सिचुवान एयरलाइन्सले पोखरा-छेन्दु-अष्ट्रेलिया उडान भर्ने
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ । सिचुवान एयरलाइन्सले अक्टोबरदेखि पोखरा विमानस्थलबाट चीनको छेन्दु हुँदै अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । पोखरा–छेन्दु–अष्ट्रेलियाको उडानले नेपाली यात्रुहरूलाई सहज हुने उनले बताए । पोखरा विमानस्थलबाटै अष्ट्रेलियासम्म यात्रा गर्न सकिने अवस्था बन्नु खुशीको कुरा भएको उनले उल्लेख गरे । सिचुवान एयरलाइन्सले केही समयअघि पोखरा–छेन्दु–पोखराको उडान गरेको थियो। तर प्राविधिक कारण देखाउँदै हाल उडान स्थगित गरिएको थियो । उनले भने, 'केही समयअघि सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु र छेन्दु–पोखराको उडान गरेको थियो । तर प्राविधिक कारणले केही समय स्थगित गरेको हो । अब आउने अक्टोबरदेखि फेरि पोखरा विमानस्थलमा उडान सुचारु गर्ने तयारी भइरहेको छ । पोखराबाट छेन्दु र त्यहाँबाट अष्ट्रेलियासम्म जोड्ने तयारी भइरहेको छ । यसले नेपाली यात्रुहरूलाई सहज बनाउनेछ । पोखराबाटै अष्ट्रेलियासम्म यात्रा गर्न सक्ने अवस्था आउनु नयाँ खुशीको कुरा हो ।' हाल पोखरा विमानस्थलबाट नियमित रूपमा हिमालयन एयरलाइन्सले ल्हासा–पोखरा–ल्हासामा हप्तामा एक उडान गर्दै आएको छ । भूटान एयरलाइन्सले चार्टर्ड उडान गर्ने महाप्रबन्धक निरौलाले भूटान एयरलाइन्सले पोखरा विमानस्थलबाट चार वटा चार्टर्ड उडान गर्ने जानकारी दिए। उनका अनुसार, भूटान एयरलाइन्सले सेप्टेम्बर २८, अक्टोबर २, ६ र १० मा पारो–पोखरा–पारो चार्टर्ड उडान गर्ने अनुमति पाएको छ । उनले भने, 'चार्टर्ड उडानको अनुभव र यहाँको बजार हेरेर नियमित उडान सेवा सञ्चालन गर्नेगरी भूटान एयरलाइन्सले तयारी गरिरहेको छ ।' महाप्रबन्धक निरौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई, मलेसिया र बैंककसम्म उडान गर्नेगरी विदेशी वायुसेवाले पनि तयारी गरिरहेको तर यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको जानकारी दिए । उनले यसका लागि स्थानीय सरकार, प्रदेश सरकार, उद्योगी व्यवसायी तथा पर्यटन व्यवसायी सबैको पहल आवश्यक हुने बताए । उनले भने, 'वायुसेवा र विमानस्थलको व्यवसाय केवल सरकारले मात्र सम्भव गराउन सक्दैन । स्थानीय पर्यटन व्यवसायी सबै मिलेर हातेमालो गर्ने हो भने पोखरा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्न सकिन्छ भन्नेमा हामी आशावादी छौँ ।' हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ४० भन्दा बढी आन्तरिक उडान भइरहेका छन् । बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले नियमित उडान गर्दै आएका छन् । अफ-सिजनमा पनि दैनिक २ हजारभन्दा बढी यात्रुहरू आवागमन गर्दै आएका छन् । सेप्टेम्बर १५ देखि सुरु हुने पर्यटन सिजनमा दैनिक ५० भन्दा बढी उडान भई करिब ४ हजार यात्रुहरूले सेवा लिने अपेक्षा गरिएको छ । त्यस्तै, पोखराको पुरानो विमानस्थलबाट समिट एयरले जोमसोम उडान सुरु गरेको छ भने त्यहाँबाट हेलिकप्टर सेवा पनि नियमित रूपमा सञ्चालन भइरहेको छ ।
भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोही अवसरमा कम्पनीले नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’ सुरु गरेको छ । भायानेटका अनुसार उक्त अभियानले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल प्लेटफर्ममार्फत केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ । सुशान्त केसीको यात्रा नै इन्टरनेटबाट सुरु भएको उल्लेख गर्दै भायानेटले, उनको जस्तै सपना देख्ने अन्य युवाहरूसँगै हिँड्ने उद्देश्यले अभियान अघि सारिएको जनाएको छ । ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान अन्तर्गत डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रमहरू, अनुभव आदानप्रदान गर्ने गतिविधि जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन् । यसमार्फत कन्टेन्ट क्रिएटर र डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई इन्टरनेटको सही उपयोग गर्दै आफ्ना सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको छ ।
पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै, ४ रात र ५ दिनको प्याकेज
वासुदेव पौडेल/कृष्ण दवाडी काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो-पोखरा-पारो चार्टर उडान गर्न लागेको हो । युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी)ले आगामी असोज १२ (२८ सेप्टेम्बर) देखि ४ वटा चार्टर उडान गर्ने जनाएको छ । असोज १२, १६, २० र २४ गते उडान गर्ने गरी तालिकासमेत तय भइसकेको युटिटीका सञ्चालक परासर प्रसाईँले जानकारी दिए । भुटान एयरलायन्स १२६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ । सो प्याकेज ४ रात र ५ दिनको रहेको प्रसाईँले बताए । उनले भने, ‘निरन्तर प्रयास भयो भने पोखराबाट अन्तर्राष्ट्रिय उडान सम्भव छ । यसका लागि सरकारले एयरलाइन्सलाई उप्रेरित गर्नुपर्छ ।’ पोखराबाट पारो अन्तर्राष्ट्रिय उडान हुने भएसँगै यसबाट आगामी दिनमा नियमित उडानको ढोका खुल्ने विश्वास लिइएको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् । ‘पोखरालाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्न यसले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौँ । यसको निरन्तरताका लागि सबैले आफ्नो ठाउँबाट पहल गरौँ,’ उनले भने । प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणपछि नियमित उडानको ढोका खुल्ने विश्वास समेत उनले व्यक्त गरे । पोखरा पर्यटन परिषदका निवर्तमान अध्यक्ष पोम नारायण श्रेष्ठले पोखरा-पारो अन्तर्राष्ट्रिय चार्टर्ड उडानको घोषणाले आफूहरूलाई उत्साहित बनाएको बताए । तीनै तहका सरकारले नियमित उडानका लागि निरन्तर पहल गर्न आग्रह गर्दै उनले पोखराबाट पारोसहित अन्य गन्तव्यमा उडान भइरहँदा त्यसले सरकारको घोषित योजनाअनुसार भाडा दर पनि सस्तो हुनुका साथै यहाँ आएका पर्यटकले प्राकृतिक सौन्दर्यताको भरपुर अनुभूति गर्न पाउने बताए । पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ । जसअनुसार यहाँबाट हुने अन्तर्राष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ । नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नुपर्दैन । यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो । सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो । यी दुई विमानस्थलको अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रति यात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ । यी दुवै विमानस्थलको अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट छ । ‘पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको निरन्तरता भएसँगै यहाँका व्यवसायी होटेल रेष्टुरेण्टलगायत पर्यटन सम्बद्ध सबै क्षेत्रमा आकर्षक छुटका प्याकेजको समेत तयारी गरेका छौँ,’ निवर्तमान अध्यक्ष श्रेष्ठले भने, ‘पोखराबाट विश्वका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भन्ने उद्देश्यका साथ हाम्रो निरन्तर प्रयास जारी छ ।’ हाल भुटानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भुटान एयरलाइन्सले सातामा ४ वटा उडान भर्दै आएको छ । यसअघि गत असार ७ गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा-सिचुवान-अस्ट्रेलिया उडानको पहल गरिरहेको छ । सिचुवानले एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ । यसअघि सिचुवान एयरलाइन्सले पोखरा विमानस्थलमा केही समय चार्टर उडान गरेको थियो । कम्पनीले नयाँ गन्तव्यका रूपमा अस्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो । ६ असार २०८० मा उक्त एयरलाइन्सको एयरबस ‘ए’ ३१९ले पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो । असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो । हाल हिमालय एयरलाइन्सले ल्हासाको नियमित उडान गरिरहेको छ । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ । काठमाडौं-ल्हासा-पोखरा-ल्हासा-काठमाडौं जोड्ने गरी हिमालयले उडान गरिरहेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान थालेको थियो । हिमालयका साथै सिचुवान र भुटान एयरलाइन्सको उडान भएमा यसबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बन्ने र विश्वका विभिन्न गन्तव्य जाने यात्रुका लागि सहज हुने विश्वास लिइएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुस २०७९ मा उद्घाटन गरिएको थियो । कूल ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । वार्षिक ८ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको यस विमानस्थलमा २ हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावन मार्ग छ । रासस