राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका युवकको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् । बिहीबार बिहान आत्मदाह प्रयास गरेका उनलाई उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार आईसीयूमा राखेर उपचार भइरहेका उनको अवस्था गम्भीर छ । उनको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भाग जलेको छ । शरीरमा आगो लगाउनुअघि पार्किङ गरेर राखेको उनको मोटरसाइकलमा नगर प्रहरीले ह्वीललक गरेको थियो । सोही तनावका कारण उनले आत्मदाह प्रयास गरेका बताइए पनि स्पष्ट कारण खुलिसकेको छैन । प्रहरीले घटनाबारे अनसन्धान गरिरहेको छ ।
प्रतिनिधिसभाबाट सार्वजनिक खरिद र सहकारीसहित चार महत्त्वपूर्ण विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएको संशोधन सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको बिहीबार (आज) को बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन( विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । छलफलमा भाग लिँदै सांसद पार्वती विकले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भने, ‘हामीले काम गर्दै जाँदा भोगेका समस्या समाधानका निम्ति विधेयक ल्याएको हो, यो यत्तिकै ल्याएको होइन, धेरै छलफलबाट आएको हो ।’ यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रस्तुत गरेको ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २६ गते शुक्रबार अपराह्न १ः०० बजे बस्नेछ ।
सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
काठमाडौं । सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार (आज) आयोजित बिदाइ कार्यक्रममा निवर्तमान मुख्य सचिव अर्यालले करिब तीन दशक लामो निजामती सेवापछि अवकाश लिन लागेको उल्लेख गर्दै देश र जनताको सेवा गर्ने अवसर पाएकामा खुसी व्यक्त गरे । उनले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा मुख्य सचिवको जिम्मेवारी चुनौतीपूर्ण रहे पनि राजनीतिक नेतृत्व, प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार, संवैधानिक आयोग, निजामती कर्मचारी, सुरक्षा निकाय तथा सार्वजनिक निकायको सहयोगले जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सकेको बताए । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले राजनीतिक सरकार अस्थायी भए पनि कर्मचारीतन्त्र स्थायी सरकार भएकाले मुलुक सञ्चालनमा निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताए । सरकार र कर्मचारीतन्त्रबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने स्पष्ट पारे । देश निर्माणमा योगदान दिने व्यक्तिको कहिल्यै बिदाइ नहुने उल्लेख गर्दै राजनीतिक सल्लाहकार शाहले सेवा निवृत्त मुख्यसचिव अर्यालको अनुभव, ज्ञान र कार्यशैलीलाई सरकारले आगामी दिनमा पनि उपयोग गर्ने विश्वास व्यक्त गरे । साथै, नवनियुक्त मुख्यसचिव कार्कीको नेतृत्वमा निजामती प्रशासन अझ प्रभावकारी बन्ने अपेक्षा राखे । नवनियुक्त मुख्य सचिव कार्कीले नयाँ जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सरकारले अघि बढाएका निजामती सेवा सुधारसम्बन्धी नीतिलाई सार्वजनिक प्रशासन र निजामती सेवाको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा प्रधानमन्त्री शाहकातर्फबाट राजनीतिक सल्लाहकार शाहले सेवानिवृत्त मुख्यसचिव अर्याललाई कदरपत्र प्रदान गरे । प्रधानमन्त्रीको स्वकीय सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी र सचिवहरुले उनको नेतृत्व, योगदान र समर्पणप्रति आभार प्रकट गर्दै मुख्यसचिव कार्कीलाई शुभकामना व्यक्त गरेका थिए ।