कासन गर्दै, बुक क्लोज कहिले ?

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले १०५ प्रतिशत अर्थात १ः१.०५ को अनुपातमा हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहलाई सो मात्रा अर्थात १४ लाख ३ हजार ३२५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । सो प्रयोजनको लागि कम्पनीले आगामी कात्तिक २७ गते संस्थाको बुक क्लोज गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख रुपैयाँ रहेको छ । १०५ प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २७ करोड ३९ लाख रुपैयाँ नाघ्ने छ । कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई गत वैशाख १ गते बसेको इन्स्योरेन्सको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

बोनस सेयरपछि सेन्ट्रल फाइनान्सको मूल्य समायोजन

काठमाडौं । बुधबार सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ६ करोड ६३ लाख रुपैयाँ बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११७.९७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १४४.४९ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बुधबारको बजारमा कम्पनीको सेयर मूल्य घट्ने क्रममा रहेको छ ।