सञ्चय कोषको प्रशासकका लागि तुलसी, दीपक र राजेन्द्रको नाम शिफारिश,कसले मार्ला बाजी ?

काठमाडौं । कर्मचारी संचय कोषको प्रशासकका लागि ३ जनाको नाम शिफारिश भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफाशिर समितिले तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफलेलाई छनौट गरेको छ । समितिले बुधबार कोष सञ्चालनको व्यवसायिक योजना र अन्तरवार्ता लिएको थियो । योजना र अन्तरवार्ताबाट ३ जनाको नाम शिफारिश गरिएको समितिले जनाएको छ । रौनियार हाल कोषको कामू प्रशासकको रुपमा कार्यरत छन भने काफले उपप्रशासको रुपमा कार्यरत छन् । अर्थ मन्त्रायले नियुत्तका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ ।

देउवा सरकारले सुरु गरेको नियुक्ति धमाधम रद्ध, बीमा संस्थाको प्रशासक प्रक्रिया खारेज

काठमाडौं । शेरबहादुर देउवा सरकारको पालमा सुरु गरिएको नियुक्ति प्रक्रिया केपी ओली नेतृत्वको सरकारले धमाधम रद्ध गर्न थालेको छ । ओली सरकारले राष्ट्रिय बीमा संस्थानको प्रशासक नियुक्ति प्रक्रियालाई पनि रोकेको छ । देउवा सरकारको पालामा गठित प्रशासक नियुत्ति छनौट तथा शिफारिश समितिको निर्णयलाई ओली सरकारले उल्टाएको छ । समितिको गत शुक्रबार बसेको बैठकले प्राप्त दरखास्त तथा हाल भएको सबै प्रक्रिया रद्धको निर्णय गरेको हो । छनौट तथा शिफारिश समितिले माग गर्दा गणेशराज कार्की , दामोदर सापकोटा, राजेन्द्रजंग कार्की, डा. शिवहरी श्रेष्ठ र सुरेन्द्र थापाले दरखास्त दिएका थिए । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफारिश समितिले व्यवसायिक कार्ययोजना र अन्तरवार्ता पनि लिएको थियो । समितिले एकाएक नियुक्तिको सबै प्रक्रिया रद्ध भएको जानकारी गराउदै पदपूर्तिमा सहभागी सबै आवेदकलाई दस्तुर वापत बुझाएको सबै रकम फिर्ता लिन अर्थ मन्त्रालयको आर्थिक प्रशासन महाशाखामा सम्पर्क गर्न भनिएको छ ।

नविल इन्भेष्टमेन्टको सीईओमा सबिर श्रेष्ठ नियुक्त, सेयर बजारमा विश्वस्तरीय सेवा दिने प्रतिवद्धता

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनी विगत २ वर्षदेखि सोही संस्थामा सेकेण्ड म्यानको रुपमा ‘इन्भेष्टमेन्ट बैकिङ हेड’ पदमा कार्यरत थिए । सन २००८ बेलायतबाट एसीसीए गरेका श्रेष्ठले सोही देशमा ६ वर्ष लेखापरिक्षणको काम गरेका थिए । शुरुका तीन वर्षमा अडिट, ट्याक्स र फाइनान्समा काम गरेका थिए । त्यसपछि विश्वकै छैटौ ठूलो अडिट फर्म बीडीओ इन्टरनेशनेलमा तीन वर्ष म्यानेजर भएर काम गरेको उनले जानकारी दिए । ‘बेलायतमा ६ वर्ष र नेपालमा ६ वर्ष काम गरेको अनुभव छ । पुँजी बजारमा अन्तराष्ट्रिय स्तरको सेवा दिन सकिन्छ भन्ने विश्वास छ’ सीईओको जिम्मेवारी समालेको पहिलो दिन विकासन्युजसँग कुरा गर्दै श्रेष्ठले भने–‘प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल, फेरन इन्भेष्टमेन्ट म्यानेजमेन्टमा नयाँ काम गर्न सकिन्छ ।’ पुँजी बजारमा चुनौतिहरु र विकासका अवसरहरु दुबै भएको उनले बताए । ‘पुँजी बजारलाई राम्रो बनाउने, समस्याहरु समाधान गर्दै जाने र सेवाको स्तर विकास गर्ने काम मर्चेन्ट बैंकर्सहरुको र त्यसको एउटा पार्ट आजदेखि म पनि भएको छु’ उनले भने । नविल इन्भेष्टमेन्टको सेवालाई राजधानी वाहिर पनि पुर्याउने योजना रहेको उनको छ ।