महासंघकी अध्यक्ष राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकाे सदस्यमा मनोनित
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनित भएकी छन् । बुधबारको मन्त्रिपरिषद बैठकले राणालाई ३ वर्षका लागि प्रतिष्ठान सदस्यमा मनोनित गरेको हो । प्रतिष्ठानको सदस्यमा महासंघ अध्यक्ष राणासहित पूर्वराजदूत डा. शंकर शर्मा, पूर्वसांसद लालबाबु यादव, डिल्लीराज घिमिरे, डा. खड्क केसी, प्रा.डा. मीना वैद्य मल्ल, उपरथी हिमालय थापा, अधिवक्ता हरि फुयाँल मनोनित भएका छन् । राणाले मुलकको आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन प्रतिष्ठानमा रहेर काम गर्ने बताएकी छन् । ‘मुलुकको बढ्दो व्यापारघाटा कम गर्न हामीले निर्यात बढाउनैपर्छ र निर्यातमा देखिएका अवरोध हटाउन हाम्रो आर्थिक कुटनीति प्रभावकारी हुनुपर्छ,’ अध्यक्ष राणाले भनिन्, ‘परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान भनेको सरकारलाई कुटनीतिक क्षेत्रमा सुल्लाह सुुझाव दिने र मार्गनिर्देश गर्ने थिंक ट्यांक पनि भएकाले यहाँ रहेर मैले निजी क्षेत्रको सुझावसहित सम्पूर्ण आर्थिक क्षेत्रकै रुपान्तरणका लागि पहल गर्नेछु ।’ सरकारले हालै विदेशस्थित राजदूत नियुक्तिमा मापदण्डसमेत लागू गरिसकेको पृष्ठभूमिमा विदेशस्थित दूतावासलाई आर्थिक कुटनीतिमा अधिकतम उपयोग गर्न सकिने राणाको भनाइ छ । नेपालस्थित अमेरिकी राजदूतावास र विभिन्न गैरसरकारी संस्थामा काम गरेको अनुभवका आधारमा राणाले कुटनीतिक क्षेत्रलाई नजिकबाट बुझेकाले उनको मनोनयनले निजी क्षेत्र पनि उत्साहित छ । प्रतिष्ठानमा निजी क्षेत्रको प्रतिनिधित्व हुनुलाई अवसरका रुपमा उपयोग गर्नुपर्ने व्यवसायीहरु बताउँछन् ।
स्वास्थ्य बीमा बोर्डले माग्यो कार्यकारी निर्देशक, ७ दिनभित्र दरखास्त दिनुपर्ने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कार्यकारी निर्देशक नियुक्ति गर्न लागेको छ । स्वास्थ्य बीमालाई अझ प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा कार्यकारी निर्देशक नियुक्त गर्न लागेको हो । एक साताभित्र आफनो शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभव सहित बायोडाट पेश गर्न मन्त्रालयले भनेको छ । यस्तै आफुले सम्पादन गर्ने कार्ययोजना र प्रतिवद्धता सहित गोप्य खामवन्दी गरी दरखास्त दिन मन्त्रालयले जानकारी दिएको छ ।
१२ स्थानीय तहमा शाखा विस्तार गर्न नविल बैंकले माग्यो १०० ट्रेनि सहायक
काठमाडौं । नविल बैंकले १०० जनालाई रोजगारी खुलाएको छ । बैकले विभिन्न स्थानीय तहका लागि १०० जना ट्रेनी सहायक कर्मचारी मागेको हो । बैंकले अगष्ट २२ सम्म आवेदन दिन भनेको छ । बैंकले एक दर्जन स्थानीय तहमा शाखा विस्तार गर्न ट्रेनी सहायक मागेको हो । बैंकले आछामको तर्मखाँड, रामारोशन, वैतडीको पञ्चेश्वर, बझाङको बित्ताचर, डडेलधुराको अलिताल, डोटीको सयाल, जुम्लाको तिला, कालिकोटको पाँचझरना र पलाटा, सुर्खेतको बाराताल, सल्यानको दर्मा र रुपन्देहीको समरीमाई गाँउपालिकामा शाखा विस्तारका लागि ट्रेनि सहयाक मागेको हो ।