कांग्रेस अनुशासन समितिद्वारा कार्यवाहक सभापति खड्कासँग स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय अनुशासन समितिले चौधौँ महाधिवेशनका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । समितिको बैठक आज बुधबार ११ बजे बस्दैछ । बैठकमा खड्काले पछिल्ला दिनमा अघि बढाइरहेका गतिविधि रोक्न र तिनका कारणबारे लिखित स्पष्टीकरण माग्ने प्रस्ताव टुंग्याउने एजेन्डा रहेको समिति स्रोतले जनाएको छ । समितिले खड्काले पछिल्लो समयमा गरेका राजनीतिक तथा संगठनात्मक गतिविधि पार्टीको विधान र आन्तरिक शिष्टाचारसँग कति मेल खान्छ भन्ने विषयमा औपचारिक प्रश्नावली पठाउने तयारी गरेको समितिका एक सदस्यले जानकारी दिए । प्रारम्भिक छलफलअनुसार स्पष्टीकरणको समयसीमा तोक्ने र त्यसपछि आवश्यक निर्णयमा जाने प्रक्रियाबारे समेत बैठकले मार्गनिर्देशन गर्ने तयारी भइरहेको ती सदस्यले बताए । खड्काले कार्यवाहक सभापतिको रूपमा आफ्ना गतिविधि गरेकोमा कांग्रेस नेतृत्व रुष्ट रहेको छ । अनुशासन समितिले औपचारिक स्पष्टीकरण सोधेपछि खड्काको प्रतिक्रिया सार्वजनिक भएको आधारमा थप कारबाहीबारे सोच्ने समितिका एक सदस्यले जानकारी दिए ।

कम्युनिष्ट पार्टी एकताको पहलमा लागे नारायणकाजी, उठाए पुर्नगठनको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ कम्युनिष्ट एकताको पहलमा लागेका छन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पुराना दलहरुले नराम्रो हार व्यहोरेपछि श्रेष्ठ नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत कम्युनिष्ट पार्टीहरु एकताका लागि पहलमा लागेका हुन् ।  उनले सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर अब एकता गरेर अगाडि बढ्नुपर्ने धारणा राखेको बुझिएको छ । ओली पनि त्यसमा सकारात्मक भएको र थप छलफल गरेर अगाडि बढ्नुपर्ने धारणा ओलीले राखेको बुझिएको छ ।  श्रेष्ठले ओलीलाई अस्पतालमै गएर भेटवार्ता गरेको पार्टीको नेताहरुले बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा २०८३ सालको शुभकामना दिँदै उनले निर्वाचनपछिको विकसित राष्ट्रिय परिस्थितिमा नेपाली कम्युनिस्ट शक्तिहरूले निराशा र पलायन हुन नहुने उल्लेख गर्दै पुर्नगठनको प्रक्रियामा अगाडि बढ्नुपर्ने बताएका छन् ।  ‘समग्र परिस्थितिको गम्भीर समीक्षा, निर्मम आत्मसमीक्षा, वस्तुनिष्ठ निष्कर्षसहित समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठनको प्रक्रिया अघि बढाउने दृढ सङ्कल्प गर्नु जरुरी छ । नयाँ वर्षलाई सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूले निजी स्वार्थबाट माथि उठेर गतकालका गल्ती कमजोरीहरू सच्याउँदै त्यस दिशामा अभिमुख हुने अवसर बनाउन सकौैं,’ उनले भनेका छन् ।  उनले अगाडि भनेका छन्, ‘हालै सम्पन्न निर्वाचनमा जनताको तर्फबाट सुशासन र रोजगारी मूल रहेको उक्त उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर परिवर्तनको आकाङ्क्षालाई मतादेशमा अभिव्यक्त गरिएको छ । तसर्थ जनताको अपेक्षा अनुसार नयाँ वर्षमा वर्तमान सरकारलाई त्यस दिशामा परिणाममुखी कार्य गर्ने सफलता प्राप्त हुन सकोस् ।’

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितका सहकार्य गर्न आवश्यकः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राखेका छन् । नयाँ वर्ष २०८३ को अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना व्यक्त गर्दै उहाँले शान्त, सभ्य, सुसंस्कृत र आर्थिक रूपले समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकाय एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । सभापति थापाले नेपाली जनताको लामो त्याग, सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण गर्दै, भविष्यमा देखापर्ने राष्ट्रिय चुनौतीको सामना एकताबद्ध रूपमा गर्ने दृढ सङ्कल्प र अठोटका साथ अघि बढ्नुपर्ने बताए ।  उनले नवीन अवसरको सदुपयोग गर्दै सुशासन सुदृढ पार्दै आर्थिक विकास र समृद्धिको मार्गमा दृढतापूर्वक अघि बढ्नुपर्ने महत्वपूर्ण घडी आएको उल्लेख गरे । नयाँ वर्षले सबै नेपालीबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाओस् भनी कामना गर्दै उनले आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरे ।