गणेश नेपालीका परिवारलाई न्याय दिन पूर्वगृहमन्त्री अर्यालको माग

काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले स्वर्गीय गणेश नेपालीका परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्। शुक्रबार (आज) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अर्यालले यस्तो माग गरेका हुन् । गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अर्यालले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् । अर्यालले कानुनी राज्य सञ्चालनका लागि सरकार सञ्चालनकर्ताले कानुनी शासनको मर्म बुझ्नुपर्ने र नागरिकसँग सहकार्य गर्नुपर्ने बताएका छन् । कानुनी शासन प्रभावकारी बनाउन सरकार स्वयंले विधि र कानुनको पालना गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले पनि राज्यले नागरिकसँग सहकार्य गर्नेभन्दा प्रतिद्वन्द्विता बढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै मुलुकलाई फेरि द्वन्द्व र अनिष्टको दुष्चक्रमा फस्ने गल्ती गर्न नहुने चेतावनी दिएका छन् । अर्यालले कानुनी शासनमा नागरिक मात्र होइन, सरकार पनि विधि र विधानको पालनामा उत्तिकै उत्तरदायी हुनुपर्ने बताए । सत्य, निष्ठा र मानवताको आधारमा सबै विचारधारा, वर्ग र समुदायका नागरिकसँग सहकार्य गरेर राज्य सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । उनले सुशासनको मेरुदण्ड कानुनी शासन भएको उल्लेख गर्दै कानुनी शासन भएको मुलुकमा आम नागरिकले सास्ती भोग्ने र सरकारसँग सम्बद्ध व्यक्तिले उन्मुक्ति पाउने अवस्था स्वीकार्य नहुने बताए ।  अहिले देखिएका लक्षणहरू पनि सकारात्मक नरहेको उनको टिप्पणी छ ।

गणेश नेपालीको मृत्युको जिम्मा सरकारले लिनुपर्छ : एमाले

काठमाडौं । नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भूमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभई राज्यको जिम्मेवारीसँग जोडिएको विषय भएको बताइन् । ‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् । सुब्बाले ट्राफिक जरिवानासम्बन्धी सरकारी नीतिमाथि पनि प्रश्न उठाउँदै राज्यले असुल्ने जरिवाना उचित भए–नभएको विषयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरिन् । ‘राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भन्ने प्रश्नको उत्तर गणेश नेपालीको अनुहारमा हेरेर खोज्नुस्,’ उनले भनिन् । उनले गणेश नेपालीको मृत्युले राज्यको सेवा, नीति र नागरिकप्रतिको व्यवहारबारे गम्भीर समीक्षा आवश्यक भएको संकेत गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारले जिम्मेवार ढंगले कदम चाल्नुपर्ने धारणा राखिन् ।

गणेश नेपालीको घटनामा थापाको आग्रह : दोषारोपण होइन, राज्यले आत्मचिन्तन गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको मृत्यु घटनालाई लिएर राज्य, समाज र नागरिक सबैले सामूहिक आत्मचिन्तन गर्नुपर्ने बताएका छन् । थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई स्तब्ध बनाएको बताएका हुन् । उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, यो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन् । थापाले यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएकाले यस कठिन घडीमा गणेश नेपालीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ भन्नेमा सबैले आ–आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्नुपर्ने बताएका छन् । उनले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने धारणा राखेका छन् । थापाले नागरिकलाई निराशाको चरम अवस्थामा पुग्न बाध्य पार्ने कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले एउटा युवा किन आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्थासम्म पुग्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति किन गराउन सकेनन्, र समाज, परिवार, राज्य तथा नागरिकका रूपमा कहाँ कमजोरी भयो भन्ने प्रश्नको इमानदार जवाफ खोज्नुपर्ने बताएका छन् । भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाइ छ ।