सानिमा बैंकका नवनियुक्त सीईओ पवनकुमार आचार्यद्वारा पदभार ग्रहण
काठमाडौं । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले आइतबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् । बैंक सञ्चालक समितिको गत कात्तिक २४ गते बसेको बैठकको निर्णयअनुसार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । २१ वर्षदेखि सानिमा बैंकमा निरन्तर रूपमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य पदभार ग्रहणअघि बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा कार्यरत थिए । आफ्नो लामो सेवाकालमा उनले दशभन्दा बढी विभाग तथा शाखाको नेतृत्व गर्दै बैंकको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । शैक्षिक योग्यताका हिसाबले आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर तथा भारतको एनआईटी जयपुरबाट इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन् । साथै, उनले एसएलसी परीक्षा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणीमा उत्तीर्ण गरेका थिए । उनको प्रमुख कार्य क्षेत्र कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना वित्तमा केन्द्रित रहेको छ । हाल उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटल लिमिटेडको अध्यक्षको रूपमा पनि कार्यरत छन् । बैंकिङ क्षेत्रबाहेक उनले इन्जिनियरका रूपमा चार वर्षभन्दा बढी व्यावसायिक अनुभव हासिल गर्नुका साथै पाँच वर्षसम्म भिजिटिङ फ्याकल्टीको रूपमा समेत सेवा प्रदान गरेका छन् । उनको विश्लेषणात्मक क्षमता, रणनीतिक सोच र दीर्घ बैंकिङ अनुभवका आधारमा आचार्यको नेतृत्वमा सानिमा बैंकले थप सफलता र प्रतिष्ठा हासिल गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
सिबिफिनको अध्यक्ष बने प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ, महासचिवमा मनोज गोयल र कोषाध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । मंगलबार बसेको सिबिफिनको कार्यसमिति बैठकले नयाँ पदाधिकारी चयन गर्ने निर्णय गरेको हो । हिमालयन बैंकका अध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि सिबिफिनको महासचिव थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै उनी सिबिफिनको अध्यक्ष पदबाट स्वतः हटेपछि रिक्त भएको पदमा श्रेष्ठलाई चयन गरिएको हो । सिबिफिनको विधानअनुसार अध्यक्ष बन्न बैंकको बहालवाला अध्यक्ष हुनुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् । श्रेष्ठ अध्यक्षमा नियुक्त भएसँगै सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोज गोयल नियुक्त भएका छन् । त्यस्तै, एनआईसी एशिया बैंकबाट तुलसीराम अग्रवालले राजीनामा दिएपछि रिक्त रहेको कोषाध्यक्ष पदमा लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाललाई चयन गरिएको छ । सिबिफिनमा पदाधिकारी पदका लागि बैंक सञ्चालक समितिको अध्यक्ष हुनुपर्ने व्यवस्था छ भने अन्य पदका लागि सञ्चालक भए पनि योग्यता पुग्ने प्रावधान रहेको छ । सिबिफिनको अध्यक्ष वाणिज्य बैंकका अध्यक्षमध्येबाटै चयन गरिने व्यवस्थाअनुसार वाणिज्य बैंकबाट प्रतिनिधित्व गर्ने अध्यक्षहरूकै बीचबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
गुहेश्वरी मर्चेन्ट बैंकिङको कामु सीईओमा अर्चना प्रधान नियुक्त
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अर्चना प्रधान नियुक्त भएकी छन् । संस्थाको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सहायक महाप्रबन्धक प्रधानलाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । निर्णयअनुसार प्रधानले माघ ४ गतेदेखि लागू हुने गरी कामु सीईओको कार्यभार सम्हाल्नेछिन् । यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले दिएको राजीनामा स्वीकृत भएपछि रिक्त रहेको पदमा प्रधानलाई कामु सीईओको जिम्मेवारी दिइएको संस्थाले जनाएको छ ।