डाक्टर पढ्न उपत्यकाभित्र ३५ लाख, बाहिर भने ३८ लाख ५० हजार रुपैयाँसम्म लिन पाइने

काठमाडौं १२, मंसिर । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० ले एमबीबीएसको शुल्क उपत्यकामा ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । उपत्यकाबाहिर भने ३८ लाख ५० हजार रुपैयाँसम्म लिन पाइनेछ । बीडीएसको शुल्क देशैभरि १७ लाख ५६ हजार ९ सय २० रुपैयाँ तोकिएको छ । मेडिकल कलेजहरूले ६२ लाख रुपैयाँसम्म लिएर भर्ना गरिसकेपछि आईओएमले शुल्क निर्धारण गरेको हो । गत वर्ष निर्धारित शुल्क यस वर्ष पनि कार्यान्वयन गर्न आईओएम डिन कार्यालयले शनिबार सूचना जारी गरेको छ । काठमाडौं विश्वविद्यालयले भने शुल्कसम्बन्धी निर्णय गरेको छैन। आईओएमका अनुसार निर्धारित शुल्क तीन किस्तामा तिर्नुपर्ने छ । भर्ना गर्दा पहिलो किस्ता निर्धारित शुल्कको ५० प्रतिशत, दोस्रो किस्ता २५ प्रतिशत र तेस्रो किस्तामा २५ प्रतिशत भुक्तानी गर्नुपर्ने आईओएमको सूचनामा उल्लेख छ । ‘सरकारबाट शुल्कसम्बन्धी अन्यथा निर्णय भई आएको अवस्थामा सोही निर्णयलाई आधार मानी निर्णय गरिनेछ,’ सूचनामा भनिएको छ । यो शुल्क महाराजगन्ज मेडिकल क्याम्पस, चितवन मेडिकल कलेज भरतपुर, गण्डकी मेडिकल कलेज जनकपुर, जानकी मेडिकल कलेज जनकपुर, किस्ट मेडिकल कलेज ललितपुर, एमबी केडिया डेन्टल कलेज वीरगन्ज, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स काठमाडौं, नेसनल मेडिकल कलेज वीरगन्ज, पिपल्स डेन्टल कलेज काठमाडौं, युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवामा लागू हुनेछ । नेपाल मेडिकल काउन्सिलले यी कलेजमा एमबीबीएसमा ८० देखि १ सय १५ र बीडीएस मा ५० सिट निर्धारण गरेको छ । तोकिएको शुल्क मेडिकल कलेजहरूले एकमुष्ट लिने गरेको अभिभावकको गुनासो छ । ‘सरकारले निर्धारण गरेको शुल्कको कुरा गर्दा भर्ना लिँदैनन्,’ किस्ट मेडिकल कलेजमा भर्ना भएका एक विद्यार्थीका अभिभावकले भने, ‘किस्ताबन्दीमा तिर्ने कुरै नगरौं ।’ गत वर्ष भदौ अन्तिममा मन्त्रिपरिषदको बैठकले एमबीबीएसको शुल्क ३५ लाख निर्धारण गरेको थियो । शिक्षा मन्त्रालयले यो निर्णय लागू गराउन प्रयास गरे पनि असफल भएको थियो । कलेजले विद्यार्थीलाई ३५ लाख रुपैयाँ लिएको रसिद दिए पनि ‘अन्डर टेबल’ बढी रकम लिएका थिए । गत वर्ष पनि ५० लाखभन्दा बढीसम्म शुल्क लिएको पाइएको थियो । आईओएमका डिन केपी सिंहले शैक्षिक सत्र ०७३र७४ का लागि निर्धारित शुल्क कार्यान्वयन गरिछाड्ने बताए । ‘भर्ना हुँदा बढी लिएको भए पनि सबै रकम तिरेका हुँदैनन,’ उनले भने, ‘अरू किस्तामा अहिले लिएको रकम मिलाउँछु ।’ निर्धारित शुल्कभन्दा बढी लिएको उजुरी परेको कलेजलाई कारबाही गर्ने उनले बताए । अभिभावक र विद्यार्थीलाई बढी शुल्क लिने कलेजबारे जानकारी दिन उनले आग्रह गरे । ‘उपत्यकाभित्र ३५ लाख र बाहिर ३८ लाख ५० हजारभन्दा बढी लिइएको छ भने जानकारी दिनुहोस्, म कारबाही गर्छु,’ उनले भने । मेडिकल कलेजहरूले स्वदेशी विद्यार्थीलाई ४० लाखदेखि ६२ लाख रुपैयाँसम्म लिएको पाइएको शिक्षा मन्त्रालयको उच्च स्रोतले जानकारी दियो । ‘नर्मल फि भनेर ५२ लाख र उच्चमा ६२ लाख लिइरहेका छन्,’ मन्त्रालय स्रोतले भन्यो, ‘मेडिकल कलेजले लुटतन्त्र मच्चाएका छन् । सरकारले भर्ना हुनुअघि नै गत वर्षकै शुल्क लिने भनिदिएको भए अभिभावक ठगिने थिएनन् । यस पटक सिलिङ ढिला आएपछि कलेजले जति चाह्यो त्यति उठाएका छन् ।’ कान्तिपुर दैनिकबाट ।

सरकारी घोषणामा निःशुल्क डायलासिस आजिवन, व्यवहारमा २ पटक भन्दा बढीको रकम असुशी

काठमाडौं ११, मंसिर । सरकारले गरिबलाई आवश्यकताअनुसार डायलासिस सेवा आजीवन निः शुल्क गर्ने निर्णय गरे पनि अस्तालहरुले दुईपटकभन्दा बढी डायलसिस गर्दा बिरामीबाट रकम शुल्क असुल्ने गरेका छन् । नयाँ बिरामीले त चर्को शुल्क तिरेर निजी अस्पतालमा डायलासिस गर्नुपर्ने बाध्यता छ । सरकारबाट सूचीकृत संस्थामध्ये भक्तपुरस्थित मनव अंग प्रत्यारोपण केन्द्र र ललितपुरको सुमेरु अस्तालबाहेक बाँकी २१ वटा स्वास्थ्य संस्थाले सातामा दुईपटकभन्दा बढी डायलासिस गर्ने बिरामीबाट रकम असुल्दै आएका छन् । केपी शर्मा ओली सरकारले गत जेठ २२ गते प्रत्येक विपन्न बिरामीलाई दुई सय आठपटकसम्म सीमित निःशुल्क डायलासिसलाई आवश्यकताअनुसार आजीवन निः शुल्क दिने घोषणा गरेको थियो । मुलुककै सैभन्दा ठूलो वीर अस्पतालमै उक्त कार्यक्रम लागू भएको छैन । अस्पतालको हेमोडायलासिस युनिटको ढोकामा सीमित स्रोतसाधनलाई उपयोग गर्नुपर्ने भएकाले अर्को व्यवस्था नभएसम्म नियमति सेवालाई नै निरन्तरता दिनुपरेको भन्दै सूचना टाँसिएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट।

नारायणी टुडेको वार्षिकोत्सव थाइल्यान्डमा, नेपालको पर्यटन विकासमा थाइल्यान्डबाट सिक्नुपर्ने

थाइल्यान्ड, १० मंसिर । प्राकृतिक सम्पदाले भरिपूर्ण भएपनि राजनीतिक अस्थिरताका कारण नेपाल पछिपरेको कुरा चितवनको नारायणी टुडे राष्ट्रिय मासिक पत्रिकाले थाइल्यान्डको पत्ताया सिटीमा बिहिबार आयोजना गरेको १७औँ वार्षिकोत्सव समारोहमा बोल्ने वक्ताले बताएका छन् । सँगैसँगै विकासक्रममा रहेका नेपाल र थाइल्यान्ड राजसंस्थाले लामो समय सत्ता सञ्चालन गर्दै गर्दा विकासक्रममा थाइल्यान्डले कायापलट गरेको छ भने नेपाल भने यथास्थितिमा रहेकामा वक्ताहरुले चिन्ता व्यक्त गरेका थिए । थाइल्यान्डमा पर्यटक भित्रिनुको मुख्य कारण समुन्द्र हो भने नेपालमा रहेका हिमशृङ्खला र दुर्लभ वन्यजन्तु तथा प्राकृतिक छटा आकर्षणका केन्द्र हुन् । तर उचित प्रचार, अस्थिर राजनीति र व्यवस्थापनको अभावका कारण नेपाल पछि परेको वक्ताको दाबी थियो । कार्यक्रमको उद्घाटन गर्दै गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए०का थाइल्यान्ड उपाध्यक्ष महेन्द्र श्रेष्ठले नेपालको पर्यटन विकासका लागि थाइल्यान्डबाट धेरै सिक्नुपर्ने बताए । उनले राजनीतिक दलका नेता, विभिन्न पेसाकर्मीसहित पत्रकारको टोलीको यो थाइल्यान्ड भ्रमणले नेपालमा पर्यटक कसरी भित्र्याउन सकिन्छ र बसाइ लम्ब्याउन सकिन्छ भन्ने विषयमा ज्ञान हासिल गर्नसक्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले थाइल्यान्डको विकासलाई हेरेर नेपालमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिए । उनले पत्रकारिता पेसामाथि औँला उठाउन नसक्ने गरी काम गर्नुपर्ने भन्दै समाज रुपान्तरणका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने “राजनीतिका कारण देश बिग्रियो मात्रै भन्नुभन्दा सही ट्र्याकमा लान हामी पत्रकारले के गरौँ भन्ने बारेमा सोच्नुपर्छ ।” नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले थाइल्यान्डले छोटो समयमा गरेको प्रगतिबाट ज्ञान लिएर नेपालको विकासमा परिचालन गर्नसके विकास सम्भव भएको जिकिर गरे । “देशको समृद्धिका लागि पत्रकारको कलम चल्नुपर्छ, त्यसका लागि थाइल्यान्ड भ्रमण सार्थक बनोस्,” आचार्यले भने । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले नेपाल र थाइल्यान्डको विकासक्रम उस्तै ढङ्गबाट अघि बढेको भएपनि हामी पछिपर्नाको कारण शासन व्यवस्था मात्रै नभएर हाम्रो इच्छाशक्तिको अभाव प्रमुख कारण रहेको उल्लेख गरेका छन् । गाली र आलोचनाले मुलुक नबन्ने भन्दै उनले भुटान, थाइल्यान्डबाट पाठ सिक्ने गरी लेख्न पत्रकारलाई आग्रह गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष इन्द्रजित परियारले नेपालमा विकास भएको नकारात्मक राजनीतिलाई सकारात्मकतामा ढाल्नुपर्ने भन्दै पर्यटनको खानी भएर पनि हामी ओझेलमा पर्नुको कारण खोज्नुपर्ने बताए । राजनीतिक स्थिरता पछि अब देशलाई अन्य क्षेत्रको अनुभव हेरेर समृद्धितर्फ लैजानुपर्नेमा जोड दिएका छन् । नारायणी टुडे राष्ट्रिय मासिकका प्रकाशक/सम्पादक वीरेन्द्रमणि पौडेलले पत्रिकाको वार्षिकोत्सवका लागि मात्रै नभएर थाइल्यान्डको विकासको सिको गरेर नेपालको विकास गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले दलका नेता, पत्रकार र पेसाकर्मीहरुलाई थाइल्यान्ड भित्र्याएको बताए । आगामी वर्षमा क्रमशः विकसित मुलुकमा नेपालीलाई लगेर यस्तै विशेष कार्यक्रम आयोजना गर्ने उनले प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, वरिष्ठ न्यूरो सर्जन डा बालकृष्ण थापा, डा कृष्ण काफ्ले, प्रेस सेन्टर नेपालका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी र प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपालले मन्तव्य राखेका थिए । सो कार्यक्रममा नेपालबाट आएका राजनीतिक दल, पत्रकार, पेसाकर्मीसहित थाइल्यान्डमा रहेर पेसा–व्यवसाय गर्ने नेपालीको उपस्थिति रहेको थियो । विश्वमा नै थाइल्यान्ड धेरै पर्यटक भित्र्याउने देशका रुपमा परिचित छ । पत्रकारसहित चार सम्मानित नारायणी टुडे राष्ट्रिय मासिक पत्रिकाले थाइल्यान्डको पत्ताया सिटीमा बिहीबार १७औँ वार्षिकोत्सवका क्रममा चितवनका तीन पत्रकार र एक भेट्रिनरी चिकित्सकलाई सम्मान गरेको छ । उनीहरुलाई कदरपत्रसहित एनआरएनए थाइल्यान्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठले कदरपत्रसहित सम्मान गरेका थिए । सो क्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष हरि पोखरेल, बिबिसी तथा नेपाल टेलिभिजनका चितवन संवाददाता ईश्वर जोशी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा कृष्ण काफ्लेलाई सम्मान गरिएको थियो । रासस