यूए ह्याकाथनमार्फत पहिलो नेपाली डोमेन वेबसाइट सार्वजनिक
काठमाडौं । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यानसंगठन’ सार्वजनिक गर्दै युए ह्याकाथन नेपाल २०२५ सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र इन्टरनेट डोमेन नियामक संस्था आईक्यानको सहकार्यमा शनिबार काठमाडौंमा सम्पन्न कार्यक्रममा इन्टरनेट पहुँच र भाषिक समावेशितातर्फ ऐतिहासिक पाइला चालेको घोषणा गरिएको हो । कार्यक्रममा सार्वजनिक गरिएको नेपाली भाषाको डोमेनसहितको वेबसाइट ‘क्यान।संगठन’ लाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक सुरुवातको रूपमा लिइएको छ । यसले सरकारी तथा सार्वजनिक सेवाहरूमा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ । युनिभर्सल एक्सेप्टेन्स ९यूए० को अवधारणा अनुसार, इन्टरनेट प्रणालीले स्थानीय भाषामा लेखिएका डोमेन र इमेल ठेगाना स्वीकार गर्न सक्नुपर्छ। यस्तो प्रणालीलाई ‘यूए रेडी’ भनिन्छ । यस प्रविधि अपनाउनुले इन्टरनेट पहुँचबाट टाढा रहेका नेपाली भाषाभाषीलाई डिजिटल सेवामा जोड्न मद्दत गर्नेछ । कार्यक्रममा सूचना तथा प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले नेपाली भाषाको डोमेन प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षणमा योगदान पुर्याउने भन्दै यो कदम डिजिटल नेपाल निर्माणतर्फ सशक्त कदम भएको बताइन् । उनले एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने प्रक्रियामा रहेको जानकारी पनि दिइन् । सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले नेपालीमा दक्ष नभएका करिब ७० प्रतिशत नागरिक अझै इन्टरनेट पहुँचबाट टाढा रहेको भन्दै, नेपाली भाषामा डोमेन र इमेल ठेगाना पहुँचयोग्य हुँदा व्यापक प्रभाव पर्ने बताए । युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युए अवधारणालाई युनेस्कोको बहुभाषिकता सिफारिससँग मेल खाने विषय बताउँदै नेपालमा यसको कार्यान्वयनमा सहकार्य गर्न तयार रहेको जनाए । क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले नेपाली कम्प्युटिङ इतिहासमा यो अर्को महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै नेपाली भाषा स्ट्यान्डर्ड र स्पेल चेकर विकासपछि आएको नयाँ माइलस्टोन भएको बताइन् । कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो । पहिलो सत्रमा नीति निर्माता, सरोकारवाला र प्रविधि क्षेत्रका १०० जना भौतिक सहभागी थिए भने करिब ५० जना जुममार्फत अनलाइन सहभागी भए। दोस्रो सत्रमा आयोजित युए ह्याकाथनमा ४० जना युवाहरूले नेपाली भाषामा इमेल ठेगाना निर्माण र यूए रेडी प्रणालीको अभ्यास गरे । ह्याकाथन टिम लिड बिबेक सिलवालका अनुसार, 'वेबसाइटको सामग्री मात्र होइन, त्यसमा पहुँचका साधनहरू-जस्तै डोमेन र कीवर्ड पनि नेपाली भाषामै सम्भव छन् भन्ने सन्देश दिनु हाम्रा लागि मुख्य उद्देश्य थियो ।' कार्यक्रम सूचना प्रविधि विभाग, युनेस्को, एपीएनआईसी, नेपाल इन्टरनेट एक्सचेन्ज, वर्ल्डलिंक कम्युनिकेसन्स, माभोरियन सिस्टम्स, हिकोल कलेज र होरियन इन्टरेक्टिभ बोर्डको सहकार्यमा सम्पन्न भएको हो । आयोजक संस्थाका अनुसार यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको दीर्घकालीन सम्भावनामा समेत सकारात्मक प्रभाव पार्नेछ । क्यान महासंघका कार्यक्रम समन्वयक उदिप बरालले भने, 'हामीले कार्यक्रमको उद्देश्य प्राप्त गर्न सफल भयौँ, र यस्ता प्रयासले भविष्यमा सरकारी तथा निजी वेबसाइटहरू नेपाली भाषामै उपलब्ध गराउने सम्भावना थप बलियो बनाएको छ ।'
विदेश जानुपर्ने दिन गए, मृगौला रोगको उपचारमा नेपाल आत्मनिर्भर
पछिल्लो समय नेपालमा मृगौला उपचारको क्षेत्रमा ठूलो सुधार आएको छ । मृगौला रोगीको संख्या बढे सँगै यसको उपचारमा पनि विशिष्टिकृत हुँदै गएको हो । नेपालमा सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सुरुवात गरिएको थियो । त्यसअघि मृगौला प्रत्यारोपण गर्नुपरेमा छिमेकी मुलुक भारत र अन्य मुलुक जानुपर्ने अवस्था थियो । पैसा हुनेले विदेश गएर उपचार गर्ने गरे पनि पैसा नहुनेले भने स्वदेशमा राम्रो उपचार नपाउँदा अकालमै मृत्युवरण गर्नुपरेको हुन्थ्यो । टिचिङ अस्पतालसँगै क्रमशः अन्य अस्पतालहरुमा यो सेवाको बिस्तार भएको छ । निजी क्षेत्रबाट सबैभन्दा पहिले मृगौला प्रत्यारोपण शुरुवात गर्ने अस्पताल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल हो । हाल एक दर्जनभन्दा बढी अस्पतालहरूमा मृगौला प्रत्यारोपण हुँदै आएको छ । हाल वर्षेनी ४०० को हाराहारीमा मृगौला प्रत्यारोपण हुँदै आएको छ । हाल नेपालमा जटिल खालका मृगौला प्रत्यारोपण पनि सम्भव रहेको छ । भिन्न रक्त समूहका व्यक्तिले पनि मृगौला प्रत्यारोपण गर्न पाउनेछन् । मृगौलाका उपचारका लागि विश्वका विकास भएका सबै प्रविधि अहिले नेपालमा भित्रिएका छन् । मृगौला प्रत्यारोपण मात्र नभएर यससम्बन्धी जटिल रोगको पनि नेपालमा उपचार हुँदै आएको छ । मृगौला उपचारका लागि अहिले विदेश जानुपर्ने अवस्था छैन । समयमै मृगौला रोग पत्ता लगाउन सके कम खर्चमा यस रोगको उपचार गरी मृगौला रोग पूर्ण रुपमा निको हुने हुन्छ । मृगौला रोग लागेका विरामीले समयमै जाँच नगर्दा अन्तिम अवस्थामा विरामी अस्पताल आउने गरेको पाइन्छ । मृगौला फेल भइसकेपछि विरामी अस्पताल पुग्दा यसको उपचारका लागि धेरै खर्च लाग्छ । मृगौला प्रत्यारोपण र डायलाइसिस दुबै महँगो विधि हो । मृगौलाको रोग समयमै पत्ता नलाग्दा नेपाल जस्तो मुलुकका लागि मात्र नभई विश्वकै लागि ठूलो आर्थिक भार थपेको छ । हाल सरकारले मृगौला विरामीको उपचारका लागि सहयोग गर्दै आएको छ । सरकारले मृगौला प्रत्यारोपणका लागि सरकारी अस्पतालमा रु चार लाख ५० हजार र औषधीका लागि रु एक लाख सहयोग गर्दै आएको छ । यस्तै, विमामा आवद्ध भएका विरामीलाई विमाबाट पनि औषधी दिने व्यवस्था गरेको पाईन्छ । यस्तै, डायलाइसिसका लागि पनि सहयोग गर्दै आएको छ । डायलाइसिसको सुविधा गाउँमा नहुँदा शहरी क्षेत्रमा आएर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । शहरी क्षेत्रमा आएर कोठा खोजेर हिमोडायलाइसिस गराउँदा खर्च महँगो हुँदै गएको छ । डायलाइसिस हप्ताको २ देखि ३ पटकसम्म गर्नुपर्ने हुन्छ । अरु रोगको तुलनामा मृगौला उपचारमा ठूलो आर्थिक भार पर्ने गरेको छ । पेटमा हुने डाइलोसिस घरमै बसेर गर्न सकिन्छ । पाँच प्रतिशत विरामीले मात्र पेरिटोनियल (घरमै बसेर गर्न मिल्ने डायलाइसिस) गरिरहेका छन् । हिमो डायलाइसिस (मेसिनबाट गरिने) डायलाइसिस हो । नेपालमा यो डायलाइसिस अस्पतालमा मात्र गरिन्छ । नेपालमा मृगौलाका विरामी दिन प्रतिदिन बढ्दै गएको पाईन्छ । मृगौला रोग हुने मुख्य कारणमा मधुमेह (सुगरको रोग) र उच्च रक्तचाप नै हो । यसबाहेक ग्लोमरुलोनेफ्राइटीस, पत्थरी, वंशाणुगत रोग र विभिन्न किड्नी बिगार्ने औषधिको सेवनले गर्दा हो । विदेशी मुलुकमा श्रम गर्न गएका नेपालीलाई बढी मात्रामा मृगौलाको रोग देखा परेको पाईन्छ । खानपान नमिल्ने, लामो समय काम गर्नुपर्ने, समयमै उपचार नहुनु आदि तनावका कारण यो रोग विदेश काम गर्न गएका नेपालीलाई लाग्ने गरेको पाईन्छ । मृगौला फेल भएपछि गरिने उपचार पद्दती ज्यादै महंगो भएकाले समयमै मृगौला रोग लाग्न नदिनु वा समयमै पहिचान गरि त्यसको उपचार गर्दा यसको जोखिमबाट बच्न सकिन्छ । त्यसैले मृगौला रोगको जोखिममा रहेका विरामीले यसको नियमित परीक्षण गर्नुपर्छ । परिवारमा मृगौला रोग भएका व्यक्ति, मधुमेहका रोगी, उच्च रक्तचाप भएका व्यक्ति, मृगौलामा पत्थरी भएका व्यक्तिले मृगौलाको नियमित जाँच गर्नुपर्छ । त्यो बाहेक कुनै लक्षण देखा परेमा जस्तै, जीउ सुनिन्ने, खुट्टाको गोलीगाँठा सुन्निने, आँखाको डिल सुन्निने, पिसावको रङ धमिलो हुने, घाममा हिँड्दा गाला रातो हुने पिसावमा अत्याधिक फिँज आउने या कोखा दुख्ने, पिसाव छिनछिनमा आउने, जोर्नी, दुख्ने वा पोल्ने यस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सक कहाँ गई उपचार गनुपर्ने हुन्छ । यस्तै, दुखाई कम गर्ने औषधी लामो समय प्रयोग गर्दा मृगौलालाई खराब गर्ने भएकाले त्यसको प्रयोग गर्दा चिकित्सकको सल्लाह लिएर मात्र लिने गर्नुपर्छ । चिकित्सकको सल्लाह विना औषधी प्रयोग नगर्ने, यस्ता रोग सुरुको अवस्थामा पत्ता लागेमा अधिकाशं रोग निको हुन्छ । मृगौला प्रत्यारोपणबाट बच्न सकिन्छ । मृगौलाको रोगबाट बच्न र नियन्त्रणमा राख्न खानपानमा विशेष ध्यान दिने, सुख्खा खाना (जंक फुड) नखाने, प्रशस्त मात्रामा फलफूल, सागपात तथा पानी पिउनुपर्छ । नियमित व्यायाम गर्ने, गुलियो खानेकुरा नखाने, गुलियो पेय पदार्थ सकेसम्म नखाने गर्नुपर्छ । अत्याधिक नुन भएका खानाहरु कम खाने गर्नुपर्छ । यसबाहेक तनाव कम गर्नका लागि व्यायाम, योगा, ध्यान गर्नुपर्ने हुन्छ । दैनिक ६ घण्टादेखि ८ घण्टासम्म सुत्ने गर्नुपर्छ । आफ्नो तौल नियन्त्रण गर्ने गर्नुपर्छ । कुनै रोग नलागे पनि ३० वर्षभन्दा माथिका व्यक्तिले आफ्नो स्वास्थ्य परिक्षण गर्ने गर्नुपर्छ । मृगौला रोगको जोखिममा रहेका ब्यक्तिहरुले आफनो ब्लडप्रेसर, सुगर र पिसावको जाँच नियमित गर्नुपर्छ । (प्रा. डा. दिव्या सिंह शाह ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको वरिष्ठ मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ हुन् )
उपसमितिले बुझाएको प्रतिवेदनमाथि शिक्षक महासंघको आपत्ति
काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधन गर्न गठित संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमा शिक्षक महासंघले आपत्ती जनाएको छ । शिक्षकसँग गरिएका सम्झौतालाई वेवास्ता गर्दै उपसमितिले प्रतिवेदन बुझाएको भन्दै शिक्षकहरूले ध्यानाकर्षण गराएका छन् । ‘प्रतिवेदनले नेपाल शिक्षक महासङ्घको हिजोको आन्दोलन र विगतमा भएका सहमतिको सम्मान गरेको देखिएन,’ शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलबहादुर थापाले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ । ‘आन्दोलनको मर्म र विगतका सहमति बिर्सेर कतिपय सवालमा प्रतिवेदन प्रस्तावित विधेयक भन्दा पनि पश्चगमन तर्फ उन्मुख छ । अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार) र विशेष शिक्षा लगायतका लागि प्रस्तावित आन्तरिक प्रतिस्पर्धाको प्रतिशत सहमति बमोजिम राखिएको छैन । त्यति मात्र होइन, त्यस प्रबन्धमा अस्थायी करार र सिकाइ अनुदान शिक्षकलाई छुटाइएको छ । स्थायी शिक्षकको आवधिक बढुवाको लागि प्रस्तावित अवधि सहमति अनुसार छैन भने प्रस्तावित अवधिमै पनि शर्तहरू राखेर शिक्षकलाई बढुवा हुन नदिने प्रपञ्च मिलाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ । लामो समय अस्थायी सेवा गरेर स्थायी भएका शिक्षकको अस्थायी सेवा अवधिको गणना गर्ने कुरा प्रतिवेदनमा नआएको भन्दै महासंघले आपत्ती जनाएको छ । यस्तै निवृत्तभरण प्रयोजनका लागि अस्थायी अवधिबाट सेवा थप्ने कुरामा समेत सहमती पालना नगरिएको, शिक्षकको सरुवा आम शिक्षकको भावना विपरीत प्रस्तावित गरिएको, जिल्लामा शिक्षाको एकाइ हटाएर शिक्षक–कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमान माथि प्रहार गरिएको भन्दै आपत्ती जनाएको छ । महासंघले अब समितिमा हुने छलफलबाट शिक्षक-कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी सुझाव सहितको प्रतिवेदन तयार पार्न आग्रह गरेको छ । यदि विज्ञप्तिमा उल्लेख गरिएका कुरा विद्येयकमा नसमेटिए अब अगाडिकै आन्दोलन भन्दा ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने चेतावनी शिक्षकहरूले दिएका छन् ।