चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन

बागमती । दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग घुम्न आउनेको सङ्ख्या उल्लेख्य देखिएको छ । हेटौँडा उपमहानगरपालिका अनुसार आठ महिनामा तीन हजारभन्दा बढीले सुरुङमार्ग अवलोकन गरेका छन् ।  सुरुङमार्ग अवलोकनका लागि धेरैजसो विद्यार्थी आउने गरेको सुरुङमार्गको व्यवस्थापन र सुरक्षामा खटिएका उपमहानगरपालिका नगरप्रहरी प्रमुख नेत्रप्रसाद ढकालले जानकारी दिए । शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन विद्यार्थी तथा सर्वसाधारणको सङ्ख्या बाक्लो हुने उनको भनाइ छ ।  लामो समयसम्म जीर्ण रहेको सुरुङमार्ग पुनःनिर्माणपछि पर्यटकका लागि खुला गरिएको हो । कूल चार करोड ५७ लाखमा प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सुरुङको पुनःनिर्माण गरी व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । सुरुङमार्ग विसं २०८१ पुस ८ गते उद्‌घाटन गरी सर्वसाधारणका लागि खुला गरिएको थियो ।  हेटौँडा उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोजकुमार सुवेदीले पर्यटकबाट रु एक लाख १७ हजार राजस्व संकलन गरिएको बताए। चालु आर्थिक वर्षको साउनमा मात्रै ४५५ जना पर्यटकले सुरुङमार्ग अवलोकन गरेको र त्यसबापत रु २० हजार ५५० राजस्व संकलन भएको छ ।  सुरुङमार्ग अवलोकनका लागि नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १००, विद्यार्थीलाई प्रतिव्यक्ति रु २० निर्धारण गरिएको छ । मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारिसाधन सञ्चालन हुँदै आएका थिए । सुरुङमार्गको विसं २०७९ वैशाख १९ गते जीर्णोद्धार सुरु भएको थियो । रासस

नेपालको इन्जिनियरिङ शिक्षालाई विश्वस्तरीय बनाऔँ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको इन्जिनियरिङ शिक्षालाई विश्वस्तरीय बनाउनुपर्ने बताएका छन् । इन्जिनियरिङ क्षेत्रको रूपान्तरणका विषयमा नेपाल इन्जिनियरिङ काउन्सिलले आयोजना गरेको दुई दिने कार्यशालाको शनिबार सम्पन्न समापन सत्रमा मन्त्री दाहालले नेपाली इन्जिनियरहरूको योग्यता र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा सम्बोधन गराउन सुरु भएको एक्रिडिटेसन प्रक्रियामार्फत नेपाली इन्जिनियरहरूलाई विश्व जगतमा स्थापित गर्न सकिने विश्वास व्यक्त गरे । नेपालमै अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्नुपर्ने र त्यसका लागि काउन्सिलको अगुवाइ फलदायी हुने उल्लेख गर्दै उनले नेपाली इन्जिनियरहरूको क्षमता विकास, शैक्षिक सुधार तथा अध्ययन्–अनुसन्धानमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए । नेपालको पूर्वाधार विकासमा इन्जिनियरिङ क्षेत्रबाट उल्लेखनीय योगदान भईरहेको बताउँदै मन्त्री दाहालले नयाँ विकास र योजनाका लागि अनुसन्धानमूलक कार्यक्रममा समेत जोड दिनुपर्ने बताए । कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले इन्जिनियरिङ शिक्षा प्रयोग र अभ्यासमा आधारित हुनुपर्ने भन्दै यस क्षेत्रको विकास र स्तरोन्नतिका लागि सबै पक्षबाट सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । नतिजामुखी शिक्षामार्फत इन्जिनियरिङ क्षेत्रलाई कसरी रूपान्तरण गर्न सकिन्छ भन्नेबारे दुई दिनसम्म विभिन्न विज्ञहरूसँग छलफल र अन्तरक्रिया भएको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । नेपालका विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विज्ञहरूको सहभागिता रहेको कार्यक्रममा श्रीलङ्काका प्राध्यापक जेपी करुणा दासले समेत सहजीकरण गरेका थिए ।

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा  आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले  नागरिकलाई सहज, सरल एवं न्यून शुल्कमा उपचार प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय निकायमा स्वास्थ्य बिमा प्रथम सेवा केन्द्र र सरकारी अस्पताललाई विशिष्टिकृत उपचार केन्द्रका रुपमा विभाजन गरिएको जानकारी दिए । नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर नै आधारभूत र विशिष्टिकृत स्वास्थ्य सेवा केन्द्रमा जटिल रोगको उपचारको व्यवस्था गरिएको उनको कथन थियो । संविधानले व्यवस्था गरेअनुसार स्थानीय निकायले आधारभूत स्वास्थ्य दिनुपर्छ भन्दै पालिकाले आफ्नो १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री पौडेलले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मागअनुसार  आगामी दुई दिनमा एमबिबिएसको ३० वटा सिट थप हुने जानकारी दिँदै अन्य सरकारी शिक्षण अस्पतालले सिट थपका लागि कुनै माग नगरेका बताए ।