सुदूरपश्चिम रास्वपाका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशका रास्वपा सांसदहरूसँगको छलफल जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार (आज) बिहान ११ बजेबाट छलफल सुरु भएको हो । सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनालले प्रधानमन्त्रीसँग छलफल गरिरहेका हुन्। समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ । दलका नेता भिष्मराज आङदेम्बेको अध्यक्षतामा बैठक सुरु भएको हो । सांसद नरेन्द्रकुमार केरुङका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । बैठकमा संसदीय गतिविधि, विभिन्न संसदीय समितिका प्रतिवेदन तथा संसद्को कार्यसूचीका विषयमा पनि समीक्षा भइरहेको छ । त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा नेपाली कांग्रेसको भूमिका तथा आगामी रणनीतिबारे सांसदहरूबीच छलफल हुने जनाइएको छ ।
कोशीमा मुख्यमन्त्री विवाद : समाधान खोज्न एमालेको संयुक्त बैठक सुरु
काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषयलाई लिएर नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न पार्टी र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । एमाले कोशी प्रदेश कमिटीको आयोजनामा भइरहेको बैठकमा पार्टीका सचिव तथा प्रदेश इन्चार्ज शेरधन राई, संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेशसभा सदस्यहरू सहभागी छन् । पार्टी र संसदीय दलबीच नयाँ सरकार गठनको विषयमा देखिएको मतभेद समाधान गर्न संयुक्त बैठक बोलाइएको एमाले कोशी प्रदेशले जनाएको छ । यसअघि आइतबार दिनभर मुख्यमन्त्री परिवर्तनको विषयमा आन्तरिक छलफल भएको थियो । त्यसको निरन्तरतास्वरूप सोमबार प्रदेशसभा सदस्यसहितको संयुक्त बैठक आयोजना गरिएको हो । बैठकमा नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच भएको तीनबुँदे सहमतिपछि नयाँ सरकार गठनको प्रक्रियालाई लिएर पार्टीभित्र उत्पन्न विवादबारे छलफल भइरहेको छ । बैठकबाट विवाद समाधान गर्दै पार्टीको साझा धारणा तय गर्ने प्रयास भइरहेको एमाले स्रोतले जनाएको छ ।