पार्टी त्यागेपछि एमालेले गुमायो मेयरसहित ६ जना जनप्रतिनिधि

काठमाडौं । दल त्याग गरेपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी-लेनिनवादी) अर्थात् नेकपा एमालेबाट निर्वाचित ६ जना जनप्रतिनिधिले पद गुमाएका छन् । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी-लेनिनवादी)बाट निर्वाचित ६ जना जनप्रतिनिधिले दल त्याग गरेको ठहर गर्दै उनीहरूको पद रिक्त भएको जनाएको हो ।

आयोगका अनुसार मोरङको बेलबारी नगरपालिका-३ का वडा अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, जाजरकोटको भेरी नगरपालिका-१० का वडा अध्यक्ष दलबहादुर राना, खोटाङको दिक्तेल-रूपाकोट मझुवागढी नगरपालिका-१४ का वडा अध्यक्ष दिनेशकुमार राई, खोटेहाङ गाउँपालिका-४ का वडा सदस्य प्रदीप आचार्य, रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल शाह कानु तथा सोही नगरपालिकाको वडा नं. ४ का वडा अध्यक्ष रामप्रवेशप्रसाद कुर्मीको पद रिक्त भएको हो ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित राजनीतिक दलबाट प्राप्त जानकारीका आधारमा उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको निर्णय गरेको जनाएको हो ।

आयोगका अनुसार नेकपा (एमाले) केन्द्रीय सचिवालयले सम्बन्धित जनप्रतिनिधिले पार्टी विधान विपरीत गतिविधि गरी दल परित्याग गरेको निर्णयसहितको जानकारी आयोगमा पठाएको थियो । सोही आधारमा आयोगले साउन १४ गते उनीहरूको पद रिक्त भएको निर्णय गरेको हो ।

Share News