नागरिक लगानी कोषको सञ्चालकमा रमाली नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्यमा हेमन्तराज रमाली नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रीस्तर) को असार ३ गतेको निर्णय अनुसार नागरिक लगानीकोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम रमालीलाई नियुक्त गरिएको हो । साथै, उनले असार १७ गते सोमबार कोषको सञ्चालक समक्ष शपथ समेत लिइसकेको सञ्चालक समितिका सचिव नवराज खड्काले बताए । सीए हेमन्तराज रमली इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका एसोसिएट सदस्य हुन् । उनले सन् २०१३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेका छन् । हेमन्तले कर र नियामक सल्लाहकार, लेनदेन सल्लाहकार, मूल्यांकन लेखा, लेखापरीक्षण र आश्वासन लगायत वित्तीय सल्लाहकारका विभिन्न क्षेत्रमा व्यापक व्यावसायिक अनुभव बोकेका छन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड कमिटीको सदस्य भइसकेका छन् ।
हिमालयन लघुवित्तको सीईओमा विनोद आचार्य पुन: नियुक्त
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विनोद आचार्य नियुक्त भएका छन् । असार १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओको पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओ पदमा पुन: नियुक्त गरिएको कम्पनीका सचिव देवकर कार्कीले जानकारी दिए । विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।
रिडी पावरको अध्यक्षमा कुबेरमणि नेपाल
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणी नेपाल नियुक्त भएका छन् । तत्कालीन अध्यक्ष सन्जिव न्यौपानेले राजीनामा दिएसँगै सञ्चालक समितिले रिक्त रहेको अध्यक्ष पदमा नेपाललाई चयन गरेको हो । यस्तै कम्पनीले रिक्त रहेको प्रबन्ध सञ्चालक पदमा नव नियुक्त सञ्चालक सन्तोष अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको असार १४ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले सञ्चालक समिति नयाँ अध्यक्ष चयनदेखि प्रबन्ध सञ्चालक नियुक्त र तत्कालीन अध्यक्ष न्यौपानेको राजीना स्वीकृत लगायतका निर्णय गरेको गरेकाे छ ।