मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुरदेखि १८ तोला सुनसम्म
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा मन्त्री वादीको सम्पत्ति अन्य मन्त्रीहरूको तुलनामा केही भिन्न देखिएको छ । मन्त्री वादीले आफ्नो सम्पत्ति विवरणमा घरमा पालिएका पशुपन्छीको समेत फेहरिस्त बुझाएकी छिन् । विवरण अनुसार उनीसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको छ। यसका साथै उनीसँग अन्य विद्युतीय र सवारी साधनहरू छन् । मन्त्री वादीको नाममा एउटा स्कुटर र श्रीमानको नाममा एउटा पल्सर मोटरसाइकल तथा ३ वटा ल्यापटप र २ वटा मोबाइल छन् । आर्थिक कारोबारका हकमा उनीसँग नगद ५० हजार रुपैयाँ रहेको छ भने बैंक खातामा उनी र श्रीमानको नाममा गरी कुल १५ लाख रुपैयाँ मौज्दात रहेको छ । गरगहनातर्फ मन्त्री वादीसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख छ । यो सुनचाँदी उनले विवाहको समयमा उपहार स्वरूप प्राप्त गरेको विवरणमा खुलाइएको छ । जग्गाजमिनको विवरण अनुसार मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको एउटा जग्गा रहेको छ । सरकारले पारदर्शिताका लागि सार्वजनिक गरेको यस विवरणले मन्त्रीहरूको आर्थिक अवस्था र जीवनशैलीको झलक दिएको छ । मन्त्री वादीको विवरणमा घरपालुवा पशुपन्छी समेत उल्लेख हुनुलाई धेरैले उनको सरल र व्यावहारिक पक्षका रूपमा लिएका छन् ।
यातायातमन्त्री सुनिल लम्सालको सम्पत्ति: ९० लाख बैंक ब्यालेन्स, ३० तोला सुन र विभिन्न जिल्लामा जग्गा
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं सहकारी विकास मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण अनुसार मन्त्री लम्सालसँग उल्लेख्य बैंक मौज्दात, सुनचाँदी र विभिन्न जिल्लामा घरजग्गा रहेको छ । लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ । उनले परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत, २२ रोपनी बारी रहेको उल्लेख गरेका छन् ।
कानुनमन्त्री सोविता गौतमको सम्पत्ति : १५ तोला सुन, बैंकमा १० लाख मौज्दात र दुईवटा गाडी
काठमाडौं । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण अनुसार मन्त्री गौतमसँग सुन, चाँदी, नगद मौज्दात र सवारी साधन रहेको छ । गौतमले बैंक ब्यालेन्स स्वरुप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन् । त्यस्तै, उनले दुईवटा बैंकबाट ऋण पनि लिएको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । जस अनुसार, गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको उल्लेख गरेकी छिन् । एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख ऋण लिएको उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले १५ तोला सुन, ९ तोला चादी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् । उनले आफ्नो सम्पत्ति विवरणमा सवारी साधन खरिद गरेको विषय पनि उल्लेख गरेकी छिन् । राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख ऋण लिएर बा ०१-०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको उल्लेख गरेकी छिन् । उक्त सम्पत्ति प्राप्तिको स्रोत ऋण र तलब भएको सम्पत्ति विवरणमा उल्लेख छ । श्रीमान गृहेन्द्र घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ । उक्त गाडी ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरेर खरिद गरिएको विवरणमा उल्लेख छ ।