वीरगञ्जमा घटेन हैजा सङ्क्रमतिको सङ्ख्या, १७८ जना उपचारपछि घर फर्किए

काठमाडौं । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए । उनका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा  आरडिटी जाँचमा  ३२ जना बिरामीमा कलेरा सङ्क्रण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगञ्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा ३/३ जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एक/एक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, ६ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

शिक्षक महासङ्घले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै देशव्यापी आन्दोलन सुरु गरेको छ । महासङ्घले सोमबार प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र बुझाएको हो।  महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनको पहिलो चरणअन्तर्गत ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए ।  आन्दोलनरत शिक्षकहरूलाई नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विद्यालय शिक्षा ऐनमा राम्रा कुराहरू पनि भएकोले तिनीहरूलाई स्वागत गर्न आग्रह गरे । उनले शिक्षकहरूका धेरै माग पुरा गरिएको र केही मागहरू भने सम्बोधन गर्न बाँकी रहेकोले आगामी दिनमा सम्बोधन गर्दै जाने बताए ।  सरकारलाई ठुलो आर्थिक भार नपर्ने खालका शिक्षकका मागहरू सम्बोधन गरेर अगाडि बढ्न सकिने उनको भनाइ छ । नेपाली काङ्ग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतक कृष्णबहादुर रोकायले अहिले शिक्षा विधेयक आउनु नै महत्त्वपूर्ण भएको बताए ।  सङ्घीयतालाई कार्यन्वयन गर्नको लागी विद्यालय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी ऐन बन्न आवश्यक रहेको औंल्याउँदै उनले यो विद्येयक आउनु नै महत्त्वपूर्ण कुरा भएको दावी गरे । उनले विद्येयक अपरिवर्तनीय नभएकोले अभ्यास गर्दै जाँदा समस्या परेको अवस्थामा संशोधन गर्न सकिने बताए । महासङ्घले विद्यालय शिक्षा विधेयकले शिक्षकहरूको सेवा–सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाएको जनाएको छ ।  शिक्षकहरूको गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको महासंघ पुनः आन्दोलनमा होमिएको महासङ्घका अध्यक्ष सुवेदीले बताए । महासङ्घले २०७५, २०७८, २०८० र २०८१/८२ मा सरकारसँग भएका सहमति लागू गर्न, अस्थायी शिक्षकका लागि ७५५ आन्तरिक र २५५ खुला पदपूर्ति (हालको ६०५–४०५ को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ । 

गण्डकी विश्वविद्यालयमा नयाँ संरचना बन्दै

गण्डकी । गण्डकी विश्वविद्यालयले चार करोड १५ लाख २४ हजार रुपैयाँको लागतमा परीक्षा नियन्त्रण कार्यालयको भवन निर्माण कार्य सुरु गरेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा पोखरा महानगरपालिका–३२ मालेपाटनमा परीक्षा नियन्त्रण कार्यालय निर्माण गर्न लागिएको हो ।  निर्माणाधीन सो भवनको एक कार्यक्रमबीच गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले आज शिलान्यास गरे । समयमा नै गुणस्तरीय भवन निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै उनले गण्डकी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाएर आधुनिक प्रविधियुक्त शैक्षिक थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको जग्गा प्राप्त गर्न स्थानीयवासी र वडाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री थापाले निर्माणाधीन भवन गुणस्तरयुक्त र अपाङ्गतामैत्री हुनुपर्ने आवश्यकता औँल्याए । विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले विश्वविद्यालयले शिक्षा, स्वास्थ्य, रोजगार र समाजिक उत्तरदायित्वमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे । स्रोत जुटाउँदै विश्वविद्यालयलाई अगाडि बढाउन आफू सदैव प्रयत्नशील रहेको उनको भनाइ थियो । भवन निर्माणसँगै परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने उनले धारणा राखे । पोखरा महानगरपालिका–३२ का वडाअध्यक्ष अक्कलबहादुर कार्कीले विश्वविद्यालयको उन्नयनका लागि स्थानीय तहबाट गर्नुपर्ने साथ सहयोग निरन्तर गर्दै आएको उल्लेख गर्दै आपसी सहयोग र समन्वयबाट अघि बढ्नुपर्नेमा जोड दिए ।