काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालका कृषि, रेलवे, सूचना प्रविधि (आईटी) तथा हरित डाटा सेन्टरजस्ता रणनीतिक क्षेत्रमा ठूलो लगानी गर्न इच्छा व्यक्त गरेको छ ।
नयाँ सरकारप्रति विश्वास व्यक्त गर्दै युएईले नेपालमा लगानी विस्तारका लागि आवश्यक वातावरण निर्माण गरिदिन आग्रह गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र युएईका वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको उच्चस्तरीय भेटवार्तामा द्विपक्षीय व्यापार, लगानी र आर्थिक सहकार्यका विविध विषयमा विस्तृत छलफल भएको थियो ।
भेटका क्रममा युएईका मन्त्री डा. थानीले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सहकार्य अघि बढाउन चाहेको बताए । उनले कृषि परियोजनामा लगानीका लागि आवश्यक सहजीकरण गरिदिन नेपाली पक्षसँग आग्रह गरे ।
युएईबाट आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको रेलवे क्षेत्रमा पनि निजी क्षेत्रमार्फत लगानी गर्न चासो देखाएको छ । प्रतिनिधिमण्डलले यसका लागि आवश्यक कानुनी व्यवस्था, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरण सुनिश्चित गर्नुपर्ने धारणा राख्यो ।
त्यसैगरी, युएईले नेपालको सूचना प्रविधि क्षेत्रमा पनि ठूलो सम्भावना देखेको छ । नेपालमा हरित डाटा सेन्टर स्थापना गर्ने योजना रहेको जानकारी दिँदै आवश्यक लगानी गर्न आफूहरू तयार रहेको युएई पक्षले जनाएको छ ।
बैठकमा नेपालमा उत्पादन हुने फलफूल, तरकारीलगायत कृषि उपजलाई युएई बजारमा निर्यात विस्तार गर्ने विषयमा पनि सहमति जुटाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
नेपाली कृषि उत्पादनको निर्यात सहज बनाउन खाद्य गुणस्तर परीक्षण, प्रमाणीकरण तथा अन्तर्राष्ट्रिय मापदण्ड विकासमा आवश्यक लगानी र प्राविधिक सहयोग गर्न युएई सकारात्मक रहेको बताइएको छ ।
उद्योग मन्त्री गौरीकुमारी यादवले नेपाल-युएई व्यापार मञ्चलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रस्ताव राख्दै दुई देशबीचको आर्थिक साझेदारीलाई नयाँ उचाइमा लैजानुपर्नेमा जोड दिइन् ।
युएई पक्षले उक्त प्रस्तावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा थप ठोस छलफल गर्ने प्रतिबद्धता जनाएको छ ।
भेटका क्रममा मन्त्री यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडान सञ्चालनका लागि देखाएको सकारात्मक पहलप्रति युएई सरकारलाई धन्यवाद पनि व्यक्त गरिन् ।