राष्ट्रका नाममा सम्बोधनपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन

तराई-मधेसको अवस्था र सेना परिचालनबारे गराए राष्ट्रपतिलाई ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन् ।

सुनसरीबाट सुरु भई तराई-मधेशका विभिन्न जिल्लामा फैलिएको तनाव र त्यसबाट उत्पन्न सुरक्षा अवस्थाबारे देशवासीका नाममा सम्बोधन गरेपछि प्रधानमन्त्री शाह राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।

शीतल निवासका अनुसार प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई तराई-मधेशमा उत्पन्न तनाव साम्य पार्न सेना परिचालन भए/ गरेको जानकारी गराए ।

राष्ट्रपतिलाई सुनसरी, सिरहा लगायत जिल्लामा भइरहेको तनाव र समस्या समाधानका लागि सरकारले गरिरहेको प्रयासबारे प्रधानमन्त्रीले ब्रिफिङ गरेको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति सेनाको परमाधिपति समेत हुन् । प्रधानमन्त्रीले सम्बोधनका क्रममा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गर्दै अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन अपिल गरेका थिए । 

उनले सरकार शान्ति-सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको र हिंसामा संलग्न जो-कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका थिए ।

शीतल निवासमा भइरहेको भेटमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, तराई-मधेशमा विकसित घटनाक्रम तथा सरकारले अघि बढाएका सुरक्षा र शान्ति स्थापनासम्बन्धी प्रयासबारे छलफल हुने जनाइएको छ ।

Share News