काठमाडौं । नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बैंक तथा वित्तीय संस्थाको मर्जरले वित्तीय क्षेत्रलाई थप सबल बनाएको उल्लेख गर्दै अब मर्जरपछिको व्यवस्थापन, प्रविधि र सुशासनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले राष्ट्र बैंकले अघि सारेको मर्जर नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरू एकीकरणमा सहभागी नभएको भए अहिले बैंकिङ क्षेत्रको अवस्था अझ नाजुक हुन सक्ने बताए ।
राजधानीमा आयाेजित एक कार्यक्रममा बोल्दै उनले मर्जर संस्थागत चुनौती व्यवस्थापन गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गर्दै संस्थाको व्यवस्थापन र सञ्चालक समितिले दूरदर्शी नीति अवलम्बन गरे कुनै पनि समस्या समाधान गर्न सकिने बताए ।
साथै निक्षेपकर्ताको बचतको सुरक्षा सर्वोच्च प्राथमिकतामा राखेर काम गर्न उनले आग्रह गरे ।
पौडेलले बैंकिङ क्षेत्रमा देखिएका समस्याको समाधानका लागि नियामक निकायका रूपमा नेपाल राष्ट्र बैंक आवश्यक सहजीकरण गर्न सधैं तत्पर रहेको पनि स्पष्ट पारे ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विस्रुत थापाले मर्जरपछि नयाँ जोस र ऊर्जासहित संस्था अघि बढ्नुपर्ने बताए ।
विगतमा केन्द्रीय बैंकसँग मर्जरका विभिन्न अनुभव रहेको उल्लेख गर्दै उनले केही मर्जर सफल उदाहरणका रूपमा स्थापित भएको बताए ।
तर, नियामक निकायले आवश्यक सहजीकरण नगरे मर्जर प्रक्रिया नै भाँडिन सक्ने सम्भावना रहने उनको भनाइ थियो ।
उनले राष्ट्र बैंकले वित्तीय क्षेत्रको पुनर्संरचनामार्फत २ सयभन्दा बढी बैंक तथा वित्तीय संस्थाको संख्या घटाएर करिब ५० वटाको हाराहारीमा ल्याएको स्मरण गराउँदै अहिले फेरि नयाँ संस्था थप्ने बहस चलिरहेको बताए ।
साथै बैंकिङ क्षेत्रमा सूचना प्रविधि (आईटी), कृत्रिम बौद्धिकता (एआई), गैरबैंकिङ सम्पत्ति तथा बढ्दो खराब कर्जाजस्ता नयाँ चुनौतीहरू तीव्र रूपमा देखापरिरहेको उनको भनाइ छ ।