नीति आयोगको उपाध्यक्षमा डा.देवकोटा नियुत्त

हेटौँडा । प्रदेश नं ३ का मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति आयोगको उपाध्यक्षमा डा. खिमलाल देवकोटालाई नियुक्ति गरेको छ । यसैगरी सोही बैठकले आयोगको सदस्यमा श्याम बस्नेतलाई नियुक्ति गरेको छ । अन्य तीन सदस्यको नाम अर्को मन्त्रिपरिषद्को बैठकले टुङ्ग्याउने आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।मन्त्रिपरिषद्को बैठक ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको थियो । रासस

पञ्चेश्वर विकास प्राधिकरणको सीईओमा एएस गोयल नियुक्त

काठमाडौं । पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा एएस गोयल नियुक्त भएका छन् । हालका सीईओ महेन्द्रबहादुर गुरुङको कार्यकाल सकिएपछि भारतको तर्फबाट गोयल नियुक्त भएका हुन् । प्राधिकरणको पहिलो सीइओको रुपमा गुरुङले आफनो ३ वर्षे कार्यकाल पुरा गरेका छन् । गोयलले आजैदेखि कार्यभार सम्हालेका हुन् । बहुउद्धेशिय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा सहमति हुन सकेको छैन् । डीपीआरको तयारी भारतको वापकोर्स इण्डिया लिमिटेडले गरेको छ ।

माछापुच्छ्रे बैंकको सीईओमा सुमन शर्मा, कर्जा र जोखिम व्यवस्थापनमा उत्कृष्ट

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । नवनियुक्त शर्माले नियुक्त भएकै दिन(आज)देखि कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ्ग शुरु गरेका थिए । त्यसपछि शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । शर्माले माछापुच्छ्रे बैंकमा यसअघि  झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिदै आएका छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । साथै, नवनियुक्त सीईओ शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।