बीएलके म्याक्सको सीएमई सम्पन्न, कलेजो प्रत्यारोपण र चिकित्सा सहकार्यमा केन्द्रित
काठमाडौं । भारतको बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलद्वारा आयोजित कन्टिन्युइङ मेडिकल एजुकेशन प्रोग्राम सम्पन्न भएको छ । कार्यक्रममा क्लिनिकल तथा ट्रान्सप्लान्ट हेपाटोलोजी, ग्यास्ट्रोएन्टेरोलोजी, लिभर रोग, ग्यास्ट्रोइंटेस्टाइनल तथा हेपाटो-प्यान्क्रियाटो–बिलियरी (एचपीबी) सर्जरी, लिभर ट्रान्सप्लान्ट लगायत विभिन्न विशेषज्ञता क्षेत्रमा कार्यरत चिकित्सकहरूको उल्लेखनीय उपस्थिति थियो । साथै, आन्तरिक चिकित्सा, ग्यास्ट्रोएन्टेरोलोजी, र सर्जिकल विभागका अनुभवी चिकित्सकहरू पनि सहभागी थिए । कार्यक्रममा चिकित्सा विज्ञानमा पछिल्ला प्रविधि र उपचार विधिहरूको आदान–प्रदान हुनुका साथै महत्वपूर्ण विषयमा गहन छलफल भएको छ । बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलका कलेजो प्रत्यारोपण सर्जन डा.अभिदीप चौधरीले 'कलेजो प्रत्यारोपणमा हालसालै भएका प्रगतिहरू' शीर्षकमा प्रस्तुति दिएका थिए । उनले कलेजो प्रत्यारोपण सम्बन्धी पछिल्ला वैज्ञानिक प्रगतिहरू, न्यून आक्रमणकारी प्रविधिहरू, सफलताका दर तथा पोस्ट-ट्रान्सप्लान्ट म्यानेजमेन्टका विषयमा जानकारी गराए । कार्यक्रममा कलेजो प्रत्यारोपणको क्षेत्रमा नेपाल र भारतबीचको सहकार्य र भविष्यका सम्भावनाहरूलाई पनि विशेष रूपमा जोड दिइएको छ । बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलले आयोजना गरेको कार्यक्रमको उदेश्य चिकित्सा पेशामा संलग्न चिकित्सकहरूलाई नवीनतम उपचार विधि, अनुसन्धान, तथा अन्तर्राष्ट्रिय अभ्यासहरूबारे जानकारी गराए । यसले नेपालका चिकित्सा क्षेत्रका विज्ञहरूसँग भारतका विशेषज्ञहरूबीच अनुभवको आदान–प्रदान गराउने प्लेटफर्मको रूपमा काम गर्ने चिकित्सकहरूले बताएका छन् । कार्यक्रमपश्चात चिकित्सकहरूबीच आपसी चिनजान, अनुभव साटासाट तथा सहकार्यको नयाँ सम्भावनाहरूबारे छलफल समेत गरिएको थियो । नेपाल र भारतबीचको स्वास्थ्य सेवामा सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो । बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलका तर्फबाट नेपालका लागि म्यानेजर सबिन कार्कीले भविष्यमा पनि यस्ता कार्यक्रमहरू नेपालमा नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए ।
सगरमाथा संवादको निष्कर्ष : हिमाली क्षेत्र केन्द्रित जलवायु वित्त परिचालन गर्नुपर्नेमा जोड
काठमाडौं । सगरमाथा संवादले हिमाली क्षेत्र केन्द्रित जलवायु कोष स्थापना गर्न विश्वको ध्यानाकर्षण गराएको छ । काठमाडौंमा तीन दिनसम्म चलेको सगरमाथा संवाद २५ बुँदे 'सगरमाथा कल फर एक्शन' घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरमा जलवायु वित्तको आवश्यकता भएकोले हिमाल केन्द्रित जलवायु केन्द्र स्थापना गरेर जानुपर्नेमा विश्व नेताहरु एकमत भएका छन् । सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुध्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ । जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरूले अनुदान स्वरुप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । साथै जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औषत तापमान १.५ डिग्रिबाट बढ्न नदिनको लागि सबै राष्ट्रहरूले आफ्ना जलवायु योजना सशक्त बनाउनुपर्ने कुरामा घोषणापत्रले जोड दिएको छ । हरित अर्थतन्त्र बनाउन सबैको प्रयास जरुरी रहेको र पर्वतसम्बन्धी छलफलहरू थप बिस्तार गर्दै लगिने कुरामा जोड दिइएको छ । विपद् पूर्वसूचना प्रणालीलाई अझै सशक्त र प्रभावकारी बनाउनेमा पनि सगरमाथा संवादले जोड दिएको छ । जलवायु परिवर्तनले बाढी, खडेरी, भूस्खलन र समुद्री सतह वृद्धिजस्ता जोखिम निम्त्याइरहेकाले हिमाली देशहरूका लागि छुट्टै कोष स्थापना, जलवायु वित्तको सरल पहुँच र निजी क्षेत्रको लगानी वृद्धिको प्रश्ताव पनि घोषणापत्रमा गरिएको छ । हिमाली क्षेत्रमा बसोवास गरिरहेका समुदायहरूले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असमान प्रभाव व्यहोरिरहेका छन् । यसलाई सम्बोधन गर्न जलवायु न्याय, स्थानीय, आदिवासी, महिला, युवा, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहभागिता, र पर्यावरणीय सेवाहरूको भुक्तानी संयन्त्र विकासमा जोड दिइएको छ । सगरमाथा संवादमा विशेष रुपमा हिमाल केन्द्रित बहु-सरोकारवाला अन्तर्राष्ट्रिय मञ्च र ज्ञान केन्द्रहरू स्थापना गरी हिमाली समुदायको आवाज विश्व मञ्चमा पुर्याउने प्रतिवद्धता जनाइएको छ । सगरमाथा संवादले स्थायी रुपमा हिमालदेखि समुन्द्रसम्म जलवायु परिवर्तनको साझा चुनौती वकालत गर्न, सम्बोधन गर्न दबाब दिन र विश्वव्यापी संवादलाई निरन्तर अगाडी बढाउने लक्ष्य राखिको छ ।
नेपालजस्ता देशका लागि सहयोग निरन्तर चाहिन्छ : स्वास्थ्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै यसको निरन्तरताका लागि संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८ औं सभा शुरु हुनुपूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताए । वैदेशिक विकास सहायताको कटौतीले मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा तथा स्वास्थ्यका क्षेत्रमा पर्ने प्रभाव र प्रतिक्रिया विषयक मन्त्रीस्तरीय गोलमेचमा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले नेपाल निम्न तथा मध्य आय भएका राष्ट्रहरुको सूचीमा स्तरोन्नतीका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुनसक्ने देखिएको बताए । प्रजनन उमेरका करिब ५० लाख महिलाले पाइरहेको महत्वपूर्ण सेवा तथा ५ वर्ष मुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको मन्त्री पौडेलले बताए । उनले ३५ लाख वयस्कले प्रजनन शिक्षा तथा सेवामा समेत सहयोग कटौतीले प्रभाव पर्ने बताए । ‘प्राथमिकता परिवर्तन भएका कारण अन्य द्विपक्षीय तथा बहुपक्षीय कटौतीले नेपालका मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन कार्यक्रम जस्ता प्रमुख स्वास्थ्य कार्यक्रमहरु प्रभावित हुने देखिएको छ,’ मन्त्री पौडेलले भने, ‘समस्यासँग जुध्न नेपालले यी क्षेत्रमा आन्तरिक बजेट वृद्धि गरेको छ ।’ सहयोग र बजेट कटौतीका बावजुद नेपालले आन्तरिक श्रोतबाट लगानी बढाउने प्रयास गरेको भन्दै मन्त्री पौडेलले तर पनि घट्दो स्वास्थ्य बजेट चुनौतीका रुपमा रहेको बताए । मन्त्री पौडेलले विश्वका अल्पविकसित देशहरु सहयोग कटौतीको मारमा परेको भन्दै स्वास्थ्य चुनौती सामाना गर्नका लागि राष्ट्रसंघ तथा दातृ निकायहरूले दिगो आर्थिक तथा प्राविधिक सहयोगमा जोड दिनुपर्ने उल्लेख गरे । मन्त्री पौडेलले बैठकमा नेपालले मातृ शिशु स्वास्थ्यका क्षेत्रमा प्राप्त गरेको सफलताबारे प्रस्तुती समेत राखेका थिए । नेपालले सन् २०२३ मा मातृ मृत्युदर प्रति एक लाख जन्ममा हुने मृत्युदर सन् २००० को तुलनामा ७१ प्रतिशतले गिरावट ल्याएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री पौडेलले सुधार जारी रहेमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास गरे । स्वीट्जरल्याण्डको जेनेभामा रहेका मन्त्री पौडेलले भोलीबाट शुरु हुने सभाको मुख्य कार्यक्रममा सम्बोधन गर्दैछन् । यसैगरी, विभिन्न राष्ट्रका स्वास्थ्य मन्त्रीहरू तथा स्वास्थ्य सम्बद्ध अधिकारीहरूसँग भेटवार्ता गर्ने मन्त्री पौडेलले युरोपका नेपाली चिकित्सक समुदायसँगसमेत अन्तक्रिर्या गर्ने कार्यक्रम छ ।