खड्काको आरोप– विशेष महाधिवेशन अवैधानिक, स्पष्टीकरण सोध्नु अर्थहीन

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति तथा नेता पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यसबाट बनेको नेतृत्व र निर्णयलाई आफूले मान्यता नदिएको स्पष्ट पारेका छन् । खड्काले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कार्यवाहक सभापतिको हैसियतमा आफू सर्वोच्च अदालत गएको उल्लेख गर्दै विशेष महाधिवेशन, त्यसबाट निर्वाचित पदाधिकारी तथा निर्वाचन आयोगको निर्णय संविधान, पार्टी विधान र स्थापित नजिरविपरीत रहेको दाबी गरेका छन् । खड्काका अनुसार उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम निर्णय नआएसम्म त्यसलाई वैधानिक मान्न नसकिने अवस्था छ । ‘मैले अवैधानिक भनेर मुद्दा दायर गरेको समितिबाट मलाई स्पष्टीकरण सोध्नुको कुनै अर्थ छैन,’ खड्काले भने, ‘यो हास्यास्पद कुरा हो ।’ उनले विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले बाँडेको टिकट लिएर प्रतिनिधिसभा निर्वाचनमा जानु राजनीतिक रूपमा अनैतिक हुने निष्कर्ष निकाल्दै आफू चुनाव नलडेको पनि स्पष्ट पारे । खड्काले सबै पक्षलाई सर्वोच्च अदालतको निर्णय कुर्न आग्रह गर्दै अन्तिम फैसला आएपछि मात्र त्यसअनुसार अघि बढ्नुपर्ने पनि बताए ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बुधबार केन्द्रीय कार्यालय, सानेपामा बैठक सुरु भएको हो । बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यता लगायत विषयमा छलफल हुने जनाइएको छ ।  त्यसैगरी, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमा भइरहेका साइबर बुलिङलगायत विषयमा छलफल गर्ने दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ ।

कांग्रेसले पूर्णबहादुरलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।  कांग्रेसको लेटरप्याड दुरुपयोग गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।  समितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०७२/१२/१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छ भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो। यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’