शर्मा किर्गिज गणतन्त्रको अवैतनिक वाणिज्यदूत नियुक्त, सीतापाइलामा खुल्यो कार्यालय

काठमाडौं । काठमाडौंको सीतापाइलामा किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालय खुलेको छ । नेपालका लागि किर्गिजस्तानका गैरआवासीय राजदूत अस्कर बेसिमोभले बुधबार उक्त कार्यालयको उद्घाटन तथा कार्यालय परिसरमा किर्गिज गणतन्त्रको झण्डत्तोलन गरे । किर्गिज सरकारले प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मालाई नेपालका लागि अवैतनिक वाणिज्य दूत नियुक्त गरेपछि वाणिज्य दूतको कार्यालय खुलेको हो । बुधबार साँझ किर्गिजस्तानको अवैतनिक वाणिज्य दूतको कार्यालयले काठमाडौंमा एक रिसेप्सन कार्यक्रम समेत आयोजना गरेको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको उक्त कार्यक्रममा शहरी विकासमन्त्री धनबहादुर बूढा, विभिन्न कूटनीतिक नियोगकमा अधिकारी, अन्य मुलुकका वाणिज्य दूत, परराष्ट्र मन्त्रालयका पूर्व एवं बहालवाला अधिकारी लगायतको उपस्थिति थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा अवैतनिक किर्गिज वाणिज्य दूत नियुक्ति र वाणिज्य दूतको कार्यालय स्थापनालाई दुई मुलुकबीचको जनस्तरीय सम्बन्ध विस्तारमा नयाँ थालनी गरेको बताए । दुवै मुलुक जलवायु परिवर्तनका जोखिमबाट असुरक्षित रहेकोले यो लगायत अन्य साझा हितको क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै उनले यसमा नेपाल सरकार सधैं तत्पर रहेको बताए । नेपालका लागि किर्गिज गणतन्त्रका गैरआवासीय राजदूत बेसिमोभले दुई मुलुकबीचको सुमधुर सम्बन्ध तथा आर्थिक र जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा यो महत्वपूर्ण कदम भएको बताए । किर्गिज गणतन्त्रका नवनियुक्त अवैतनिक वाणिज्य दूत रमेश शर्माले आफूलाई विश्वास गरेकोमा किर्गिज सरकारलाई र उक्त नियुक्तिलाई अनुमोदन गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरे । दुई मुलुकबीचको समानताले आपसी सहकार्यका अवसर प्रदान गर्ने भन्दै उनले द्विपक्षीय व्यापार र लगानीमा सहकार्य गर्न सकिने ठूलो सम्भावना रहेको बताए । उनले किर्गिज गणतन्त्रमा नेपाली वस्तुको निकासी बढाउन किर्गिज सरकाबाट सहयोग प्राप्त हुने विश्वास गर्दै मित्रराष्ट्र किर्गिज गणतन्त्रका लागि नेपाल श्रमिक आपूर्तिको भरपर्दो स्रोत हुनसक्ने पनि उल्लेख गरे । आपसी हितका काममा सक्रिय रहने प्रतिबद्धता पनि शर्माले व्यक्त गरे । किर्गिजस्तान पनि नेपाल जस्तै भूपरिवेष्ठित मुलुक हो । यसको पूर्वमा चीन उत्तरमा कजाखस्तान, दक्षिणपश्चिममा ताजिकिस्तान र पश्चिममा उज्बेकिस्तान छ । सोभियत संघको पतनसँगै सन् १९९१ मा किर्गिजस्तान स्वतन्त्र भएको थियो । नेपाल र किर्गिज गणतन्त्रबीच सन् १९९३ मा दौत्य सम्बन्ध स्थापना भएको हो । किर्गिजस्तान जलविद्युत्, सुन, रियर अर्थ धातु, कोइला, तेल, प्राकृतिक ग्यास लगायत प्राकृतिक स्रोतमा सम्पन्न मुलुक हो ।

नबिल बैंकका सीईओ ढुङ्गानाको कार्यकाल दुई वर्ष थप, तीन दशकदेखि निरन्तर बैंकिङमा

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थपिएको छ । जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई असार १७ गतेदेखि लागू हुनेगरी अगामी दुई वर्षका लागि कार्यकाल थपेको हो । नबिल बैंकका सीईओका रुपमा उनको पहिलो कार्यकाल असारसम्म थियो । तर, बैंकले उनको पफर्मेन्सप्रति सकारात्मक हुँदै थप दुई वर्षका लागि कार्यकाल थप गरिएको हो । नबिल बैंकले तत्कालीन नेपाल बंगलादेश बैंकलाई गाभिएपछि ढुङ्गानालाई सीईओमा नियुक्त गरेको थियो । नबिलमा एनबी बैंकलाई गाभ्नका लागि ढुङ्गानाले महत्वपूर्ण भूमिका खेलेका थिए । अब ढुङ्गानाले थप दुई वर्ष नबिल बैंकमा काम गर्नेछन् । तेह्रथुममा जन्मिएका ढुङ्गाना चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । चार्टर्ड एकाउन्टेन्टको पढाई पुरा गरेसँगै २०५२ सालमा तत्कालीन बैंक अफ काठमाण्डूबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी तीन दशकदेखि बैंकिङ क्षेत्रमै छन् । उनीसँग नेपाल राष्ट्र बैंकमा पनि १० वर्ष काम गरेको अनुभव छ । सन् २०१८ देखि २०२० सम्म सीईओ ढुङ्गाना वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका थिए । नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्ष भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ । नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड नबिल बैंक लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैंकको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ क्षेत्रमै उदाहरणीय रहेको छ । यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैंकको शाख र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैंकिङ क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो । साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन् । प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको अध्यक्षका रूपमा नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

नेपाल उद्योग परिसंघको महानिर्देशकमा ओझा नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे । नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ विशेष ध्यान दिने बताए । डा. ओझाले द काठमाडौं पोष्ट, नेपाल रिपब्लिक मिडियामार्फत पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रतिष्ठित संस्थाहरुमा काम गरिसकेका छन् । उनले जनप्रशासनमा विद्यावारिधी हासिल गरेका छन् ।