रास्वपाको वाचाः सांसद मन्त्री बन्न नपाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि ‘वाचा पत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले बिहीवार कर्णाली प्रदेशको सुर्खेतमा एक सभाका बीच वाचा पत्र सार्वजनिक गरेको हो ।  पार्टीले सार्वजनिक गरेको वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कुटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरेको छ । पार्टीले रुपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधारहरू समेत सार्वजनिक वाचा पत्रमा उल्लेख गरेको छ ।  पार्टीले आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै दलित तथा पछाडि पारिएका समुदायसँग औपचारिक रुपमा क्षमा याचना गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रण गर्ने वाचा गरेको छ । २०८२ भदौ २३, २४ मा भएको जेन–जी आन्दोलनका घटनाको छानबिन प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता समेत पार्टीले गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसद मन्त्री हुन नपाउने रास्वपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने घोषणा गरेको छ । साथै पूर्ण समानुपातिक संसदीय व्यवस्था र सांसद मन्त्री नहुने व्यवस्था र गैरदलीय स्थानीय सरकारजस्ता एजेण्डासहित संविधान संशोधनका लागि राष्ट्रिय बहस थाल्ने वाचा गरेको छ । सार्वजनिक पदमा रहेका सबैको सम्पती छानविन गरी अवैध सम्पती जफत तथा राष्ट्रियकरण गर्नेगरी कार्यविधि बनाउने घोषणा समेत पार्टीले गरेको छ । सरकारी सेवामा दलगत आवद्धता अन्त्य गर्ने, भ्रातृ संगठन नबनाउने र निजामती प्रशासनलाई ‘थोरैले धेरै सेवा दिने’, तटस्थ संरचनामा रूपान्तरण गर्ने योजना समेत समावेश गरेको छ । सबै सरकारी सेवा अनलाइनबाटै पार्टीले सरकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमा लैजानुका साथै राष्ट्रिय परिचयपत्रमार्फत एकीकृत डाटाबेस निर्माण गर्ने र ‘डिजिटल सर्भिस डेलिभरी‘ समयबद्ध रूपमा लागू गर्ने योजना अघि सारेको छ । फाइल प्रक्रियामा समयसीमा तोकी ढिलाइ भए स्वतः स्वीकृति वा जबाफदेही बनाउने प्रणाली लागु गर्ने वाचा समेत रास्वपाले गरेको छ । वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि पार्टीले आगामी पाँच वर्षमा औसत ७ प्रतिशत वार्षिक आर्थिक वृद्धि हासिल गरी प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्याउने घोषणा गरेको छ । कर प्रणालीलाई सरलीकरण गर्दै व्यक्तिगत र संस्थागत करको बोझ हटाउने वाचा पनि पार्टीले गरेको छ । निजी क्षेत्रसँग उन्नत समझदारी गर्ने तथा करिब दुई दर्जन असान्दर्भिक कानून खारेज गर्ने रास्वपाको योजना रहेको पनि सार्वजनिक वाचापत्रमा उल्लेख छ । सहकारी र लघुवित्त क्षेत्रलाई कडा नियमनमा ल्याउने, साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गर्ने र ‘एकीकृत बचत सुरक्षा कोष’ स्थापना गर्ने प्रतिवद्धता पनि पार्टीले गरेको छ । राष्ट्रिय रणनीतिक उद्योग र सातै प्रदेशमा डिजिटल पार्क राष्ट्रिय स्वतन्त्र पार्टीले सूचना प्रविधिको क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै हालको डेढ अर्ब डलर निर्यातलाई १० वर्षमा ३० अर्ब डलर पुर्‍याउने घोषणा गरेको छ । सातै प्रदेशमा ‘डिजिटल पार्क’ निर्माण गरी सूचना प्रविधिको क्षेत्रमा ५ लाख रोजगारी सिर्जना गर्ने पार्टीको लक्ष्य रहेको छ । क्रिप्टोकरेन्सी नियमन, डाटा सेन्टर विकास, एआई कम्प्युटिङ निर्यात तथा रिमोट वर्कलाई कानुनी मान्यता दिने नीति लागु गर्ने पनि सार्वजनिक वाचा पत्रमा उल्लेख गरिएको छ । ऊर्जा विकास दशक घोषणाः ३० हजार मेगावाट जडित क्षमता हासिल गर्ने लक्ष्य पार्टीले आगामी दशकमा ३० हजार मेगावाट जडित क्षमता हासिल गर्ने लक्ष्यसहित ऊर्जा विकास दशक घोषणा गर्ने वाचा गरेको छ । ऊर्जा आयोजनाका लागि एकद्वार सेवा, निजी क्षेत्रको संलग्नता विस्तार र छिमेकी मुलुकसँग दीर्घकालीन ऊर्जा व्यापार सम्झौता गर्ने पनि पार्टीले वाचा गरेको छ । रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना, मेची–महाकाली विद्युतीय रेल, प्रमुख सहरसम्म शाखा मार्ग तथा चीन–भारत रेल सञ्जालसँग जोड्ने दीर्घकालीन योजना पार्टीको वाचापत्रमा उल्लेख छ । रास्वपाको विदेश नीति र कुटनीतिः भाइब्रेन्ट ब्रिज नेपाललाई बफर स्टेटबाट ‘भाइब्रेन्ट ब्रिजमा रूपान्तरण गर्ने अवधारणासहित सन्तुलित कुटनीति अवलम्बन गर्ने नीति पार्टीको रहेको उल्लेख छ । प्रवासी नेपालीलाई दोहोरो नागरिकताको नीति पनि पार्टीले लिएको जनाएको छ । विदेशबाट मतदानको अधिकार र राष्ट्रिय ज्ञान बैंक स्थापना गर्ने वाचा पनि पार्टीले गरेको छ । सत्ता पुगेपछि बिग्रिने राजनीतिक संस्कृतिबाट टाढा रहने प्रतिवद्धता जनाउँदै पार्टीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र आन्तरिक अनुशासन संयन्त्र बलियो बनाउने वाचा पनि गरेको छ । 

एमालेको घोषणा : प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, वार्षिक ५ लाख रोजगारी सिर्जना

काठमाडौं । नेकपा एमालेले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ ।  एमालेले आसन्न निर्वाचलाई लक्षित गर्दै सार्वजानिक गरेको घोषणापत्रमा समतामूलक द्रुत आर्थिक विकासमार्फत चरम गरिबीको अन्त्य गरी प्रतिव्यक्ति आय करिब ३ हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख छ ।  आगामी आधा दशकमा अर्थतन्त्रको आकार एक खर्बले वृद्धि गर्ने र एक दशकमा दुई खर्बले वृद्धि गर्ने लक्ष्य राखिएको छ । कृषि उत्पादन, विद्युत उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्ने एमालले जनाएको छ ।  पाँच वर्षमा अर्थतन्त्रको आकार एक सय खर्ब रुपैयाँ र दश वर्षमा दुई सय खर्ब रुपैयाँ पुर्‍याउने एमालेको लक्ष्य छ। कृषिको आधुनिकीकरण गर्ने, लगानीमैत्री तथा उत्पादनमैत्री नीतिहरू लागू गर्ने, वित्तीय क्षेत्रको पूँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, पूँजी बजारको विकास र सुदृढीकरण गर्दै आन्तरिक तथा बाह्य पुँजी आकर्षित गर्ने एमालेको योजना छ ।  आर्थिक वृद्धिमा गुणात्मक प्रभाव पार्ने क्षेत्रमा राज्यको लगानी बढाउने, बजेटको प्रभावकारी कार्यान्वयन, समयपालना र गुणस्तर सुनिश्चित गर्ने, राष्ट्रिय प्राथमिकताका आयोजना कार्यान्वयनका लागि मात्र सार्वजनिक ऋण लिने र सार्वजनिक ऋण राष्ट्रिय सामथ्र्यभन्दा बढी हुन नदिने एमालेको घोषणापत्रमा उल्लेख छ । आगामी पाँच वर्षमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने एमालेको लक्ष्य छ ।  वार्षिक ५ लाख रोजगारी सिर्जना एमालेले वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अगाडि सारेको छ । रोजगारीको अवसरलाई दोब्बर बनाउँदै वैदेशिक रोजगारीमा जाने बाध्यता घटाउने एमालेले जनाएको छ । कृषि आधुनिकीकरण, व्यवसायिक खेती, खाद्य प्रशोधन उद्योग, भौतिक पूर्वाधार निर्माण, हरित उद्योग र सेवा क्षेत्रमा रोजगारी वृद्धि गरिने उल्लेख छ । सीपमूलक शिक्षा, आईटी, डिजिटल र रिमोट रोजगारीका अवसर विस्तार गर्ने, प्रत्येक पालिकामा श्रम डेस्क स्थापना गरी श्रमिकको दर्ता, सीप विकास र सामाजिक सुरक्षामा आवद्धता सुनिश्चित गर्ने, मजदुरको शोषण अन्त्य गर्दै मर्यादित काम, उचित ज्याला र रोजगारीको सुरक्षा सुनिश्चित गरी पाँच वर्षमा श्रम आय दोब्बर बनाउने एमालेको योजना छ ।  वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सस्तो ऋण, आवश्यक तालिम र सुरक्षा सुनिश्चित गर्ने र फर्किएका श्रमिकलाई सीपअनुसार उद्यम सञ्चालनमा सहयोग गर्ने, विदेशी लगानीका लागि अनुकूल वातावरण बनाउने, चीन र भारतजस्ता छिमेकी राष्ट्रसँगको आर्थिक सम्भावनालाई उपयोग गरी नेपाललाई ‘लजिस्टिक हब’का रूपमा विकास गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।  न्युन आय भएकालाई सहुलियत ऋणमार्फत घर वा अपार्टमेन्ट खरिदमा सहयोग  एमालेले सुरक्षित, सम्मानजनक वासः आधुनिक र नागरिकमैत्री आवासको नारा अगाडि सारेको छ । भूमिहीन, सुकुम्वासी, कमजोर तथा न्यून आय भएका नागरिकलाई आधारभुत सेवासहित सुरक्षित आवास उपलब्ध गराउने एमालेको घोषणापत्रमा उल्लेख छ । ‘नागरिक आवास कोष’ स्थापना गरी सार्वजनिक–निजी सहकार्यमा आवास विकास गर्ने र कुनै पनि नागरिक आवासविहीन हुन नपर्ने व्यवस्था गर्ने एमालेको लक्ष्य छ । न्युन आय भएका परिवारलाई सहुलियत ऋणमार्फत घर वा अपार्टमेन्ट खरिदमा सहयोग गर्ने एमालेको योजना छ ।  एकीकृत बस्ती विकास, जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण तथा पूर्वाधारयुक्त आवास निर्माणलाई प्रोत्साहन गरिन जनाईएको छ । गाउँलाई उत्पादन र श्रमको केन्द्र तथा शहरलाई पूँजी, प्रविधि, सेवा र बजारको केन्द्रका रूपमा विकास गर्ने, उपमहानगर र महानगरलाई वित्तीय, औद्योगिक, व्यापारिक, शैक्षिक, स्वास्थ्य र नवप्रवर्तन केन्द्रका रूपमा विकास गरी ‘मेगा सिटी’ बनाइने उल्लेख छ ।  मध्यपहाडी लोकमार्ग, कोशी–गण्डकी–कर्णाली करिडोर र हुलाकी राजमार्गलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने, गाउँमा स्वास्थ्य, शिक्षा, सीप विकास, डिजिटल पहुँच र रोजगारीका अवसर विस्तार गर्ने, शहरमा फोहर व्यवस्थापन, खुला तथा हरित क्षेत्र निर्माण गर्ने, खानेपानी पाइप, ढल तथा वर्षाको पानी निकास, विद्युत तार, फाइबर अप्टिक्सलगायतका सार्वजनिक उपयोगिताका पूर्वाधारहरूलाई समन्वयात्मक रूपमा आधुनिक, व्यवस्थित र दिगो बनाउन सबै उप–महानगरहरूमा ‘युटिलिटी टनेल’ निर्माण गर्ने, देशका सहरहरूमा ‘अण्डरग्राउन्ड युटिलिटी करिडोर’ निर्माण गर्ने एमालेको लक्ष्य छ । गाउँ–नगर–शहरलाई क्रमशः ‘फोहर शून्य क्षेत्र’ घोषणा गर्ने, हरित क्षेत्र, पार्क, पुष्प बगैंचा, नदी किनार संरक्षण र वृक्षारोपण अभियान सञ्चालन गर्ने, प्रत्येक उप–महानगरमा स्याटेलाइट शहर विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।  आगामी २ वर्षभित्र सबै घरमा आधारभूत खानेपानी एमालेले आगामी २ वर्षभित्र सबै घरमा आधारभुत खानेपानी तथा सरसफाइको पहुँच पु¥याउने योजना अगाडी सारेको छ । ५ वर्षभित्र स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानीमा सबैको पहुँच सुनिश्चित गर्ने एमालेको लक्ष्य छ । सबै नेपालीलाई चौबीसै घण्टा, सातै दिन सुरक्षित पिउने पानी उपलब्ध गराउन ‘पानीको स्रोतदेखि उपभोक्ताको धारासम्म’ गुणस्तर सुधार गर्ने र खानेपानी व्यवस्थापनमा जिआईएस नक्शांकन प्रणाली लागू गर्ने घोषणापत्रमा उल्लेख छ ।  दैलेखको ग्यास तथा धौवाडी फलाम खानीको व्यावसायिक उत्पादन गर्ने  दैलेखको ग्यास तथा धौवाडी फलाम खानीको व्यावसायिक उत्पादन गर्ने विषयलाई पनि एमालेले आफ्नो घोषणापत्रमा समावेश गरेको छ । उत्पादनमूलक उद्योग, खानी, विद्युत, खानेपानी तथा निर्माण क्षेत्र विस्तार गरी कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान दोब्बर बनाउने एमालेको योजना छ । उद्योग स्थापना, सञ्चालन, नाफा, लगानी फिर्ता, कर, भन्सार र वित्तीय सेवामा नीतिगत स्थायित्व कायम गर्ने, ‘एकल बिन्दु सेवा केन्द्र’बाट उद्योगसम्बन्धी सम्पूर्ण सेवा अनलाइन उपलब्ध गराउने, प्रत्येक प्रदेशमा कम्तीमा एक ‘विशेष आर्थिक क्षेत्र’ सञ्चालन गर्ने एमालेको योजना छ ।  सार्वजनिक निकायले सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने कानूनी व्यवस्था लागू गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ । तीन वर्षभित्र निर्यात दोब्बर र पाँच वर्षभित्र तेब्बर बनाउने योजना अगाडी सारिएको छ । ‘निर्यात पहिलो’ नीति लागू गरी प्रशोधित कृषि उत्पादन, सूचना प्रविधि, विद्युत्, औद्योगिक उत्पादन, बहुमूल्य खनिज तथा वित्तीय सेवाको निर्यातलाई विस्तार गर्ने एमालेको योजना छ । भारत र चीनसँगको व्यापारिक पहुँच अधिकतम उपयोग गरि बन्दरगाह तथा भन्सार प्रणाली आधुनिकीकरण गरी ४८ घण्टाभित्र जाँचपास सम्पन्न गरिने व्यवस्था गर्ने उल्लेख छ ।  एमालेले सहकारी क्षेत्रलाई पारदर्शी बनाएर बचतकर्ताको रकम सुरक्षित गर्न कडा नियमन व्यवस्था लागू गर्ने र समस्याग्रस्त सहकारीको छानबिन गरी कानुनी कारबाही गर्ने प्रतिवद्धता जनाएको छ । सहकारीलाई उत्पादन, प्रशोधन र बजार व्यवस्थापनमा केन्द्रित गरी सहकारीमार्फत साना उद्यम र कृषकलाई वित्तीय पहुँच विस्तार गरिने घोषणापत्रमा उल्लेख छ । नेपाललाई सुरक्षित, आकर्षक र विविध पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, विद्यालय शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र रोजगारमुखी बनाइने, प्राथमिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पु¥याइने, डिजिटल पूर्वाधार विस्तार गर्दै सबै सार्वजनिक सेवा अनलाइन प्रणालीमा रूपान्तरण गर्ने, ई–गभर्नेन्स प्रणाली सुदृढ गरी सेवा प्रवाह छिटो, पारदर्शी र प्रभावकारी बनाउने, जलविद्युत् उत्पादन वृद्धि गरी आन्तरिक खपत र निर्यात बढाउने, वैकल्पिक ऊर्जामा लगानी प्रोत्साहित गर्ने, सडक, रेलमार्ग, हवाई सेवा र द्रुतमार्ग विस्तार गर्ने, युवा उद्यम, स्टार्टअपलाई प्रोत्साहन, सहुलियत ऋण र नवप्रवर्तन केन्द्र स्थापना गर्ने, खेलकुद पूर्वाधार विकास गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।  भ्रष्टाचार नियन्त्रणमा कडा कदम चालिने, सार्वजनिक सेवा प्रवाह पारदर्शी गर्ने, न्यायिक, प्रशासनिक र वित्तीय सुधारमार्फत सुशासन सुदृढ गर्ने लगायतका एमालेले देश समृद्ध बनाउने २५ स्तम्भ घोषणापत्रमा समावेश गरेको छ । एमालेले घोषणापत्रमा आफूले विगतमा गरेका कार्यहरुको समेत उल्लेख गरेको छ । एमालेले केही भएन भन्ने भ्रमबाट मुक्त भएर तथ्यमा विश्लेषण गर्न सबैलाई आह्वान समेत गरेको छ ।  एमालेले घोषणापत्रमा विकासको लागि ५ आधारभुत घोषणा, ११ वटा मन्त्रीपरिषद्वाट तत्काल गर्ने काम र २५ वटा समृद्धिका स्तम्भ उल्लेख गरेको छ । पाँच आधारभुत घोषणामा देश पहिला, परिपुर्ण लोकतन्त्र, संविधान, कानूनको सर्वोच्चता र सुशासन, भ्रम होइन, तथ्यमा विश्वास गरौं, समृद्धिको युगतर्फ नेपाल र मैत्रीपूर्ण विदेश सम्बन्धलाई उल्लेख गरेको छ ।  

सेयर लगानीकर्ता, व्यवसायीदेखि पूर्वप्रहरीको भीडन्त

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पूर्वी पहाडी जिल्ला ओखलढुंगामा विभिन्न दलका चुनावी रथ गाउँ–वस्ती पुग्न थालेका छन् । जिल्लालाई निर्वाचनको पछ्यौरीले छपक्कै छोपेको अनुभव गर्न सकिन्छ । पछ्यौरीको सप्कोभित्र यस पटकको ओखलढुंगे चुनाव विगतभन्दा अलि फरक देखिन्छ ।  ओखलढुंगामा यसअघि प्रतिनिधि सभामा पुगिसकेका कुनै पनि उम्मेदवारलाई दलहरूले दोहोर्याएका छैनन् । परिणामतः पूर्ण रूपमा नयाँ अनुहारबीच प्रतिस्पर्धा हुँदैछ । नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित १३ राजनीतिक दल र २ स्वतन्त्र गरी १५ उम्मेदवार यहाँको चुनावी मैदानमा छन् । नेकपा एमालेले लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापालाई मैदानमा उतारेको छ । कांग्रेसले कुमार लुइँटेललाई मैदानमा उतार्दा नेकपाले अम्बिर गुरुङलाई उम्मेदवार बनाएको छ । रास्वपाले विश्वराज पोखरेललाई उम्मेदवार बनाएर मैदानमा पठाएको छ । एमालेकी थापा लिखुकी वहालवाला उपाध्यक्ष हुन् । उनले भर्खरै राजीनामा दिएर संसदीय प्रतिस्पर्धाको बाटो रोजेकी हुन् । कांगे्रसका लुइँटेल पार्टीका महासमिति सदस्य तथा सेयर लगानीकर्ता हुन् । नेकपाका गुरुङ व्यवसायी तथा कोशी प्रदेशका पूर्वमन्त्री हुन् । रास्वपाका पोखरेल नेपाल प्रहरीका सेवानिवृत्त उच्च अधिकारी हुन् । यी चार दलका उम्मेदवारसँगै १५ उम्मेदवार अहिले गाउँगाउँ पुगिरहेका छन् । उम्मेदवारहरूको चुनावी एजेण्डासँगै चुनाव गाउँमा पुग्न लागेको स्थानीय जीवन परियार बताउँछन् । उनका अनुसार यो चुनाव केवल पार्टीबीचको प्रतिस्पर्धा मात्र होइन, नयाँ सोच, नयाँ शैली र नयाँ प्रतिबद्धताको परीक्षणसमेत बनेको छ । मतदाताका माग र नेतृत्वप्रतिका आकांक्षा फरक छन् । एकथरिलाई नीति चाहिएको छ । नीतिगत सुधार खोज्ने एकजना छन् खिजिदेम्बाका वेदबहादुर रोक्का । उनी चुनावी भीडबाट अलग उभिएर भन्छन्, ‘अब व्यक्तिको चर्चा होइन, नीतिको बहस हुनुपर्छ । विकासका लागि नेतृत्वले निकास दिनुपर्छ ।’  रोक्काको बुझाइमा संघीय संसद्‌मा पुग्ने प्रतिनिधिले स्थानीय आवश्यकता कानुनी र संस्थागत रूपमा सम्बोधन गर्न सक्नुपर्छ । उनी दीर्घकालीन योजना र अधुरा आयोजनाको निरन्तरतामा जोड दिन्छन् । उनी भन्छन्, ‘बजेटको पारदर्शी उपयोग र अनुगमन संयन्त्र सुदृढीकरण अहिलेको आवस्यकता हो । हरेक चुनावमा सडक, अस्पताल, विद्यालयका कुरा आउँछन् तर कानुनी आधार बलियो नभएसम्म योजना टिकाउ हुँदैन ।’ विकासलाई व्यक्तिनिर्भर होइन, प्रणाली निर्भर बनाउनुपर्ने उनको धारणा छ । तर लिखुका डेण्डी शेर्पा पूर्वाधार निर्माण पहाडको प्राथमिक आवश्यकता भएको दाबी गर्छन् । स्थानीय अर्जुन गौतम पनि शेर्पाकै कुरामा सहमत छन् । दुवै जना प्रतिनिधिले पूर्वाधारलाई पहिलो प्राथमिकता राख्नुपर्ने बताउँछन् । दुवै जना गुणस्तर खस्किएका विद्यालय भवन, विज्ञ चिकित्सक र आवश्यक उपकरण नरहेको अस्पतालमा आफ्ना सांसदहरूले ध्यान दिऊन् भन्ने चाहना राखेको बताउँछन् । उनीहरूका अनुसार सडक, पुल, सिँचाइ र सञ्चार सुविधा बलियो नभएसम्म कृषि, पर्यटन वा उद्योग विकासको कुरा अपूर्ण रहन्छ । रामपुरका कमल दाहाल सांसदले बनाएको नीति हाम्रो जीवनसँग जोडिनुपर्ने बताउँछन् । भन्छन्, ‘संसदमा पुगेको सांसदले नीति बनाउने हो, तर त्यो हाम्रो जीवनसँग जोडिनुपर्छ । नीति स्थानीय आवश्यकता सँगै अघि बढ्नुपर्छ ।’ मतदाताका विचारबाट ओखलढुङ्गामा पूर्वाधार विकास अझै केन्द्रमै रहेको स्पष्ट हुन्छ । प्रतिस्पर्धीका वाचा सुशासन र पारदर्शिता सबैजसो उम्मेदवारले भ्रष्टाचार नियन्त्रण, बजेटको पारदर्शिता र डिजिटल प्रणालीमार्फत सेवा प्रवाह सहज बनाउने प्रतिबद्धता जनाएका छन् । एमालेकी थापाले संघीय संरचनालाई प्रभावकारी बनाउन संसदमा सक्रिय भूमिका खेल्ने दाबी गरेकी छन् । सदरमुकामसँग सबै वडाको पक्की सडक जोड्ने, पुल निर्माण र वैकल्पिक सडक सञ्जाल विस्तार गर्ने योजना उनको प्रतिबद्धता बनेको छ । रास्वपाका पोखरेल इन्टरनेट र सञ्चार पहुँचलाई विकासको आधार मान्छन् । नेकपाका गुरुङ कृषिको आधुनिकीकरण, कृषि उत्पादन वृद्धि, सिँचाइ विस्तार, बीउ–बिजनको उपलब्धता र बजार सुनिश्चितता आफ्नो एजेन्डामा रहेको बताउँछन् । कृषि उत्पादनलाई ब्रान्डिङ गरेर राष्ट्रिय बजारसम्म पु¥याउने योजना रहेको गुरुङको दाबी छ । कांग्रेसका लुइँटेल पर्यटन प्रवद्र्धन, पदमार्ग, धार्मिक स्थल र होमस्टे विकासमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धता सुनाउँछन् । स्वास्थ्य र शिक्षामा बहस ओखलढुंगामा विशेषज्ञ चिकित्सकको अभाव पुरानै समस्या हो । उम्मेदवारहरूले जिल्ला अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार र एम्बुलेन्स सुविधा सुदृढ गर्ने वाचा गरेका छन् । शिक्षातर्फ प्राविधिक शिक्षा, छात्रवृत्ति र विद्यालय पूर्वाधार सुधारलाई प्राथमिकतामा राखिएको थापाले जानकारी दिइन् । सबै उम्मेदवारहरूको आसय युवा बाहिर जान बाध्य नहोउन् भन्ने देखिन्छ । यसमा सवै उम्मेदवाहरूको साझा मान्यता रहिआएको पाइन्छ । युवा पलायन र समाधानको खोजीमा गुरुङले जोड दिएको बताएका छन् । गुरुङले विदेश पलायन रोक्न साना उद्योग, कृषिमा आधारित उद्योग र सीपमूलक तालिम कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यहाँ मतदाताको मिश्रित प्रतिक्रिया रहेको छ । स्थानीय मतदाताहरू आश्वासन धेरै भएकाले अब व्यवहार हेर्न चाहने मुडमा देखिन्छन् । यसपटक मतदाता बढी सचेत पनि देखिएको पोकलीका नारायण गौतमको बुझाइ रहेको छ ।  स्थानीय सुदिप कटुवाल लामो समयदेखि नेतृत्वबाट मतदाताले ठगिएको अनुभुति गरेकाले यस पटक यथार्थतामा आधारीत भएर मत माग्न आग्रह गर्छन् । नयाँ अनुहार, अनुभवको चुनौती जिल्लामा नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुनु उत्साहजनक भए पनि अनुभवको अभाव चुनौती बन्न सक्ने बुझाइ पनि उस्तै रहेको छ । संसदमा प्रभावकारी उपस्थिति जनाउन कानुनी ज्ञान, बजेट प्रक्रियाको बुझाइ र दलगत समन्वय आवश्यक हुन्छ । नयाँ नेतृत्वले पुरानो त्रुटिबाट सिकेर अघि बढ्न सके भने परिणाम सकारात्मक हुन सक्ने नारायण गौतमको सुझाव छ  । उनले प्रत्यक्ष संवादको अभ्यास आवश्यक रहेकोले यसपटक उम्मेदवारहरू घरदैलो र खुला अन्तरक्रियामा बढी सक्रिय हुनुपर्ने बताउँछन् । ओखलढुङ्गाको प्रतिनिधि सभा निर्वाचनमा पूर्ण रूपमा नयाँ अनुहारबीच प्रतिस्पर्धा हुनु लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक संकेत भएको गौतमको मत छ । यसले ताजापन, नयाँ सोच र पुराना प्रवृत्तिबाट अलग हुने सम्भावना बोकेको छ । तर अवसरसँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर रहेको गौतम बताउँछन् । उनका अनुसार अनुभवको अभाव चुनौती बन्न सक्छ । संघीय संसदमा बजेट प्रक्रिया, कानुनी मस्यौदा, संसदीय समितिको काम र दलगत समन्वय जस्ता विषयमा व्यावहारिक ज्ञान आवश्यक हुन्छ । नयाँ सांसदले यी प्रक्रियामा छिटो पकड बनाउन नसके जिल्लाको एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन कठिन हुन सक्छ ।  रोक्का अपेक्षाको चाप अत्यन्त उच्च हुनुलाई नयाँ नेतृत्वको चुनौती हुने बताउँछन् । ‘मतदाताले यस पटक पुराना अनुहार हटाएर नयाँ नेतृत्व रोज्न खोजिरहेका छन् । त्यसैले परिणाम देखाउने दायित्व पनि बढी हुन्छ । पाँच वर्षभित्र ठोस उपलब्धि नदेखिए निराशा झन् बढ्न सक्छ,’ रोक्काले भने । प्राध्यापन पेशामा संलग्न मीनकुमार दाहाल संगठनात्मक सुदृढता र पहुँचको अभाव नयाँको चुनौती हुने ठान्छन् । उनका अनुसार राष्ट्रिय तहमा प्रभाव जमाउन पार्टीभित्र समन्वय, सम्बन्ध र रणनीतिक कौशल आवश्यक हुन्छ । नयाँ अनुहारले केन्द्रसम्म आफ्नो आवाज बलियो बनाउने क्षमता देखाउनुपर्छ दाहालले सुझाव दिए । ओखलढुङ्गाको प्रतिनिधि सभा निर्वाचन यसपटक नयाँ अनुहारको प्रतिस्पर्धा मात्र होइन, मतदाताको विश्वास जित्ने परीक्षा पनि हो । खिजिदेम्वाका पूर्वगाविस अध्यक्ष समेत रहेका वेदबहादुर रोक्काको शब्दमा भन्नुपर्दा व्यक्ति होइन, नीति रोज्ने बेला आएको छ । पोकलीका अर्जुन गौतम सडक र सेवा गाउँसम्म आइपुग्ने अपेक्षा गर्छन् । रामपुरका कमल दाहाल संसद र गाउँबीचको दूरी घट्नुपर्नेमा जोड दिन्छन्  । यी तीन आवाजले ओखलढुङ्गाको चुनावी मनोविज्ञान स्पष्ट पार्छन् । यी प्रतिनिधि आवाजसँगै अब निर्णय मतदाताको हातमा छ । नयाँ अनुहारले नयाँ दिशा दिन सक्छन् कि सक्दैनन् ? ओखलढुंगाको मतपेटिकाले त्यसको उत्तर पक्कै दिनेछ ।