१ करोडमा पोखरा ‘ग्रेट ट्रेल’ निर्माण हुँदै, ४ हजार ५ सय सिँढी
काठमाडौं । पोखरा महानगरपालिका-११ मणिपाल कालीखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पद मार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिब ४ हजार ५ सय सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालीखोलादेखि काँहुकोटसम्म १ किमी ८०० मिटरको पद मार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरू गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए । उनका अनुसार फुट ट्रय्याकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास गरेका छौँ । स्थानीय विशेषता झल्कने र पहिचानसहितको अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनको स्वाद लिन सकिनेछ,’ नगर प्रमुख आचार्यले भने । निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्युपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए । पोखराको प्राकृतिक ‘भ्युपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ । ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिब ४०० फलफूलका बिरुवासमेत रोपिएको छ । पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा ’अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरूबखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रापिएका हुन् ।
१६ लाख भ्रष्टाचार मुद्दामा सुनिल पौडेल धरौटीमा रिहा
काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका पौडेलसँग एक लाख रुपैयाँ धरौटी मागेको हो । उनीमाथि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा करिब १६ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । यद्यपि यसअघि दर्ता भएका अन्य भ्रष्टाचारसम्बन्धी मुद्दामा भने पौडेललाई थुनामा पठाउन अदालतले आदेश गरिसकेको छ। यसरी विभिन्न प्रकरणमा पटक–पटक अदालत धाउनुपरेको पौडेलको मुद्दा पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रकै ठूलो विवाद बनेको छ।
बाढीले मेडिसिटीलाई ३२ करोड घाटा, राष्ट्र बैंकको राहत र साढे २ अर्बको व्यापार हुँदा पनि ५ अर्ब ऋणको दबाब
काठमाडौं । गत वर्षको बाढीले ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पताललाई साढे ३२ करोड रुपैयाँको नोक्सानी गरेको देखिएको छ । बाढीले अस्पताल परिसरमा क्षति पुर्याउँदा ३२ करोड ४० लाख रुपैयाँको क्षति भएको देखिएको हो । बाढीले ठूलो क्षति गरेपछि कम्पनीले बैंक तथा वित्तीय संस्थाको तिर्नुपर्ने सावाँ ब्याजमा पनि दबाब परेको बताइएको छ । कम्पनीको आग्रहमा राष्ट्र बैंकले पनि नेपाल राष्ट्र बैंकले पुन: संरचनामार्फत विशेष राहत दिएको विषय रेटिङ एजेन्सी केयर रेटिङले उल्लेख गरेको छ । सार्वजनिक विज्ञप्तिमा उल्लेख भएअनुसार २०८० माघ र २०८१ बैशाखमा तिर्नुपर्ने ब्याजको ९० प्रतिशत स्थगित गरिएको छ । स्थगित ब्याजलाई २०८१ साउनदेखि सुरु हुने गरी आठ त्रैमासिक किस्तामा तिर्नुपर्ने व्यवस्था गरिएको छ । साथै सावाँ फिर्ता गर्ने समायवधि पनि थप गरेर सन् २०३८ पुर्याइएको छ । ललितपुरको भैंसेपाटीमा रहेकाे मेडिसिटी अस्पताललाई आश्विन्स मेडिकल कलेजले सञ्चालन गर्दै आएको छ । सार्वजनिक तथ्यांक अनुसार सो मेडिकल कलेजले सन् २०२५ मा २ अर्ब ५५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । यो कलेजले सन् २०२४ मा २ अर्ब ७४ करोड ४० लाख, सन् २०२३ मा २ अर्ब ८२ करोड ६० लाख र सन् २०२२ मा २ अर्ब ७८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । विगतका वर्षहरूका तुलनामा यस मेडिकल कलेजको व्यापार घटेको उल्लेख छ । बाढीकै कारणले कम्पनीको व्यापार घटेको हो । कम्पनीको नाफा मार्जिन पनि विगतका वर्षहरूका तुलनामा घटेको छ । सन् २०२४ मा २७.७८ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा २१.५३ प्रतिशत कायम भएको छ । २००७ सालमा स्थापना भएको आश्विन्स मेडिकल कलेज एण्ड अस्पताल ७५० शैयाको छ । जसले बहु–विशेषज्ञता स्वास्थ्य सेवा सुविधा पनि दिरहेको छ । यो अस्पतालले चिकित्सा, शल्यक्रिया र डायग्नोस्टिक सेवाहरूको विस्तृत श्रृङ्खला प्रदान गर्दै आएको छ । १ सय १२ रोपनी जग्गामा रहेको यो अस्पताल व्यावसायिक घराना महतो ग्रुपले सञ्चालन गरेको हो । यसको अध्यक्ष डा. उपेन्द्र महतो हुन् । अस्पतालमा १७ वटा अत्याधुनिक अपरेशन थिएटरहरू, ६० भन्दा बढी विशेषज्ञ डाक्टर, बहिरंग बिरामी विभाग, ७५ भन्दा बढी सघन उपचार शैयाहरू रहेको उल्लेख छ । नेपाल मेडिसिटी अस्पतालले कार्डियोलोजी, क्यान्सर उपचार, न्यूरोसर्जरी, मिर्गौला प्रत्यारोपण, स्त्रीरोग, बालरोग, ग्यास्ट्रोएन्टेरोलोजी, फिजियोथेरापी, पुनःस्थापना सेवा र आपतकालीन चिकित्सा सेवा लगायत सुविधा प्रदान गर्दै आएको छ । कम्पनीको कुल ४ अर्ब ९४ करोड १० लाख रुपैयाँ ऋण रहेको छ । कम्पनीले डबल बी को रेटिङ पाएको छ ।