मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ः०० बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुनेछ । बैठकमा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।  

राष्ट्रपतिसँग रविको भेटवार्ता, सर्वदलीय बैठकबारे ब्रिफिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा लामिछानेले सुनसरी घटनापछि विकसित परिस्थितिबारे दलहरूबीच साझा धारणा बनाउन आफूले बोलाएको सर्वदलीय बैठकका निष्कर्ष राष्ट्रपतिलाई अवगत गराएको लामिछानेको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक अवस्था, शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा कानुनी शासन कायम राख्न राजनीतिक दलहरूको भूमिकाबारे पनि छलफल भएको थियो ।  सुनसरी घटनापछि उत्पन्न परिस्थितिका विषयमा राष्ट्रिय सहमति र संयम आवश्यक रहेको भन्दै रास्वपाले बुधबार सर्वदलीय बैठक आयोजना गरेको थियो ।  उक्त बैठकमा सहभागी दलहरूले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए । राष्ट्रपतिसँग भेटवार्ताका क्रममा सभापति लामिछानेले राष्ट्रपति कार्यालयको सरकारी संयन्त्रसँग समन्वय नगरेको पाइएको छ । बैठकबारे राष्ट्रपति कार्यालयका प्रवक्तासमेत अनभिज्ञ रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। सर्वदलीय बैठकमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न सुनसरी घटनामा ९ दल एकै ठाउँ, यस्तो छ सर्वदलीय बैठकको ७ बुँदे अपील

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न

काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि विकसित परिस्थितिबारे छलफल गर्न सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकारको कार्यशैली, प्रधानमन्त्रीको नेतृत्व र संकट व्यवस्थापनको भूमिकामाथि प्रमुख राजनीतिक दलहरूले प्रश्न उठाएका छन् । यद्यपि, सबै दलले घटनाको निष्पक्ष छानबिन, सामाजिक सद्भावको संरक्षण र राजनीतिक संवादलाई प्राथमिकता दिनुपर्नेमा साझा प्रतिबद्धता जनाएका छन् ।  बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा बसेको हो । छलफलमा सहभागी नेताहरूले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच एकता, संयम र जिम्मेवार अभिव्यक्तिको आवश्यकता औंल्याउँदै कुनै पनि घटनालाई राजनीतिक ध्रुवीकरणभन्दा माथि उठेर समाधान गर्नुपर्ने धारणा राखे ।  बैठकमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङ सहभागी नभएको विषयमा उठेको जिज्ञासाको जवाफ दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दुवै जना आ–आफ्नो सरकारी तथा दलगत जिम्मेवारीमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको बताए । उनका अनुसार सरकारको प्रतिनिधित्व गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बैठकमा सहभागी भएका थिए । लामिछानेले सर्वदलीय बैठक सरकार सञ्चालन गर्ने औपचारिक संयन्त्र नभई समसामयिक राष्ट्रिय घटनाक्रममा राजनीतिक दलबीच साझा धारणा निर्माण गर्ने र सरकारलाई आवश्यक सुझाव दिने उद्देश्यले आयोजना गरिएको स्पष्ट पारे । उनले घटनाको सम्पूर्ण सत्यतथ्य सार्वजनिक नहुँदै पूर्वाग्रही निष्कर्षमा पुग्न नहुने उल्लेख गर्दै अहिलेको प्राथमिकता शान्ति, सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्नु भएको बताए । उनका अनुसार राजनीतिक दलहरूको दायित्व आरोप–प्रत्यारोपमा केन्द्रित हुनु होइन, संवेदनशील अवस्थालाई थप बिग्रिन नदिन सहकार्य गर्नु हो ।  गगनको प्रश्न : सरकार कहाँ छ ?  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संकटका बेला सरकारले अपेक्षित नेतृत्व दिन नसकेको आरोप लगाए । उनका अनुसार यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्री स्वयंले सर्वदलीय बैठक बोलाएर सबै राजनीतिक दल, राष्ट्रपति, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी साझा पहलको नेतृत्व गर्नुपथ्र्यो ।  उनले सरकारले सुरक्षा कारबाहीमा मात्रै केन्द्रित नभई नागरिकमा विश्वास जगाउने अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताए । सुनसरी घटनाको निष्पक्ष छानबिन अपरिहार्य रहेको उल्लेख गर्दै उनले संसदमार्फत पनि यो विषय उठाइने जानकारी दिए । थापाले विपद् र राष्ट्रिय संकटका बेला राजनीतिक दलहरूबीच सहकार्य गर्ने नेपालको राजनीतिक परम्परा स्मरण गराउँदै वर्तमान परिस्थितिमा पनि त्यही संस्कारलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । सरकार अझ जिम्मेवार र संवेदनशील बन्नुपर्छ ः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले वर्तमान अवस्थालाई अझ गम्भीरतापूर्वक लिएर जिम्मेवार, सक्रिय र संवेदनशील ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याए ।  उनले प्रधानमन्त्रीले सबै राजनीतिक दललाई विश्वासमा लिएर संवाद र सहमतिको वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्दै सरकारको प्रस्तुति अपेक्षाअनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी गरे ।  प्रचण्डले बल प्रयोग कुनै पनि समस्याको स्थायी समाधान हुन नसक्ने स्पष्ट पार्दै संवाद, सहमति र राजनीतिक समझदारीमार्फत मात्रै दीर्घकालीन समाधान सम्भव हुने बताए । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र स्थानीय तहमा सामाजिक सद्भाव कायम राख्न सबै पक्ष संयमित हुनुपर्ने धारणा राखे ।  साथै, संवेदनशील घटनालाई उक्साउन बाह्य तत्वसमेत सक्रिय हुन सक्ने सम्भावनातर्फ सचेत गराउँदै उनले सबै पक्षलाई उच्च सतर्कता अपनाउन आग्रह गरे ।  सर्वदलीय पहलको नेतृत्व प्रधानमन्त्रीले गर्नुपथ्र्यो ः एमाले नेकपा एमालेका महासचिव शंकर पोखरेल ले सर्वदलीय बैठक सकारात्मक पहल भए पनि त्यसको नेतृत्व प्रधानमन्त्री स्वयंले लिनुपर्ने धारणा व्यक्त गरे । उनले सरकारबाट आवश्यक राजनीतिक पहल अपेक्षाअनुसार हुन नसकेको टिप्पणी गर्दै सुरक्षा निकायको क्षमता, साधन–स्रोत, भीड व्यवस्थापन प्रणाली तथा समग्र सुरक्षा रणनीतिको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।  भविष्यमा यस्ता घटनामा मानवीय क्षति दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप सक्षम र स्रोतसम्पन्न बनाउनुपर्ने उल्लेख गर्दै उनले सामाजिक तथा साम्प्रदायिक सद्भाव जोगाउन राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा र सबै सरोकारवालालाई संयम अपनाउन आग्रह गरे ।  बैठकमा सहभागी राजनीतिक दलहरूले सुनसरी घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन् ।  साथै, सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई कमजोर पार्ने कुनै पनि गतिविधिबाट टाढा रहन सबै पक्षलाई आग्रह गर्दै राजनीतिक दलहरूले संयुक्त अपिलसमेत सार्वजनिक गरेका छन् ।