नेपाल औद्योगिक विकास बैंकले शुरु गर्यो इनर्जी इफिसियन्सी कार्यक्रम

काठमाडौं, २४ मंसिर । नेपाल औद्योगिक विकास बैंक (एनआईडीसी)ले शुक्रबार इनर्जी इफिसिएन्सी प्रोग्राम शुभारम्भ गरेको छ । २० लाख रुपैयाँको उक्त कार्यक्रम जर्मन सरकारको सहयोगमा शुक्रबारदेखि शुरु गरिएको हो । अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । कम ऊर्जा खपतबाट बढी उपयोगिता लिनका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रम अन्तरगत विज्ञहरुको सहयोगमा छनोट गरिएका विभिन्न ४० ओटा उद्योगहरुमा कम ऊर्जा खपत गर्ने सम्बन्धि विभिन्न उपयोगी प्राविधिक ज्ञानहरु सिकाइने छ । एनआईडीसीले उक्त कार्यक्रम शुरु गर्नका लागि विभिन्न पाँच फरक क्षेत्रका उद्योगहरु पनि छनोट गरिसकेको छ । सिमेन्ट, स्टील, होटललगायतका उद्योग व्यवसायहरुले दुई वर्षको अवधिमा उक्त सेवा पाउने छन् । कार्यक्रममा छानिएका त्यस्ता उद्योग तथा व्यवसायले १० देखि २० प्रतिशतसम्म अनुदानमा ऊर्जा खपत कार्यक्रमको सेवा पाउने छन् । कार्यक्रममा सचिव खनालले यसले विभिन्न उद्योग तथा व्यवसायमा ऊर्जा खपत कम गराइ वातावरण सुधारमा उल्लेख्य योगदान पुग्ने बताए । ‘ठूला उद्योगहरुलाई कार्यक्रमले दिने सेवाबाट ऊर्जा खपत गरी मुनाफा बढाउन सक्ने छन्,’ उनले भने । कार्यक्रममा जर्मन विकास संस्थाकी प्रमुख ज्याकलिन ग्रोथले कार्यक्रम सफलताको कामना गरेकी छिन् । यस कार्यक्रमबाट नेपाल अर्थतन्त्र निर्माणमा ठूलो टेवा मिल्ने विश्वास लिएको उनले बताईन् । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष चुडामणि शर्माले कार्यक्रमले क्षमता अभिवृद्धि गर्नुका साथै कम खर्चमा बढी उत्पादन गर्न सक्ने बताए । यस्तो कार्यक्रम नेपालका लागि धेरै महत्वपूर्ण भएको उनको भनाइ छ ।

सानिमा बैंकको १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं, २४ मंसिर । सानिमा बैंकको १२औं वार्षिकोत्सवको सम्पन्न भएको छ । उक्त अवसरमा लायन्स् क्लब अफ काठमाडौं समृद्धि र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, नारायण चौरको सहकार्यमा बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको  मुख्य कार्यालय अगाडी रहेको नन्दी केश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीय बासी, प्रहरी, लायन्स् क्लब अफ काठमाडौं समृद्धिका सदस्यतथा बैंकका कर्मचारीहरुको सहभागिता रहेको थियो । शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सानिमा बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तर दायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सानिमा बैंकको मेचीदेखि महाकालीसम्म ४१ वटाशाखा संजाल तथा ४७ वटा ए.टि.एम रहेका छन ।

आफैं कल ब्लक गर्छन् टेलिफोन कम्पनी, आम्दानीको लडाइँले एक अर्काको नेटवर्कमा फोन नलाग्ने

काठमाडौं २४, मंसिर । तपाईसँग टेलिकमको सिमकार्ड छ ? एनसेलमा फोन गर्नुस् हत्तपत्त लाग्दैन ? । अनि एलसेलको सिमकार्डबाट एनटिसीमा नि ? त्यो पनि सजिलै लाग्दैन । तपाईं–हामीलाई लाग्छ– एउटा कम्पनीको नम्बरबाट अर्कोमा फोन नलाग्नुमा नेटवर्क दोषी छ । तर, होइन । नेटवर्क हुँदाहुँदै पनि आम्दानीको लडाइँमा यी कम्पनीले एक अर्काको नेटवर्कमा फोन नलाग्ने बनाइरहेका छन् । नेपाल टेलिकम र एनसेल मात्र होइन नेपालका सबै टेलिफोन सेवाप्रदायकले अर्काको नेटवर्कमा आफ्नो नेटवर्कबाट फोन नलाग्ने बनाइरहेका छन् । ‘आफ्नो नेटवर्क राम्रो छ भन्ने देखाएर ग्राहक बढाउन र विदेशबाट कल आउँदा हुने आम्दानी अर्काको भागमा नजाओस् भनेर कम्पनीहरुले यस्तो गरिरहेको पाइएको छ,’ दूरसञ्चार प्राधिकरणका एक प्राविधिक अधिकारीले भने, ‘यसलाई हाम्रो नेतृत्वले समयमै सम्बोधन गरेको छैन, त्यसको मर्का ग्राहकलाई परिरहेको छ ।’ करिब एक वर्षअघि नै प्राधिकरणले गरेको अध्ययन अनुसार नेपालमा अन्तरआबद्धता अबरोध दर १७ प्रतिशतसम्म पुगेको छ । अन्तरआबद्धता अवरोध भनेको एउटा कम्पनीको नेटवर्कबाट अर्को कम्पनीको नेटवर्कमा सम्पर्क गर्न खोज्दा सम्बद्ध कम्पनीले जानीजानी सम्पर्क हुन नसक्ने बनाउनु हो। कान्तिपुर दैनिकबाट ।