जेनजी आन्दोलनले कठिन परिस्थितिमा पर्यटन क्षेत्र

काठमाडौं । पर्यटन क्षेत्रका दुई अगुवा संस्था नेपाल पर्वतारोहण सङ्घ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नेपालको पर्यटन क्षेत्र अत्यन्त कठिन परिस्थितिमा रहेको जनाएका छन् । दुवै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै जेनजीले उठाएको मागको सम्बोधन गरी शान्ति सुव्यवस्था कायम गर्दै पर्यटन मैत्री वातावरण सिर्जना गर्न अपिल समेत गरेका छन् । ‘जेनजीका मागहरु सम्बोधन गर्न एक पल पनि ढिला गर्नुहुन्न र देशलाई अरु थप क्षति हुनबाट जोगाउनु आवश्यक भइसकेको छ, अब उपरान्त ध्वंसको बाटो सदाका लागि अन्त्य हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।  जेनजीका माग सम्बोधन गर्ने गरी निश्कलंक र सर्व स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन गर्न र देशमा अबिलम्ब शान्ति र अमन चयन कायम गर्न अनुरोध पनि विज्ञप्तिमा गरिएको छ । सङ्घ र टानले जेनजी प्रदर्शनका क्रममा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण  गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्रिभुवन विमानस्थल आज १२ बजेसम्म बन्द, यात्रुको पैसा फिर्ता हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ । देशको विषय परिस्थितिले गर्दा हुन नसकेको उडानका कारण आन्तरिक तर्फ विभिन्न गन्तव्यमा जाने वायुसेवा कम्पनीको पनि उडान हुन नसकेको कम्पनीले जनाएको छ । टिकट लिएर हवाई यात्रा गर्न नपाएका यात्रुको पैसा फिर्ता हुने जनाइएको छ । सेवाका लागि तयार छौ: वायुसेवा सञ्चालक सङ्घ वायुसेवा सञ्चालक सङ्घले जस्तोसुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिवद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरू सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराए ।  सङ्घले यही भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरूमाथि भएको दुःखद घटना र त्यसबाट सृजित हिंसाप्रति गहिरो चिन्ता र दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।  यसैबिच सङ्घले छुट्टै विज्ञप्ति निकालेर उडान सञ्चालनमा रहेका हेलिकप्टरबाट कुनै पनि राजनीतिज्ञ, मन्त्री लगायतलाई उडान सेवा नदिएको दाबी गरेको छ ।रासस

एनसेलको प्रधान कार्यालयमा आगजनी, भवन ध्वस्त

काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् ।  अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।