महालक्ष्मी लाईफ इन्स्योरेन्सको सीईओमा रमेशकुमार भट्टराई
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्सले पुस १७ गतेदेखि लागू हुने गरी भट्टाईलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ भट्टाराईले आगामी ४ वर्षसम्म कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका सीईओ भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ । साथै, भट्टराईले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी समय काम गरिसकेका छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पौडेल पुनः नियुक्त
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पाैडेलको नयाँ कार्यकाल माघ १ गतेबाट शुरु हुनेछ ।
मेगा बैंकको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त
काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त भएकी छिन् । हालै सम्पन्न बैंक सञ्चालक समितिको बैठकले काफ्लेलाई आगामी चार वर्षसम्मको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । साथै, काफ्लेले गत पुस १२ गते आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरी पदवहाली गरिसकेकी छिन् । यसअघि बैंकले गत भदौ १० गते कम्पनीको स्वतन्त्र संचालकको पदमा काफ्लेलाई नियुक्त गरेको थियो । सो अवधिमा काफ्ले देश बाहिर रहेकाले निर्धारित समयावधि भित्र पद तथा गोपनियताको सपथ ग्रहण गर्न असमर्थ रहेकी थिइन् । सोही कारणले बैंकले गत पुस ४ गते कम्पनीको स्वतन्त्र संचालक पदमा काफ्लेलाई पुनः नियुक्त गरेको हो ।