विहीबारदेखि जनकशर्मा पौड्यालले सम्हाले सनराइज बैंकमा सिईओको कार्यभार

काठमाडौँ । सनराइज बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीइओ) जनकशर्मा पौड्यालले विहीबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । सनराइज बैंक लिमिटेडको संचालक समितिको असार २७ गते बसेको बैठक रिक्त रहेको सीईओ पदमा जनकशर्मा पौड्याललाई नियुक्त गरेको थियो । सीईओ पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड)मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी, एनआईसी बैंक लिमिटेड(हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्षको कार्य गरेका थिए । अध्ययनको लागि बेलायत गएको र बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गरेका थिए । बेलायतबाट फर्के लगत्तै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरत रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक÷अध्यक्ष भएको अनुभव समेत रहेको छ । उनले बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढी कार्य गरिसकेका छन् ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सिइओमा प्रदीपकुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा सम्पनी सचिवमा प्रदीपकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि नियुक्त गरेको बैंकका प्रबन्धक सुदर्शन थैवले बताए ।

सप्तकोशी डेभलपमेन्ट बैंकको सिइओमा सुवेदी नियुक्त

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नबिन सुवेदी नियुक्त भएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र काबेली विकास बैंक आपसमा गाभिएर ७ जिल्ला कायम भई सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट कारोबार गर्न राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएको जनाइएको छ । सञ्चालक समितिको बैठकले तत्कालीन सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका कार्यकारी अधिकृत सुवेदीलाई नै असार २२ गतेदेखि ४ वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।