राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद् बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव रहने व्यवस्था छ ।  

आज बस्दै प्रतिनिधिसभा बैठक, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ ।

रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन मनोनीत, सचिवालय गठन र क्यान्डिडेट क्लब घोषणासहित १२ निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई  पार्टीको वरिष्ठ नेता मनोनित गरेको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा शाहलाई सर्वसम्मत रूपमा वरिष्ठ नेता बनाउने निर्णय गरिएको हो । बैठकले पार्टी विधान बमोजिम सभापतिसहित निर्वाचित पदाधिकारीहरू रहने गरी पार्टी सचिवालय गठन गरेको छ ।  सचिवालयमा उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सह-महामन्त्रीत्रय असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन् । महाधिवेशनको विस्तृत समीक्षा गर्दै रास्वपाले वडादेखि केन्द्रसम्मका कमी-कमजोरीबाट पाठ सिकेर अघि बढ्ने निर्णय गरेको छ ।  आगामी स्थानीय तह निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्न भाद्र १ गतेदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुल्ला गर्ने र मन्त्रीहरूसँग महिनाको कम्तीमा एक दिन पार्टी कार्यालयमा अनिवार्य संवाद गर्ने निर्णय पनि गरिएको छ । यसैगरी, अन्तर्राष्ट्रिय युवा दिवस २०२६ मनाउन कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा समिति गठन गरिएको छ भने नागरिकका समस्या सुन्न केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा पार्टी प्रतिनिधिहरूको दैनिक उपस्थिति अनिवार्य गरिएको छ ।  बैठकले आत्महत्या वा आत्मदाह जस्ता दुःखद घटनाका सामग्री सामाजिक सञ्जालमा सेयर नगर्न आफ्ना सदस्यहरूलाई कडा निर्देशन समेत दिएको छ ।