धौलागिरी लघुवित्तको डीसीईओमा मिनप्रसाद जोशी नियुक्त
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मिनप्रसाद जोशीलाई नायब प्रमुख कार्यकारी अधिकृत पद (डीसीईओ)मा नियुक्त गर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा स्थायी नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाका अनुसार जोशीको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । बैठकको निर्णय अनुसार जोशीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय भएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत हेमराज जोशीले उक्त जानकारी दिएका हुन् ।
नेपाल एसबीआई बैंकको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त
काठमाडौं । नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त भएका छन् । भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा रहेका वेंकट वंसीधर कुंचाको स्थानमा चान्दनालाई मनोनयन गरिएको हो । भारतीय स्टेट बैंकले चान्दनालाई सञ्चालकका रूपमा मनोनयन गरी पठाएको बैंकले जनाएको छ । यसैअनुसार बैंकको सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले चान्दनालाई सञ्चालकमा नियुक्त गरेको हो । सोही बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा समेत चयन गरेको बैंकले जनाएको छ । यसअघि बैंकको सञ्चालक समितिमा भारतीय स्टेट बैंकका प्रतिनिधिका रूपमा वेंकट वंसीधर कुंचा रहेका थिए । अब उनको स्थानमा चान्दनाले जिम्मेवारी सम्हाल्ने भएका छन् ।
मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ र सञ्चालकमा सुमन पोखरेल
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा नेपाल भूषण श्रेष्ठ चयन भएका छन् । संस्थाका ज्येष्ठ सञ्चालक ज्ञानुकृष्ण अधिकारीको अध्यक्षतामा बसेको १९४औँ सञ्चालक समिति बैठकले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि हुन् । नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि उनले औपचारिक रूपमा अध्यक्षको पदभार सम्हाल्नेछन् । त्यस्तै, सोही बैठकले सुमन पोखरेललाई सञ्चालक समिति सदस्यका रूपमा नियुक्त गरेको छ । संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो प्रतिनिधिका रूपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेललाई सञ्चालक समितिमा पठाएको संस्थाले जनाएको छ ।