५ बजेसम्म ओपीडी संचालन गर्न अस्पतालले टेरेनन्, प्रधानमन्त्रीको निर्देशन खेर, सर्वासाधारणर्ला सास्तिनै
काठमाडौं ३, पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले भदौ २३ गते संसद्मा सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्दै स्वास्थ्योपचारका लागि महत्त्वपूर्ण कुरा उठाए। उनको सम्बोधनको बुँदा नम्बर १९ मा अस्पतालहरूमा साँझसम्म बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने प्रतिबद्धता थियो। १० देखि २ बजेसम्म सञ्चालन हुँदै आएको सेवा ५ बजेसम्म सञ्चालन हुने उल्लेख थियो। हेल्थपोष्टको फाइल तस्बिर त्यसैलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले असोज ९ गते सबै अस्पताल र विभागलाई सोहीअनुरूप सञ्चालन गर्न परिपत्र गर्यो। कार्यान्वयन भने भएको छैन। कतिपय अस्पतालहरूले जनशक्ति अभावलगायत कारणहरू देखाएर सेवा दिइरहेका छैनन् भने कतिपयले यसबारे कुनै निर्देशन नआएको बताएका छन्। कतिपय अस्पतालमा भने यही समयावधिलाई बहाना बनाएर उल्टै महँगो ‘पेइङ’ उपचार सेवा थालेका छन्। अस्पतालहरूले ‘जनशक्ति अभाव’ लाई कारण देखाउँदै आएका छन्। ‘१० देखि ५ ओपीडी चलाउन सक्ने अवस्था छैन,’ कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रोशन पोखरेलले भने, ‘ल्याब, एक्सरे, काउन्टरलगायत फाँटमा कर्मचारी अभाव छ। नियमअनुसार ८ घण्टा काम गरेकालाई १२ घण्टा लगाउनुपरेपछि अतिरिक्त भत्ता दिन अस्पतालसँग स्रोत छैन।’ अहिले १० देखि ५ बजेसम्म चलाउने कुनै तयारी नभएको उनले बताए। जनकपुर अञ्चल अस्पतालका चिकित्सकको उस्तै जवाफ छ, ‘तयारीबिना ल्याइएको नीति कार्यान्वयन गर्न सकिन्न।’ अस्पतालका मेडिकल अधिकृत एवं नेपाल चिकित्सक संघ जनकपुरका कामु अध्यक्ष डा।अनिलकुमार ठाकुर यथास्थितिमा नयाँ तालिकाअनुसार सेवा सञ्चालन गर्न नसकिने बताउँछन्। ‘एक त दरबन्दीभन्दा झण्डै आधा चिकित्सक र स्वास्थ्यकर्मी मात्रै छन्,’ उनले भने, ‘अतिरिक्त समय काम गरेको बेग्लै सुविधा दिने प्रावधान छैन। यस्तो अवस्थामा निर्देशन कार्यान्वयन गर्न सकिन्न।’ दुई सय शय्या क्षमता भएको जनकपुर अञ्चल अस्पताल यस भेगकै ‘रेफरल’ अस्पताल हो। यसमा नेपाल सरकारतर्फ १ सय ३८ चिकित्सक, स्वास्थ्यकर्मीलगायत कर्मचारीको दरबन्दी भए पनि हाल ६४ जनामात्र कार्यरत छन्। अस्पताल विकास समितिको १ सय ५२ दरबन्दीमा १ सय २५ पदमात्र छन्। कान्तिपुर दैनिकबाट ।
नौ जिल्लामा बन्दै छन् ४० वटा स्वास्थ्य संस्थाका नयाँ भवन, हेरौँ कुन कुन जिल्लामा?
हेल्थपोष्टको फाइल तस्बिर बैतडी, १ पुस । सुदूरपश्चिमका नौ जिल्लामा स्वास्थ्य संस्थाका ४० वटा नयाँ भवन निर्माण हुने भएका छन् । स्वास्थ्य मन्त्रालयले आवश्यकता पहिचान गरी सुदूरपश्चिमका ४० वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि स्वीकृति दिएपछि सो सम्बन्धी प्रक्रिया अगाडी बढाएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी बन्दना भट्टले राससलाई जानकारी दिए। उनले विभिन्न जिल्लामा अस्पताल, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित चिकित्सक आवास गृहसमेत निर्माण गर्न लागिएको बताए। सूचना अधिकारी भट्टका अनुसार नयाँ भवन निर्माण हुनेमा एउटा कर्मचारी आवासगृह, एउटा अनमी आवासगृह, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, चारवटा बर्थिङ युनिट र ३३ वटा स्वास्थ्यचौकी रहेका छन् । ती मध्ये सबैभन्दा बढी बैतडीमा नयाँ भवन निर्माण हुन लागेका हुन् । बैतडीको आमचौरा, शिवलिङ, सिगास, पञ्चेश्वर, रोडिदेवल, विशालपुर र गिरेगडा, शिखरपुर, महारुद्र, गुरुखोला, बासुलिङ र हाट गरी १२ वटा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने उनले बताए । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार डोटीको काडामाडौँ, तिखात्तर, मुडेगाँउ, बगलेक, मान्नाकपाडी, कफल्लेकी, बाझँककानी र बर्छैन् देवली गरी आठवटा स्वास्थ्यचौकी, अछामको बैजनाथ र ढकारी स्वास्थ्यचौकी र बझाङको भामचौर, भमेना, मटेला, पारकाट्ने रकफलसेरी गरी पाँचवटा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण हुने छन् । यसैगरी डडेल्धुराको शीर्ष र कोटेली स्वास्थ्यचौकी, बाजुराको जुगाड र गुदुखाती स्वास्थ्यचौकी, कैलालीको फूलवारी स्वास्थ्यचौकी, कञ्चनपुरको त्रिभुवनबस्ती स्वास्थ्यचौकी तथा दार्चुलाको हिकिला स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने छन् । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका ती संस्थाका भवन सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत निर्माण हुनेछन् । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका ३४५ वटा नयाँ स्वास्थ्य संस्थाका भवन निर्माणका लागि छनोट गरेको हो ।रासस
पर्यटक फर्कन थालेपछि खुम्बुक्षेत्र सुनसान
सोलुुखम्बु, १ पुस । चिसो बढ्न थालेपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक फर्कन थालेका छन् । विश्वका सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमालको आरोहण तथा मनोरम दृश्यको अवलोकन गर्न आएका विदेशी पर्यटक अत्यधिक चिसोका कारण फर्कन थालेपछि अहिले पर्यटकीयस्थल खुम्बुक्षेत्र सुनसान देखिन थालेको छ । चिसो बढेसंगै तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा फर्कने पर्यटकको उपस्थिति बाक्लो हुँदै गएको नेपाल नागरिक उड्डयन कार्यालय लुक्लाले जनाएको छ । मुख्य सिजनमा पर्यटकको दर्ता गर्न भ्याइनभ्याई भएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीलाई पर्यटकको चाप घट्न थालेपछि यतिखेर हलुङ्गो भएको कार्यालयका गणेश पन्तले बताए । पदमार्ग र हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकलाई जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ । केन्द्रले खुम्बुक्षेत्रमा जाने पर्यटकलाई अपनाउनुपर्ने नियम र उच्च हिमाली क्षेत्रमा जाँदा ध्यान दिनुपर्ने कुरालगायतका विषयमा जानकारी दिइने गर्छन् । अहिले पर्यटकका लागि उपयुक्त मौसम छैन । उपयुक्त मौसम नभएकाले पर्यटकको आगमन अत्यन्त न्यून हुने गरेको कार्यालयले जनाएको छ । टे्किङ सिजन सुरु भएसँगै लुक्ला पुगेका जिल्ला तथा अन्य विभिन्न भागका पर्यटन व्यवसायी सबै फर्किएका छन् । कात्तिकको अन्त्यमा सिजन सकिएको भए पनि मङ्सिरको अन्त्यसम्म भने पर्यटकको हल्का आवतजावत हुने गर्दछ । दसैँ अघिनै पर्यटक भरियाका लागि खुम्बु पुगेकाहरु समेत बाटोमा फर्कदैँ गरेको पाइन्छ । मौसम प्रतिकुलताका कारण अघिल्लो वर्षमा कतिपय पर्यटकको हवाई उडान रद्द हुँदा पर्यटन व्यवसायी प्रत्यक्ष रुपमा मारमा परेका थिए भने यसवर्ष मौसममा कुनै खराबी नआएपछि पर्यटकहरु सहजै फर्कन पाएका छन् । त्यस्तै, बढ्दो चिसोका कारण पर्यटक आउन छाडेपछि यहाँका होटल व्यवसायी जाडो छल्न काठमाडौँ तथा तराईका विभिन्न क्षेत्रमा जान थालेका छन् । पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटल सञ्चालकले काम गर्नेलाई होटल जिम्मा लगाएर आफू अन्यन्त्र हिँडेका छन् ।