निर्वाण चौधरी नबिल बैंकको सञ्चालकमा पुन: मनाेनित

काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालकमा निर्वाण चौधरी पुनः मनोनित भएका छन् । एनबी इन्टरनेशनल लिमिटेडको तर्फबाट चौधरीलाई सञ्चालक मनोनित गरिएको नबिल बैंकले जनाएको छ । मनोनित सञ्चालक चौधरीको नयाँ कार्यकाल सोमबार बसेको बैंकको सञ्चालक समितिको ५०२ औं बैठकबाट सुरु भएको बैंकले जनाएको छ । नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत स्वामित्व छ । बैंकमा इन्टनेशनलले सिफारिस गरेको एकजना सञ्चालक नियुक्त हुने व्यवस्था छ ।

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे बढुवा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । मंसिर १७ गते बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले विभिन्न बैंकहरु तथा यस एन आई सी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गर्दै आएका थिए । नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने सँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आइका थिए । नायब प्रमुख कार्यकारी अधिकृत श्री पाण्डेले सोमबार नै पदभार ग्रहण गरेका छन् ।

सिभिल लघुवित्तको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको निर्णय बमोजिम संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा विनोद आचार्य नियुक्त भएका छन् । यसअघि उनी आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । आरम्भ माइक्रोफाइनान्सभन्दा अघि आचार्यले राष्ट्रिय स्तरको संस्था डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थामा महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । विगत लामो समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन संकायमा एमपीए तथा एमबीए गरेका छन् ।