काठमाडौं । नेकपा एमालेले सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ ।
मंगलबार (आज) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद पद्मा अर्यालले सुकुमवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले एमाले नेतृत्वको सरकारले पहिलोपटक भूमि नीति र भू–उपयोग कानुन निर्माण गरेको उल्लेख गर्दै ती कानुनी आधार अहिले कार्यान्वयनको चरणमा पुगेको बताइन् ।
‘हामीले पहिलोपटक भूमि नीति बनायौं, भू–उपयोग कानुन बनायौं। त्यसको वर्गीकरण अहिले कार्यान्वयनको दिशातर्फ अघि बढिरहेको छ । यसले भविष्यका लागि बलियो आधार तयार गरेको छ,’ अर्यालले भनिन्, ‘सुकुमवासीको पीडा हामीले बुझेका छौं, त्यसैले समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार छौं ।’
अर्यालले सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या एकअर्कासँग गाँसिएको विषय भएकाले दुवैलाई समेटेर एकीकृत ढंगबाट समाधान खोज्नुपर्ने आवश्यकता पनि औंल्याइन् ।
उनले भूमि व्यवस्थापनलाई राजनीतिक मुद्दा नभई नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राख्दै समस्या समाधानमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन् ।