रास्वपाको देशव्यापी जिल्ला अधिवेशन सुरु

महाधिवेशनअघि संगठन सुदृढीकरणमा जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक नीति अनुसार देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। केन्द्रीय समितिको निर्णयअनुसार जेठ २३ र २४ गते दुई चरणमा जिल्ला अधिवेशन सञ्चालन भइरहेका छन् ।

आज जेठ २३ गते देशभरका ३७ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ । कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरीमा अधिवेशन भइरहेको छ भने मधेशका महोत्तरी र रौतहटमा पनि कार्यक्रम सम्पन्न हुँदैछ ।

बागमती प्रदेशका दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली, गण्डकीका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दीमा समेत अधिवेशन जारी छ । लुम्बिनीका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णालीका कालिकोट र सल्यान तथा सुदूरपश्चिमका बैतडी, बझाङ र दार्चुलामा पनि अधिवेशन सम्पन्न हुँदैछ ।

भोलि जेठ २४ गते थप २९ जिल्लामा अधिवेशन हुने तालिका रहेको छ । कोशीका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेशका सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमतीका चितवन र ललितपुरमा अधिवेशन हुनेछ ।

त्यसैगरी गण्डकीका तनहुँ, नवलपुर, गोरखा र लमजुङ, लुम्बिनीका अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णालीका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिमका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा पनि अधिवेशन तय गरिएको छ ।

विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि सारिएको छ ।

निर्धारित तालिकाअनुसार रास्वपाले पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ । यससँगै पार्टीको मुख्य संगठन संरचना अधिकांश जिल्लामा स्थापित हुने बताइएको छ ।

बाँकी १० जिल्लामा महाधिवेशनपछि क्रमशः अधिवेशन गरिनेछ। साथै जेठ २६ गतेदेखि सातै प्रदेशको अधिवेशन सुरु गर्ने तयारी गरिएको छ, जसअन्तर्गत पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशबाट सुरु हुने जनाइएको छ ।   

Share News