जेन्जी युवाको विरोध प्रदर्शनमा निधन भएका प्रति क्यान महासंघले गर्‍यो दुःख व्यक्त

काठमाडौं । डिजिटल स्वतन्त्रता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै जेन्जी युवा विद्यार्थीहरुले आह्वान गरेको विरोध प्रदर्शनका क्रममा निधन भएका युवाप्रति कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले श्रद्धाञ्जलि व्यक्त गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा हृदयविदारक रूपमा अमूल्य जीवन गुमाएका होनहार युवाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै घटनामा घाइते भएकाहरुलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएको छ । लोकतान्त्रिक व्यवस्थामा जायज माग राख्ने युवामाथि राज्यद्वारा भएको अमानवीय दमनप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'विरोध प्रदर्शनमा सहभागी युवाले अकल्पनीय सहादत दिनु परेको घटना अत्यन्त दुखद छ ।' महासंघले असहज अवस्थालाई यथाशीघ्र सामान्य बनाउन, व्यावसायिक वातावरण र सर्वसाधारणको दैनिकी सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ । क्यान महासंघले हरेक युवाको सिर्जनशीलता, डिजिटल अधिकार र स्वतन्त्रताको पक्षमा सदैव दृढतापूर्वक उभिने प्रतिवद्धता पनि दोहोर्याएको छ ।

आगलागीले डाटा सेन्टर प्रभावित, भायानेटको सेवा अवरुद्ध

काठमाडौं । भायानेटले हालै इन्टरनेट र भीआइए टिभी सेवामा आएको अवरोधका कारण ग्राहकसँग माफी मागेको छ । कम्पनीका अनुसार गत भदौ २४ गते साँझ करिब ४:४५ बजे प्रदर्शनका क्रममा लागेको आगलागीले सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा रहेको प्रमुख डाटा सेन्टरमा क्षति पुर्‍याएको थियो ।  भायानेटका अनुसार ब्याकअप डाटा सेन्टरहरू भए पनि प्रमुख संरचना गुमाउँदा सबै ग्राहकको इन्टरनेट ट्राफिक सम्हाल्न नसक्दा देशभर सेवा अवरुद्ध भएको थियो । प्राविधिक टोली तत्काल खटिए पनि भवन असुरक्षित भएकाले तत्काल प्रवेश गर्न नसकिएको र ब्याकअपमार्फत आंशिक रूपमा मात्र इन्टरनेट चलाइएको कम्पनीले जनाएको छ । भदौ २५ गते बिहान सेना र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएपछि दिउँसो करिब १२ बजे प्राविधिक टोलीले भवनभित्र प्रवेश गरी आवश्यक सर्भरहरू सुरक्षित रूपमा निकालेर अर्को सुरक्षित डाटा सेन्टरमा पुनःस्थापना गरेको बताइएको छ। भायानेटका अनुसार प्राविधिक टोलीको प्रयासका कारण अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भइसकेको छ भने आजै साँझसम्म पूर्ण क्षमतामा सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । अवरुद्ध ‘भीआइए टिभी’ सेवा पनि चाँडै सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । भायानेटले ग्राहकवृन्दको धैर्य, विश्वास र साथका लागि आभार प्रकट गर्दै यस घटनाबाट नेटवर्कलाई अझ मजबुत बनाउन प्रेरणा मिलेको जनाएको छ ।

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले गत मंगलबारबाट थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ । कम्पनीका अनुसार अब एनसेलका ग्राहकले यी निःशुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म लिन सक्नेछन् । हालको विषम परिस्थितीमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले यी सेवाहरु एनसेलले मंगलबारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो । एनसेलले बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरु १ दिन थप गरिएको जानकारी गराएको हो । एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरुले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन् ।