बीमा प्राधिकरणमा बोर्ड सचिवको जिम्मेवारी सुवेदीलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीलाई प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी दिइएको छ । प्राधिकरणका निर्देशक सुवेदीले यही असार १ गतेदेखि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हालेका छन् । प्राधिकरणका प्रवक्ता समेत रहेएका निर्देशक सुवेदीलाई असार १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी तोकिएको सह-प्रवक्ता पुनम ज्ञवालीले जानकारी दिइन् ।

युनाईटेड मोदीको अध्यक्षमा नविन सिलवाल

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नविन सिलवाल चयन भएका छन् । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सिलवाललाई अध्यक्षमा चयन गरेको हो । कम्पनीको गत २७ गते सम्पन्न १० औँ बार्षिक साधारणसभाबाट सिलवाल सञ्चालक समितिमा निर्वाचित भएका थिए । सिलवालसँग जलविद्युत क्षेत्रमा ८ वर्षको अनुभव रहेको छ । सिलवालले वित्त विषयमा स्नातकोत्तर गरेका छन् । युवा उर्जा उद्यमी सिलवालले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवाती चरणदेखि निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडानसम्मको अनुभव रहेको छ । आजै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रन्बन्ध निर्देशकमा रोमन दंगाल नियुक्त गरेको छ ।

दुई देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रामप्रसाद सुवेदीलाई आज सान मारिनोका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । यसैगरी, राष्ट्रपति पौडेलले आजै संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनहरुलाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।