नेपाल बैंकको अध्यक्षमा वासुदेव अधिकारी
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । कम्पनीको पुस २५ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जनार्दन शर्माले सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल सकिएपछि बैंकले कम्पनीको नयाँ अध्यक्ष पदमा अधिकारीलाई चयन गरेको हो । नेपाल सरकार, अर्थ मन्त्रालयबाट सञ्चालक समिति सदस्यमा नियुक्त भई आएका नवनिर्वाचित अध्यक्ष अधिकारीले बैंकको आगामी चार वर्षे कार्यकाल सम्हाल्नेछन् । साथै, बैंक सञ्चालक समितिको सदस्य पदमा रहेका डम्बरबहादुर भण्डारीको पनि ४ वर्षे कार्यकाल सकिएको कम्पनीले जनाएको छ ।
राष्ट्रिय बीमा कम्पनीमा नयाँ सीईओ, डिल्लीराज अर्याललाई अर्थले काजमा पठायो
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा डिल्लीराज अर्याल आएका छन् । अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाका वरिष्ठ उपसचिव अर्याललाई मन्त्रालयले अर्को निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएर पठाएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । तात्कालिन सीईओ बीरविक्रम रायामाझीले सरकारसँगको असन्तुष्टिपछि गत कात्तिकमा नै राजीनामा दिएपछि सो पद रिक्त थियो । यद्यपि त्यसबारे राजीनामा दिएकोबारे केही दिन अघिमात्र समाचार सार्वजनिक भएको थियो । सोलगत्तै अर्थले अर्याललार्इ कायम मुकायमको जिम्मेवारी दिएर पठाएको हो ।
सुरेन्द्र पौडेल नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्त
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्ष हुनेछ। निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए । ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक पौडेलले त्यहाँ तीन वर्षे कार्यकाल पूरा गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका पौडेलले आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको थिए ।