एनएमबि बैंकले श्री अमर जैन विद्यालयमा दियो स्कुल ब्याग र वाटर डिस्पेन्सर

काठमाडौं । एनएमबि बैंकले सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्ने प्रतिबद्धता व्यक्त गर्‍यो । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई सुदृढ बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलले एनएमबि बैंकको पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए । सोही अवसरमा बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्र र लालबन्दी शाखा प्रबन्धक अरुण आचार्यको विशेष उपस्थिति थियो । उनीहरूले बैंकले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा सहभागी सबैले बैंकको सामाजिक उत्तरदायित्वप्रति सराहना व्यक्त गरेका थिए । हाल एनएमबि बैंकले २०२ शाखा, १८७ एटिएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत सेवा सञ्चालन गरिरहेको छ ।  

भारतले सन् २०२५ भित्रै व्यावसायिक चिप उत्पादन सुरु गर्ने

काठमाडौं । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्नेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका लागि भविष्यको ‘ग्लोबल हब’ का रूपमा प्रस्तुत गर्दै मङ्गलबार यसबारे घोषणा गरेका हुन् । नयाँदिल्लीमा आयोजित वार्षिक ‘सेमिकन इन्डिया सम्मेलन’ को उद्घाटन समारोहमा बोल्दै मोदीले माइक्रोन र टाटाको परीक्षण चिप उत्पादन भइसकेको जानकारी दिए । 'व्यावसायिक चिप उत्पादन यसै वर्ष सुरु हुनेछ', उनले भने, 'यसले सेमिकन्डक्टर क्षेत्रमा भारत कति तीव्र गतिमा अघि बढिरहेको छ भन्ने देखाउँछ ।' भारतको सेमिकन्डक्टर बजार सन् २०२३ मा ३८ अर्ब डलर थियो । यो २०२४–२०२५ मा बढेर ४५ देखि ५० अर्ब डलर पुगेको छ । सरकारले सन् २०३० सम्म एक खर्ब देखि एक खर्ब १० अर्ब डलरको लक्ष्य लिएको छ । देशले हाल १८ अर्ब डलरको लगानीमा १० सेमिकन्डक्टर परियोजनाहरू विकास गरिरहेको छ, जसमा नोएडा र बेङ्गलुरुस्थित दुईवटा नयाँ ३–न्यानोमिटर डिजाइन सुविधा पनि पर्छन् ।  'हाम्रो यात्रा ढिलो सुरु भए पनि अब हामीलाई कसैले रोक्न सक्दैन', मोदीले जोड दिए । भारतको तीन क्षेत्रमा विशेष प्रभुत्व रहेको बताइएको छ । सेमिकन्डक्टर उपकरणका लागि कम्पोनेन्ट उत्पादन, रसायन र खनिज जस्ता महत्त्वपूर्ण सामग्री आपूर्ति र अनुसन्धान तथा विकासदेखि आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा र क्लाउड कम्प्युटिङसम्मका सेवा प्रदान गरेको छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको राष्ट्रले ‘मानव पूँजी’ लाई आफ्नो ठूला शक्तिमध्ये एक भएको दाबी गरेको छ । मोदीका अनुसार सेमिकन्डक्टर डिजाइन क्षेत्रमा विश्वव्यापी प्रतिभाको २० प्रतिशत भारतमै छ । गत हप्ताको टोकियो भ्रमणका क्रममा जापानले सेमिकन्डक्टर र एआई सहयोगमा लगानी बढाउँदै भारतमा एक सय खर्ब येन (६८ अर्ब डलर) पुर्‍याउने वाचा गरेपछि मोदीले यो घोषणा गरेका हुन् । विश्वको पाँचौँ ठूलो र तीव्र गतिमा बढ्दो अर्थतन्त्र भारत अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ५० प्रतिशत करको दण्डबाट प्रभावित भएको छ र विकासका नयाँ बाटो खोजिरहेको छ । अन्तर्राष्ट्रिय चिपको माग बढ्दो क्रममा भए पनि आपूर्ति मुट्ठीभर क्षेत्रमा केन्द्रित हुँदा भारतले ‘आत्मनिर्भर र विश्वव्यापी रूपमा प्रतिस्पर्धी’ बन्ने उद्देश्यसहित डिजाइन, निर्माण र प्याकेजिङलाई समेट्ने ‘पूर्ण इकोसिस्टम’ निर्माण गरिरहेको बताएको छ । 'आजको भारतले संसारमा विश्वास जगाउँछ', मोदीले यस हप्ताको सरकारी ब्रीफिङ नोटमा भने, 'जब चिपहरूको कुरा आउँछ, तपाईं आत्मविश्वासका साथ भारतलाई रोज्न सक्नुहुन्छ ।' रासस

भिजिट भिसामा विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । विकसित प्रणालीको कार्यान्वयनमार्फत भिजिट भिसामा नेपाल आउने विदेशी नागरिकको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुने विश्वास लिइएको छ । विभागले प्रणालीमा दर्ता हुने प्रक्रिया र ‘म्यानुअल’ पनि आफ्नो वेबसाइटमा राखेको छ । यससम्बन्धी थप जानकारी आवश्यक भएमा विभागको सूचना प्रविधि शाखा वा विभागमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । उक्त प्रणालीको कार्यान्वयन सम्बन्धमा अनुगमन गर्न ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई पत्राचार गरिसकिएको विभागले जनाएको छ । विभागका अनुसार यस प्रणालीलाई पहिलो चरणमा आगामी असोज १ गतेदेखि काठमाडौँ उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य लागू गर्न लागिएको छ । दोस्रो चरणमा आगामी मङ्सिर १ गतेदेखि सबै तारेहोटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी, मनी एक्सचेन्जमा लागू गरिनेछ । विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक संस्था तथा निजी कम्पनीलाई प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन अनुरोध गरेको छ । नयाँ प्रणाली लागू गर्नेबारे विभागले हालै होटल सङ्घ नेपाललगायत सरोकारवालासँग छलफल गरेको थियो । सङ्घका अनुसार विगत लामो समयदेखि यो प्रणालीबारे छलफल भए पनि लागू हुनसकेको थिएन । नयाँ प्रणालीका विषयमा छिट्टै आधिकारिक धारणा ल्याइने सङ्घले जनाएको छ ।