कर्णाली प्रदेश अस्पतालका कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत कर्जा पाउने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्णाली प्रदेश सरकारअन्तर्गतको प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सोमबार भएको सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले प्रदेश अस्पतालका कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा उपलब्ध गराउनेछ । साथै, कर्मचारीहरूले सहुलियत दरमा अन्य बैंकिङ सेवा तथा सुविधासमेत प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त सहकार्यले प्रदेश अस्पतालका कर्मचारीलाई सहज, छिटो र सुलभ बैंकिङ सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक वि.सं. २०२२ साल माघ १० गते स्थापना भएको हो । हाल बैंकले देशभरका सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेट्ने गरी ३१६ शाखा कार्यालय मार्फत कर्जा, निक्षेप, एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आईएसएमटी कलेजबाट ४१५ विद्यार्थी दीक्षित, उत्कृष्टलाई विशेष अवार्ड र छात्रवृत्ति

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डसँग सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । काठमाडौंमा आयोजित समारोहमा बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी आईटी (सीएसई) र एमबीए कार्यक्रमका ४१५ जना विद्यार्थी दीक्षित भएका कलेजले जनाएको छ । असार २६ गते याक एन्ड यति होटलमा आयोजित समारोहमा नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा युनिभर्सिटी अफ सन्डरल्यान्ड (यूके)का उच्चस्तरीय प्रतिनिधि, अभिभावक तथा अन्य अतिथिहरूको पनि उपस्थिति रहेको थियो । कलेजका अनुसार उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई युनिभर्सिटी अफ सन्डरल्यान्डले विशेष अवार्ड प्रदान गरेको छ । साथै, आईएसएमटी समूहअन्तर्गत सञ्चालन हुने विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनका लागि उत्कृष्ट विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति समेत प्रदान गरिएको छ । आईएसएमटी समूहले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा युनिभर्सिटी अफ सन्डरल्यान्डसँगको सम्बन्धनमा बीबीए, बीएचएम, बीएस्सी आईटी, साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक्स, एमबीए तथा एमएस्सी कम्प्युटिङ कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

इसेवाको ‘सहारा हेल्थ इन्सुरेन्स’ : १ हजार ३९९ रुपैयाँमै ६ लाखसम्मको स्वास्थ्य बीमा

काठमाडौं । इसेवाले शिखर इन्सुरेन्ससँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘सहारा हेल्थ इन्सुरेन्स’मार्फत सर्वसाधारणको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको जनाएको छ । इसेवाका अनुसार यो स्वास्थ्य बीमा योजना केवल १ हजार ३९९ रुपैयाँ प्रिमियमबाट सुरु हुने र स्वास्थ्य तथा दुर्घटना गरी ६ लाख रुपैयाँसम्मको बीमा सुरक्षा उपलब्ध हुने व्यवस्था गरिएको छ । पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यस योजनाअन्तर्गत ग्राहकले कुनै कागजी प्रक्रिया वा बीमा कम्पनीको कार्यालय धाउनुपर्ने झन्झट बिना इसेवा एपबाट केही मिनेटमै बीमा खरिद वा नवीकरण गर्न सक्नेछन् । योजनाअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र उमेरअनुसार १ लाख, २ लाख वा ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा कभरेज छनोट गर्न सक्नेछन् । बीमाले २४ घण्टा वा सोभन्दा बढी अवधिको अस्पताल भर्ना उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचार, १५० भन्दा बढी डे–केयर सेवा तथा अस्पताल भर्नाअघि र डिस्चार्जपछिका योग्य उपचार खर्चसमेत समेट्ने कम्पनीले जनाएको छ । साथै, १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पनि समावेश गरिएको  छ। यो योजना ५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनमा आवश्यक विवरण भरेर आफ्नो वा परिवारका सदस्यका लागि उपयुक्त बीमा योजना छनोट गरी अनलाइन भुक्तानी गर्न सक्नेछन् । भुक्तानीपछि बीमा पोलिसी तत्काल डिजिटल रूपमा उपलब्ध हुने व्यवस्था गरिएको छ । इसेवाका अनुसार गत भदौदेखि सञ्चालनमा आएको ‘सहारा हेल्थ इन्सुरेन्स’बाट एक वर्ष नपुग्दै १० हजारभन्दा बढी ग्राहक लाभान्वित भइसकेका छन् । कम्पनीले सुलभ प्रिमियम, सहज डिजिटल प्रक्रिया र व्यापक बीमा कभरेजमार्फत सर्वसाधारणसम्म गुणस्तरीय स्वास्थ्य बीमाको पहुँच विस्तार गर्दै नागरिकको स्वास्थ्य तथा वित्तीय सुरक्षालाई थप सुदृढ बनाउने लक्ष्यका साथ सेवा विस्तार गरिरहेको जनाएको छ ।