दनदनी जलिरहेको छ हिलटन, अझै नियन्त्रणमा आएन (फोटोफिचर)
काठमाडौं । जेनजी आन्दोलनकारीहरुले पाँच तारे होटल हिलटनमा आगजनी गरेका छन् । काठमाडौंको नक्सालस्थित होटल हिलटनमा न्दोलनकारीहरुले मंगलबार आगजनी गरेका हुन् । आन्दोलनकारीहरुले मंगलबार लगाएकाे आगो २४ घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले पनि होटल हिलटनमा दनदनी आगो लागिरहेको विकासन्युजका संवाददाताले जानकारी दिए । नेपाली सेनाले सुरक्षा दिइरहेको उक्त होटलमा के कति क्षति भएकाे छ एकिन तथ्याङ्क आउन सकेको छैन । ८ अर्ब ३५ करोड रुपैयाँमा बनेको हिलटन २०८१ साउनबाट सञ्चालनमा आएको हो । उक्त होटलका मुख्य लगानीकर्ता शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल हुन् । हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ ।
टेलिकमले भ्वाइस कल र इन्टरनेट सेवा तीन दिन नि:शुल्क दिने
काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार यो सुविधा हिजो रातिदेखि नै सक्रिय गरिएको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग सम्पर्क सहज बनाउनका लागि यो पहल गरिएको उनले बताए । ग्राहकहरूले निशुल्क डेटा सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गर्नुपर्नेछ भने भ्वाइस कल सुविधा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गर्न सकिने टेलिकमले जनाएको छ । यससम्बन्धी जानकारी सबै ग्राहकलाई एसएमएसमार्फत पठाइसकिएको पनि प्रवक्ताले जानकारी दिए । निशुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको हुनेछ भने भ्वाइस कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता
काठमाडौं । जेन-जी पुस्ताले देशव्यापी रुपमा गरेको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित भएको छ । दुई दिनअघिको काठमाडौं केन्द्रित प्रदर्शन देशव्यापी फैलिएर सबैजसो क्षेत्र प्रभावित भएको देखिन्छ । विशेषगरी पहिलो दिन नयाँबानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा घाइते भएका विरामीको उपचार गर्न अस्पतालहरूलाई भ्याइनभ्याइ भएको अवस्था छ । मीनभवनस्थित सिभिल अस्पतालले विरामीको चाप अध्यधिक भएसँगै आकस्मिक सेवाबाहेकका अरु सेवा अहिले बन्द गरेको छ । अस्पतालका निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार बिरामीका लागि खानालगायत अत्यवश्यक सेवा पुर्याउन कठिन भएको छ । ‘स्रोतसाधनको समस्या छ, जनशक्ति व्यवस्थापन पनि त्यत्तिकै चुनौतीपूर्ण छ । चिकित्सक तथा नर्सहरु ‘डबल ड्युटी’ गरेर भए पनि अहोरात्र खटिनुभएको छ, तर हाललाई ‘ओपिडी’ र ‘ओटी’ सेवा बन्द गरिएको छ”, उनले भने, “हिजोदेखि ड्युटीमा आएका आजमात्र घर फर्किँदै हुनुहुन्छ ।” हाल सो प्रदर्शनमा घाइते ४६ जनाको उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालले पनि प्रदर्शनमा घाइतेहरूलाई उच्च प्राथमिकता दिइ उपचार गरिरहेको अस्पतालका निर्देशक डा सुवास आचार्यले जानकारी दिए । अत्यावश्यक र ‘रेफर’ भएर आएका बिरामीको भने उपचार रोकिएको छैन । ‘ओपिडी’ सेवा सञ्चालनमै छ, तर बिरामीहरू अस्पतालसम्म आइपुग्न सकेका छैनन् । 'डबल ड्युटीमा खटेर हामीले काम गरिरहेका छौँ । घर जाने अवस्था नभएकाले स्वास्थ्यकर्मीहरू अस्पतलामै रही काम गरिरहनुभएको छ', उनले भने, 'हाल ५३ जना घाइतेको यस अस्पतालमा उपचार भइरहेको छ ।' निर्देशक आचार्यका अनुसार ‘ओपिडी’ नियमित रूपमा सञ्चालन भइरहेको, आकिस्मक सेवामा चाप रहेको, मुख्य शल्यक्रिया भने हाललाई बन्द गरिएको र यातायात नियमित रूपमा चले भोलिबाट सबै सेवा सञ्चालन गरिने छ । 'राष्ट्रिय ट्रमा सेन्टरमा हाल ४० जना घाइतेको उपचार भइरहेको छ । जसमा चार जनालाई शल्यक्रियापछि ‘आइसीयु’मा राखिएको छ । अहिले त अवस्था ठिकै छ । तर एउटा एम्बुलेन्स नै तोडफोड गरेका छन्', अस्पतालका निर्देशक डा बद्री रिजालले भने, 'चिकित्सक र नर्स ल्याउन भने केही समस्या छ । स्रोतसाधन अभावका बीच पनि उपचार सेवा रोकेका छैनौँ ।' परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पनि २४सै घण्टा सेवा सञ्चालनमा छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सेवालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सो अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले भने, 'ओपिडी नियमित नै सञ्चालन छ, आकस्मिक सेवा चलिरहेकै छ । शुल्क लिएर दिइने सेवा (पेइड सर्भिस) बन्द गरिएको छ ।' रासस