नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुवेदीलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई तोकिएको छ । प्राधिकरण सञ्चालक समितिले प्रवक्ताको जिम्मेवारी सुवेदीलाई दिने निर्णय गरेको हो । उनी प्राधिकरणमा निर्देशक छन् । यसअघि प्राधिकरणको प्रवक्ताको भूमिकामा राजुरमण पौडेल रहेका थिए । उमेर हदका कारण कार्यकारी निर्देशकसमेत रहेका पौडेल सेवाबाट निवृत्त भएका थिए । त्यस्तै प्राधिकरणको सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठलाई दिइएको छ । उनी प्राधिकरणमा उपनिर्देशक रहेकी छिन् ।

गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेता पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि उनी विसं २०८० वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सोमबार सर्वोच्च अदातलतले नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका खगराज अधिकारीले मुख्यमन्त्रीमा पाएको विश्वासको मत अवैधानिक भएको ठहर गर्दै पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । तत्कालीन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डेले गत चैत २१ गते पदबाट राजीनामा दिएका थिए । साठी सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका २७ सदस्य छन् ।

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा मिलन सिग्देल नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिनिधि सञ्चालकमा मिलन सिग्देल नियुक्त भएका छन् । संस्थाको २१४औं सञ्चालक समिति बैठकले सञ्चालक पदको बाँकी रहेको कार्यकालका लागि सिग्देललाई प्रतिनिधि सञ्चालक नियुक्त गरिएकाे हो । यसअघि सो स्थानमा कमल खड्काले प्रतिनिधित्व गर्दै आइरहेका थिए । साथै, उनले पदका लागि शपथ ग्रहण समेत गरिसकेको कम्पनीले जनाएको छ । करीब १० वर्ष भन्दा बढीको लेखापरीक्षण, बीमा तथा वित्तीय क्षेत्रमा कार्यानुभव भएको मिलन सिग्डेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।