एसबिआई बैंकको अध्यक्षमा सुजितकुमार बर्मा चयन

काठमाडौं । नेपाल एसबिआई बैंकको ४१८ औँ संचालक समितिको बैठकले समितिको अध्यक्षमा सुजितकुमार बर्मालाई चयन गरेको छ । बैंकको हालै बसेको बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बर्मालाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मतीबाट चयन गरेको हो । अध्यक्ष बर्मा एसबिआईको मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही बैंकका संसारभर विभिन्न मुलुकहरुमा रहेका बैकिङ्गसँग सम्बन्धित मामिला हेर्दै आएका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीवि नेपालले अध्यक्ष बर्मालाई गर्भनरको सचिवालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी तथा शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, निर्देशकहरु रमण नेपाल, बमबहादुर मिश्र र रामहरी न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

कुबेर मर्चेन्ट फाइनान्सको सिइओमा भिष्मराज चालिसे नियुक्त

काठमाडौं । कुबेर मर्चेन्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा भिष्मराज चालिसे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले आउँदो चार बर्षका लागि चालिसेलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ चालिसेले आगामी माघ १ गतेदेखि कम्पनीको सिइओ पदको कार्यभार सम्हाल्ने भएका छन् ।

सौर्य विद्युत् उत्पादक संघमा गौतम निर्वाचित

काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघको १७ औँ साधारणसभाले किरण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा सम्पन्न साधारणसभाले संघको वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, महासचिवमा सुनिल ढकाल, सचिवमा किरण प्रधान, कोषाध्यक्षमा विनोद सापकोटा निर्वाचित भएका छन् । संघको कार्यकारी सदस्यमा केशव दाहाल, दीपक जोशी, विश्वविक्रम जोशी, ओम केसी, रुद्र पुन नवीन शाही, भरत मल्ल श्रीराम अधिकारी, पदम भट्टराई, दीपक गौतम र जीतेन्द्र भट्टराई रहेका छन् । संघमार्फत देशभर छ लाख १७ हजार ४६ वटा घरेलु सौर्य प्रणाली, एक लाख दुई हजार १९ वटा साना सौर्य प्रणाली, १४ हजार ६७६ संस्थागत सौर्य प्रणाली र एक हजार ६९६ का सौर्य पम्प जडान भएको सो अवसरमा जानकारी दिइयो । रासस