पर्यटकीय क्षेत्रलाई चिनाउन महाकाली–मेची साइकल यात्रा
कञ्चनपुर, २१ कात्तिक । नेपालको भौगोलिक, राजनीतिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई फोटो पत्रकारिताका माध्यमबाट चिनाउनका लागि महाकाली–मेची साइकल यात्रा सुरु गरिएको छ । विगत २५ वर्षदेखि देशमा रहेका सामाजिक तथा राजनीतिक क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्दै आइरहनुभएकी महिला फोटो पत्रकार उषा टिटिक्षुले महाकाली–मेची साइकल यात्रा सुरु गरेका हुन् । कञ्चनपुरको दोधारा झोलुङ्गे पुलनजिक बाट शनिबार यात्रा सुरु गरेकी टिटिक्षुले राजनीतिक तथा सामाजिक विषयवस्तुमा मात्र रहेर फोटो पत्रकारिता शुरु गर्दै आए पनि अबको समयमा नेपालको भौगोलिक, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई विषयवस्तु बनाएर फोटो पत्रकारिता गर्ने बताए । महाकालीबाट सुरु भएको साइकल यात्रा अबको चार महिनापछि मेचीमा पुगेर समापान हुनेछ । चार महिनाको अवधिमा नेपालका विभिन्न भौगोलिक स्थानको फोटो खिच्दै जाने र यात्रा समापनपश्चात् देश तथा विदेशमा गएर फोटो प्रर्दशनी गर्ने टिटिक्षुले बताए । देशको पश्चिमी सिमानाका महाकाली नदीको बगरको बालुवामा नेपालको नक्सा बनाउँदै उनले साइकल यात्रा सुरु गरेका हुन् । पश्चिमी सिमानाका महाकालीबाट यात्रु सुरु गरेकी टिटिक्षु आइतबार कञ्चनपुरबाट यात्रामा निस्केका छन् । रासस
हवाई उड्डयनमा नयाँ कम्पनी थपिँदै, एभरेष्ट हेलिकोप्टर संचालन गर्न श्रीका दुईवटा हेलिकोप्टर खरिद
काठमाडौं २१, कात्तिक । हेलिकोप्टर सेवामा नयाँ कम्पनी आउने भएको छ । मनाङ हेलिकोप्टरबाट छुट्टिएर गएको लाक्पा शेर्पासहितको टिमले एभरेष्ट हेलिकोप्टर संचालनको अन्तिम तयारी गरिरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो वायुसेवाले जहाज ल्याउनको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाइसेको छ । अब, जहाज ल्याएपछि यसले आवश्यक प्रक्रिया पूरा गरेको अवस्थामा उडान संचालन अनुमति (एओसी) पाउँछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सात महिना अगाडि नै इजाजतपत्र (लाइसेन्स) पाएको यो वायुसेवा कम्पनीले प्राधिकरणबाट एओसी पाउने तयारीमा रहेको छ । यो वायुसेवा करीब अन्तिम तयारीमा रहेको र आवश्यक डकुमेन्ट जुटाउने क्रममा रहेको पनि प्राधिकरणले जानकारी दिएको छ । एभरेष्टल श्री एयरलाइन्सको दुई वटा एसए ३५० बीथ्री ई नामक हेलिकोप्टर खरिदको सम्झौतासमेत गरिसकेको छ । श्रीले आन्तरिक तथा वाह्य उडानमा नियमित उडानका जहाजबाटै सेवा दिने तयारी गरेकोले पनि यसले दुईवटा हेलिकोप्टर बेचेर जहाजमै लगानी गर्न खोजेको पनि प्राधिकरणको बुझाई छ । श्रीले एक महिना अगाडि नै दुई वटा हेलिकोप्टर एभरेष्ट हेलिलाई दिन औपचारिक सहमति गरेको स्रोतको भनाइ छ । हाल यो दुइवटा हेलिकोप्टरको उडान आवर नबढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा राखिएको छ । प्राधिकरणका अनुसार आन्तरिक उडानमा पछिल्लो समय हेलिकोप्टरको व्यवसाय निकै चर्को प्रतिस्पार्धामा गएको छ । एउटा हेलिकोप्टरलाई कम्तिमा २० करोडका दरले पनि दुई वटालाई ४० करोड र अन्य कम्पनी तथा कर्मचारी तथा पाइलट र इन्जिनयरको व्यवस्थापन गर्दा हेलि एभरेष्टले कम्तिमा दुई वटा हेलि संचालन गर्न ५० देखि ६० करोड खर्च गर्नुपर्ने पर्यटन मन्त्रालय स्रोतको भनाइ छ । यो वायुसेवाले प्राधिकरण अन्तर्गतको हवाई उडान सुरक्षा विभागमा अनुमतिको लागि आवेदन दिएको छ । यो वायुसेवाको आवेदनमा प्राधिकरणले आवश्यक मूल्यांकनको काम गरिरहेकोले आगामी एक सातासम्ममा उडान अनुमति पाउनसक्ने पनि प्राधिकरण स्रोतको भनाई छ । हाल नेपालमा हेलिकोप्टर सेवामा नै विभिन्न ८ वटा कम्पनी रहेका छन् । यी कम्पनीमध्ये श्री, सिम्रिक, फिस्टेल, एयर डाइनेस्टि, माउन्टेन, मनाङ, अल्टिच्यूड हेलिकोप्टर संचालमा रहेका छन् । यी हेलिकोप्टरका २ देखि ४ वटासम्म हेलिकोप्टर उडानमा रहेका छन् । थप हुने तयारीमा रहेको एभरेष्टले पनि हाललाई दुईवटै हेलिकोप्टर संचालनमा ल्याउने भएको छ ।
विश्वकै ठूलो शालिग्राम शिला सङ्कटमा, कालीगण्डकीले परिक्रमा स्थल भत्काउँदै
पर्वत, २१ कात्तिक । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ । गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको हो । शिला संरक्षण तथा भक्तजन परिक्रमा गर्नका लागि निर्माण गरिएको संरचना नदीतर्फको भागमा पूरै भत्किएको छ । जसले गर्दा कालीगण्डकीको बहावले सिधै शिलामा ठोक्किने भएकाले शिला नै बगाउने सम्भावना बढेर गएको स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । भगवान् विष्णुको अवतारका रुपमा लिइने शिला परिक्रमा गरेमा मनोकामना पूरा हुने विश्वासमा दैनिक हजारौंको सङ्ख्यामा तीर्थालु आउने गरेकामा शिलाको परिक्रमा गर्न नपाएपछि तीर्थालुको सङ्ख्यासमेत ह्वात्तै घटेको छ । पर्वत, स्याङजा, गुल्मी, बागलुङ, पाल्पा, चितवन, नवलपरासी, अर्घाखाँची लगायत मुलुकभरबाट दैनिक हजाराँैको सङ्ख्यामा आउने भक्तजन र शैक्षिक भ्रमणमा आउने विद्यार्थी तथा अन्य तीर्थालुले समेत शिलाको उचित व्यवस्थापन नभएको गुनासो गरेका छन् । सुनेकै भरमा शिला शालिग्रामको दर्शन गर्न आएका नवलपरासीको खैरेनी माविमा कक्षा १० मा पढ्ने अनिष चौधरीले शिला शालिग्रामको चर्चा अनुसारको व्यवस्थापन रहेनछ, यसको तत्काल उचित व्यवस्थापन हुनु रहेको बताए । पाँच वर्षअघि शालिग्राम परिक्रमा गर्न कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको सहयोगमा करिब ५० लाख खर्चिएर बनाइएको परिक्रमास्थल गत साउन १२ गतेको बाढीले भत्काएपछि अहिले यहाँ पर्यटक आउनै डराउने गरेको शिलाका पुजारी भगवानहरि पराजुलीले बताए । “अघिल्लो बर्सातमा पनि परिक्रमास्थल केही भत्किएको थियो । उक्त समयमा बाँस तेस्र्याएर अल्पकालीन समस्या समाधान गरियो”, उनी भन्छन, “तर यस वर्षको शिला डुबाउने गरिआएको बाढीले परिक्रमा गर्नै नमिल्ने बनाएको छ । परिक्रमा स्थलमा थप सुरक्षा नहुँदा ज्यान पनि जोखिममा पर्ने गरेको छ ।” उक्त शिलाको व्यवस्थापन तथा सुरक्षाको जिम्मा भने कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाले लिएको उनले बताए । शिला जोखिममा परेपछि त्यसको सुरक्षाका लागि परियोजनालाई जानकारी गराइसकिएको तर हालसम्म पनि सुनुवाइ नभएको उनले उल्लेख गरे ।