शिक्षा नियमावली मस्यौदा संसोधन अनिवार्य, बेवास्ता गरिए आन्दोलन गर्ने

काठमाडौं, १५ मंसिर । विद्यालय शिक्षालाई नयाँ संरचनामा ढाल्ने र सोही अनुरुप कार्यान्वयनमा जाने गरी शिक्षा मन्त्रालयले तयार पारेको शिक्षा नियमावलीको मस्यौदामा निजी क्षेत्रको असहमती र विरोध बढ्दै गएको छ । शिक्षा ऐन (आठौँ संशोधन)मा उल्लेख भएअनुसार प्रारम्भिक कक्षा देखि कक्षा ८ सम्म आधारभूत र कक्षा ९ देखि १२ सम्म माध्यमिक विद्यालय संरचना बनाइनेबारे निजी संसोधनको माग गर्दै विद्यालय सञ्चालकहरुको दवाव र विरोध बढ्दै गएको हो । समान शिक्षाको अवधारण लागू गर्नुपर्नेमा मन्त्रालयले नै दोहोरो शिक्षा निति लिएको भन्दै निजी विद्यालयका छाता संगठनहरुले आफ्ना अवधारणाअनुसारको नियमावली संसोधन गर्नुपर्ने माग राख्दै राजनीतिक रुपमै दवाव सिर्जना गर्ने तयारी गरिहेका छन् । जसका कारण शिक्षा मन्त्री धनीराम पौडेलले चाहेर मात्रै पनि अगाडी बढ्न सक्ने अवस्था नरहेको शिक्षा मन्त्रालय स्रोतले बतायो । अझ प्लस टू मात्रै संचालन गरिरहेका उच्च माध्यमिक विद्यालयका संचालकहरुले दिएको दवाव पनि कम छैन । उनिहरुले उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)मार्फत जिरो प्लस टूलाई यथास्थितिमा चल्न दिनुपर्ने माग राख्दै कक्षा ९ देखि १२ सम्मको संरचना अब्यवहारीक भएको भन्दै नियमावली संसोधनलाई अनिवार्य शर्त बनाएका छन् । मन्त्रालयले विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई लागु गर्ने उदेश्यले प्रारम्भिक शिक्षा नियमावलीको मस्यौदा तयार पारेपनि निजी क्षेत्रको चर्को दवाव र विरोधले यतिखेर कार्यान्वयनमा आइसक्नुपर्ने नियमावलीले पूर्णरुप लिन सकेको छैन । निजी क्षेत्रबाट नियमावलीमा केहि संसोधनको कुरा आइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता एवं मस्यौदा निर्माण कार्यदलका संयोजक डा. हरि लम्सालले जानकारी दिए । उनले भने– ‘निजि क्षेत्रको विद्यालय संचालकहरुले खासै विरोध जनाएका छैनन् तर प्लस टू संचालकहरुलाई कक्षा ९ सम्म आउन कठिन भएको देखियो ।’ कक्षा १२ सम्म पनि विद्यालय शिक्षा नै भएकाले यसमा ९ र १० कक्षा थपिदिंदा विद्यालय संरचना थप वलियो हुने लम्सालले बताए । शिक्षा मन्त्रालयले तयार गरेको नियमावलीको मस्यौदामा जिरो प्लस टू विद्यालयले माध्यमिक हुन चाहने हो भने कम्तीमा ९ र १० कक्षा पनि अनिवार्य सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । हिसानका अध्यक्ष रमेश सिलवालले कक्षा १ देखि १२ सम्मको शिक्षालाई नियमावलीमार्फत सरकारले एउटै टोकरी हाल्न लागेको आरोप लगाए । उनले कक्ष ११ र १२ को शिक्षालाई उच्च शिक्षाको हैसियत कायम राख्नुपर्ने बताए । सिलवालले उच्च मावि तहको शिक्षालाई नै सिध्याउने षड्यन्त्र भइरहेको दावी गर्दै कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने– ‘हाम्रो आन्दोलन बन्द हड्ताल, टायर बाल्ने जस्तो नभई उच्च तहबाट दवावमूलक संघर्ष हुनेछ र यसबाट नियमावली संसोधन गराउन बाध्य पर्नेछौं ।’ उता प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले आफूहरु प्ररम्भिक कक्षादेखि १२ सम्मको विद्यालय तहको संरचनामा खासै विरोध गर्नुपर्ने नदेखिएपनि नियमावलीका केहि बुँदाहरुमा भने संसोधनको आवश्यकता रहेको बताए । यसैविच मन्त्रालयले भने आवश्यक तयारी पुरा गरी कानुन मन्त्रालय र अर्थ मन्त्रालयमा नियमावली मस्यौदा पठाउने तयारी गरिहेको छ ।

आरम्भ माइक्रो फाइनान्सद्धारा ३ शाखा कार्यालय विस्तार, थप ५ कार्यक्षेत्र विस्तार गर्न राष्ट्र बैंकको स्वीकृति

काठमाडौं, १५ मंसिर । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एकै साथ थप तिन शाखा कार्यालयहरु विस्तार गरेको छ । वित्तीय संस्थाले २०७३ मंसिर १५ बाट सिन्धुलीको कमलामाई नगरपालिका (बैंक रोड), नुवाकोटको विदुर नगरपालिका तथा काभ्रेपलाञ्चोकको बनेपामा आफना शाखा कार्यालयहरु विस्तार गरेको हो । अब संस्थाको कुल शाखा संख्या १६ पुगेको छ । आरम्भ माइक्रोफाइनान्सले थप ५ जिल्लाहरु क्रमशः काभ्रेपलाञ्चोक, धादिङ्ग, गोरखा तनहुँ र कास्कीमा आफनो कार्यक्षेत्र विस्तार गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति समेत प्राप्त गरेको छ । यस संगै संस्थाको कार्यक्षेत्र पनि १५ जिल्ला पुगेको छ । संस्थाले १ करोड १८ लाख रुपैयाँ भन्दा बढि रकम बचत संकलन गरी हालसम्म २१ करोड ३४ लाख रुपैयाँ लगानी गरेको कम्पनीले बताएको छ । करिव ६ करोड ६६ लाख रुपैयाँ असूली गरी संस्थाको लगानीमा बाँकी रहेको रकम १४ करोड ६८ लाख रुपैयाँ रहेको फाइनान्सले जनाएको छ । यसै आर्थिक बर्ष भित्र संस्थाले ११ हजार भन्दा बढि विपन्न घर परिवारलाई लघु वित्तीय सेवा उपलव्ध गराई करिब ३० करोड लगानी रहने गरी काम गर्ने लक्ष्य लिएको छ । हालै मात्र संस्थाले १ः१ प्रतिशतले हकप्रद शेयर जारी गरेकोमा चुक्ता पूँजी १ करोड २ लाखबाट २ करोड ४ लाख रुपैयाँ तथा जारी पूँजी २ करोड रुपैयाँबाट ४ करोड रुपैयाँ पुरयाउने काम अन्तिम चरणमा पुगेको छ । यसैगरी सर्वसाधरणको लागि शेयर निष्काशन गर्नु पुर्वनै यस वित्तीय संस्थाले पुनः २ः१ प्रतिशतले हकप्रद शेयर जारी गरि संस्थाको जारी पूँजी ६ करोड रुपैयाँ तथा चुक्ता पूँजी ३ करोड ६ लाख रुपैयाँ पुर्याउने योजनाका साथ अगाडि बढिरहेको छ । सो पश्चात आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने पनि संस्थाको योजना रहेको छ । यस वित्तीय संस्थाले आफना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने अभिप्रायले विप्रेषण सेवा दिने तयारी पनि गरिरहेको छ ।

४५ करोड खर्चिएर सिम्रिक एयरले दुई हेलिकोप्टर थप्यो, एक महिना भित्रमै नियमित उडानमा

काठमाडौं १५, मंसिर । निजी क्षेत्रको हेलिकोप्टर सेवाप्रदायक सिम्रिक एयरले नयाँ दुईवटा हेलिकोप्टर थप गरेको छ । दसैं आगाडि ल्याएको एउटा हेलिकोप्टर संचालनको तयारीमा रहेको छ भने मंगलबार बेलुकी अर्को एक हेलिकोप्टर काठमाडौं भित्र्याएको छ । यो वायुसेवाले मंगलबार बेल ४०७ जीएक्सपी नामक नयाँ हेलिकोप्टर ल्याएको हो । यो हेलिकोप्टर आज दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक जानकारी दिने पनि सिम्रिक एयरले जानकारी दिएको छ । सिम्रिक एयरका प्रमुख बजार निर्देशक दिलबहादुर ओलीका अनुसार हेलिकोप्टर काठमाडौं विमानस्थलमा आइसकेकोले आज सार्वजनिक गर्ने र आगामी एक महिनाभित्रमा उडान गरिने छ । सिम्रिकले दसैं अगाडि नै एएस ३५० बीथ्रई नामक ६ सिटरको हेलिकोप्टर भित्र्याएको थियो भने अहिले बेलको पाँच सिटर हेलिकोप्टर ल्याएको छ । यो हेलिकोप्टर सिगापुरहुँदै ढाका ल्याएको र हिजै विराटगरबाट काठमाडौं ल्याएको पनि सिम्रिकले जानकारी दिएको छ । सिम्रिकका अनुसार दसैं अगाडि ल्याएको हेलिकोप्टर एसेम्बलको अन्तिम चरणमा रहेको छ भने नयाँ हेलिकोप्टर भने उडाएरै ल्याएकोले तयारी आवस्थामा रहेको छ । सिम्रिकले तीन महिनाको बीचमा दुइवटा हेलिकोप्टर थप गरेको छ । सिम्रिक एयरको अनुसार यो वायुसेवाले करीक ४५ करोड रुपैयाँमा दुईवटा हेलिकोप्टर थप भएको बताएको छ । बजार मूल्य अनुसार पनि एयरवस हेलिकोप्टरको २५ करोड र बेलको करीब २० करोड रुपैयाँ बजार मूल्य रहेको छ । सिम्रिकले २ वटा हेलिकोप्टर थप गरेपनि यो वायुसेवासँग चारवटा हेलिकोप्टर भएको छ । यस अघि सिम्रिकसँग २ वटा एयरवस हेलिकोप्टरका एसएस ३५० बीथ्री ई नामका आधुनिक सुविधाका हेलिकोप्टर छन् । २ वटा थप भएसँगै अब सिम्रिकसँग चारवटा हेलिकोप्टर भएको छ । हेलिकोप्टरमा अर्को नयाँ कम्पनी थप हुँदै पछिल्लो समय आन्तरिक उडानका हेलिकोप्टर सेवा प्रदायक कम्पनीेले धमाधम हेलिकोप्टर थप थर्न थालेका छन् । दसैं लक्षित गर्दै नेपाली आकासमा अल्टिच्युट थपिएको थियो भने अर्को नयाँ कम्पनी एभरेष्ट हेलिले पनि सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ । एभरेष्ट हेलिकोप्टरले श्री एयरलाइन्सका दुई वटा एएस ३५० बी थ्री नामक हेलिकोप्टर किनेर सेवा सुरु गर्ने भएको छ । यो हेलिले नेपालको हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान संचालन अनुमति (एओसी) पाउने चरणमा रहेको छ । यो वायुसेवाले एओसीको लागि प्रारम्भि तयारी पूरा गरेकोले एक दुई साताभित्रै उडान गर्ने गरी तयारी थालेको पनि जानकारी दिएको छ । हेलिकोप्टर सेवामा क्रियाशील आधा दर्जन हेलिकोप्टरको तुलनामा फरक रविन्सन्स कम्पनीको सानो हेलिकोप्टरबाट सेवा दिइरहेको प्रभु हेलिकोप्टरल सोही कम्पनीको अर्को हेलिकोप्टर थप गरेको छ । हेलिकोप्टर सेवामा आफ्नो फरक पहिचान बनाएको फिस्टेल एयरले पनि दसैंलाई नै दृष्ट्रिगत गरेर एक नयाँ हेलिकोप्टर थप गरेको छ । यो वायुसेवा कम्पनीले एयरवस हेलिकोप्टरको एएस ३५० बी थ्री नामक हेलिकोप्टर थप गरेर दसैदेखि नै सेवा सुरु गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृति सुमन पाण्डेले बताए । फिस्टेलले सिम्रिक हेलि ट्रेडमार्फत बेलका दुईवटा हेलिकोप्टर खरिदको सम्झौता दसैं अगाडि गरिसकेको छ ।  नेपाली आकासमा नेपाली सेनाकोसहित फिस्टेल, अल्टिच्यूट, प्रभु, सिम्रिक एयर, श्री एयरलाइन्स, माउन्टेन हेलिकोप्टर्स, एयर डाइनेष्टि, मनाङ एयरले हेलिकोप्टरको सेवा प्रदान गरिरहेका छन् । एभरेष्ट हेलि थप भएपनि यो क्षेत्रमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी नौ वटा निजी कम्पनी हुने छन् । यी सबै वायुसेवासँग एकदेखि चारवटासम्म हेलिकोप्टर रहेकोले दैनिक १८÷२० वटासम्म हेलिकोप्टर उड्ने गरेको मनाङ एयरका कर्पोरेट प्रमुख राजु न्यौपानेको भनाइ छ ।