प्रधानमन्त्री बालेन ऊर्जा उद्यमीसँग छलफल गर्दै

काठमाडौं । केही दिनयता विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीसँग निरन्तर संवाद गर्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (शुक्रबार) ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रका समसामयिक समस्या, लगानीको वातावरण नीतिगत सुधार तथा समाधानका उपायबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको छ । एक ऊर्जा व्यवसायीका अनुसार प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा देखिएका चुनौती, निजी क्षेत्रका गुनासा तथा सुधारका सम्भावित उपायबारे प्रत्यक्ष रूपमा सुझाव लिन ऊर्जा उद्यमीहरूलाई छलफलका लागि बोलाएका हुन् ।  पछिल्ला केही दिनयता प्रधानमन्त्री शाहले विभिन्न क्षेत्रका उद्योगी-व्यवसायीसँग संवादलाई तीव्रता दिँदै आएका छन् । यसैक्रममा ऊर्जा क्षेत्रसँगको आजको छलफललाई पनि सरकारले निजी क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने प्रयासका रूपमा हेरिएको छ ।  ऊर्जा व्यवसायीहरूले उत्पादन, प्रसारण, विद्युत् खरिद–बिक्री, लगानीमैत्री वातावरण तथा नीतिगत स्थायित्वलगायतका विषयमा आफ्ना धारणा प्रधानमन्त्रीसमक्ष राख्ने तयारी गरेका छन् । 

टिकटकको सहारामा फस्टायो कोरियाबाट फर्किएका युवाको नर्सरी व्यवसाय

काठमाडौं । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल भएका छन् झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू । दक्षिण कोरियामा एक दशक बिताएर गत वर्ष नेपाल फर्किएका लिम्बूले आफ्नै जन्मथलोमा श्रीमतीको नाममा ‘सेवारो फूल कथा नर्सरी’ स्थापना गरी व्यावसायिक पुष्पखेती र बिरुवा उत्पादनको काम सुरु गरेका हुन् । सानैदेखि फूलप्रति विशेष रुचि राख्ने लिम्बूले विदेशमा रहँदा पनि अवसर पाएसम्म बगैँचा र हरियालीसँग जोडिएका काम नियाले । स्वदेश फर्किएपछि त्यही रुचिलाई व्यवसायमा रूपान्तरण गर्ने अठोटका साथ उहाँले नर्सरी स्थापना गरे । 'रोजगारीका सिलसिलामा लामो समय विदेश बसियो । पैसा कमाइयो, तर परिवारसँग बस्न पाइएन', लिम्बूले भने, 'आफ्नै देशमा केही गर्नुपर्छ भनेर कोरियामा हुँदै योजना बनाइसकेको थिएँ । अहिले परिवारसँगै बसेर आफ्नै रुचिको व्यवसाय गर्न पाउँदा आर्थिक आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ । विदेशमा कमाएको अनुभव र पुँजी आफ्नै माटोमा लगानी गर्न पाउँदा गर्व लाग्छ ।' एक वर्षअघि सुरु गरिएको नर्सरीले छोटो समयमै राम्रो व्यापार गर्न थालेको छ । यहाँ विभिन्न जातका मौसमी फूल, सजावटी बिरुवा, फलफूलका बिरुवा तथा घरआँगन हरियाली बनाउन प्रयोग हुने बिरुवा उत्पादन तथा बिक्री हुँदै आएका छन् । स्थानीय ग्राहकसँगै जिल्ला बाहिरबाट पनि माग बढ्दै गएको लिम्बूले बताए । उनका अनुसार नर्सरीमा उत्पादन भएका बिरुवा अहिले झापामात्र नभई चितवन, धरान, इटहरी, विराटनगरलगायतका विभिन्न स्थानसम्म पुग्न थालेका छन् । व्यवसाय विस्तारसँगै ग्राहकको विश्वास पनि बढ्दै गएको उनको अनुभव छ । 'गुणस्तरीय बिरुवा उत्पादन गर्ने र ग्राहकलाई आवश्यक परामर्श दिने प्रयास गरेका छौँ', उनले भने, 'एकपटक बिरुवा लिएर सन्तुष्ट भएका ग्राहक फेरि पनि आउनुहुन्छ र अरूलाई पनि सिफारिस गर्नुहुन्छ । यही नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।' लिम्बूको व्यवसाय सफल बनाउन सामाजिक सञ्जाल ‘टिकटक’ प्रभावकारी माध्यम बनेको छ । उनले नियमित रूपमा नर्सरीमा रहेका फूल, बिरुवा, तिनको हेरचाह गर्ने तरिका तथा नयाँ उत्पादनका भिडियो टिकटकमार्फत सार्वजनिक गर्दै आएका छन् । यसले नर्सरीको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको उनले बताए । 'सदुपयोग गर्नेका लागि सामाजिक सञ्जाल निकै राम्रो प्लेटफर्म हो', उनले भने, 'टिकटकबाट हाम्रो नर्सरी धेरै मानिससम्म पुगेको छ । भिडियो हेरेरै धेरै ग्राहक नर्सरी खोज्दै आउनुहुन्छ । अनि कति ग्राहकले अनलाइनमार्फत ‘अर्डर’ पनि दिनुहुन्छ । अहिले मेरो लागि सामाजिक सञ्जाल व्यवसाय प्रवद्र्धनको प्रभावकारी माध्यम बनेको छ ।' सुरुआतमा नर्सरीको संरचना निर्माण, बिरुवा उत्पादन र आवश्यक पूर्वाधार तयार गर्न करिब रु आठ लाख लगानी भएको लिम्बूले जानकारी दिए । यसमा सरकारी निकायले पनि साथ दिएको छ । यसमध्ये राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यान्वयन एकाइ भद्रपुरबाट पुष्प नर्सरी स्थापना तथा पुष्प व्यवसाय कार्यक्रममार्फत ५० प्रतिशत अर्थात् रु चार लाख अनुदान प्राप्त भएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ भद्रपुरका प्रमुख रवीन्द्र सुवेदीले कृषि क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । 'वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफ्नो सीप, अनुभव र पुँजीलाई कृषि क्षेत्रमा लगानी गर्नु सकारात्मक कुरा हो', सुवेदीले भने, 'यस्ता उद्यमले स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथै व्यावसायिक कृषि विस्तारमा पनि टेवा पुग्छ ।' सरकारको नीतिअनुसार कार्यालयले कृषि उद्यमशीलतालाई प्रवद्र्धन गर्न विभिन्न अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गरिरहेको छ । इच्छाशक्ति र योजनासहित काम गर्ने किसान तथा उद्यमीलाई हामीले निरन्तर सहयोग गरिरहेको उनको भनाइ छ । रासस

युवालाई रोजगारीसँग जोड्न पहल, तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत निकायका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको ठूलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न आग्रह गरिन् । उनले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने यथार्थ विवरण तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिइन् । ‘युवा पुस्ताको अपेक्षाअनुसार परिणाम देखिने गरी काम गर्नुपर्छ। मन्त्रालय अन्तर्गतका सबै निकायले यसै महिनाभित्र कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप र स्वयंसेवामा जोड्न सकिन्छ भन्ने स्पष्ट योजना पेश गर्नुपर्छ,’ मन्त्री चौधरीले भनिन्। उनले कार्यान्वयनमुखी र परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै कृषि, वन तथा वातावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। साथै नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका युवालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिइन्। छलफलका क्रममा विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिक बिनाका इन्टर्नसिप र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए । विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई इन्टर्नसिप सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानुनी व्यवस्थाका कारण कतिपय अवस्थामा सेवा-सुविधा उपलब्ध गराउन कठिनाइ रहेको उनीहरूको भनाइ थियो । जवाफमा मन्त्री चौधरीले आवश्यक कानुनी संशोधनका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्ने बताउँदै अहिलेका लागि मन्त्रालय अन्तर्गतका सबै कार्यालयबाट तत्काल कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप तथा स्वयंसेवामा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत तथ्याङ्क तत्काल पेश गर्न निर्देशन दिइन्। मन्त्री चौधरीले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका नेपाली युवाका लागि साझा मञ्च निर्माण गर्ने तयारीसमेत अघि बढाइएको जानकारी दिइन्। मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड तथा जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप र स्वयंसेवाका अवसर उपलब्ध गराउने तयारी गरेको उनले बताइन्।