काठमाडौं । संघीय संसद्का दुवै सदनमा गरी ३६ वटा विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये प्रतिनिधिसभाका विभिन्न विषयगत समितिमा २४ वटा विधेयक विचाराधीन रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पाँचवटा, अर्थ समितिमा चारवटा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिमा तीन–तीनवटा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्य व्यवस्था तथा सुशासन समितिमा दुई–दुईवटा तथा कृषि तथा प्राकृतिक स्रोत समितिमा एउटा विधेयक विचाराधीन रहेको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विचाराधीन छैनन् । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी एउटा विधेयक रहेको छ । राष्ट्रिय सेवा दल विधेयकको सन्देश राष्ट्रिय सभामा प्रस्तुत हुन बाँकी रहेको उनले बताए ।
प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकमा अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन र खारेज गर्ने विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक, भुक्तानी तथा फर्छ्योटसम्बन्धी विधेयक, फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक, चलचित्र विधेयक तथा खानी तथा खनिज पदार्थसम्बन्धी विधेयकलगायत छन् ।
उनले भने, ‘हाल संघीय संसद्मा ३६ वटा विधेयक विचाराधीन अवस्थामा छन् । त्यसमध्ये प्रतिनिधिसभाका समितिमा २४ वटा विधेयक विचाराधीन छन् । खासगरी अर्थसम्बन्धी केही कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, राहदानी पहिलो संशोधन विधेयक, भुक्तानी तथा फर्छ्योट, फोहोरमैला व्यवस्थापनलगायतका विभिन्न २४ वटा विधेयक प्रतिनिधिसभाका समितिमा विचाराधीन रहेका छन् । राष्ट्रिय सभाका समितिमा कुनै पनि विधेयक विचाराधीन छैनन् । तर, राष्ट्रिय सभामा प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय सेवा दल विधेयकको सन्देश प्रस्तुत हुन बाँकी छ । अन्यथा राष्ट्रिय सभामा कुनै पनि विधेयक छैनन् ।’
संसद्मा नयाँ विधेयक दर्ताको संख्या सात पुगेको छ । अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को अधिवेशन अन्त्य गरेका थिए । संसद्को अधिवेशन अन्त्य भएपछि थप छवटा विधेयक दर्ता भएको प्रवक्ता गिरीले जानकारी दिए ।
अधिवेशन अन्त्य भएपछि दर्ता भएका छवटा नयाँ विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, सुशासन (व्यवस्थापन तथा सञ्चालन) (पहिलो संशोधन) विधेयक, भवन (दोस्रो संशोधन) विधेयक, राष्ट्रिय सडक सुरक्षा विधेयक तथा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक रहेका छन् ।
त्यस्तै, सभामा प्रस्तुत भएर मात्रै रहेको एउटा विधेयक छ । डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक सभामा विचाराधीन रहेको प्रवक्ता गिरीले जानकारी दिए ।
उनका अनुसार समितिमा छलफल भएर प्रतिवेदन तयार भएका दुईवटा विधेयक रहेका छन् । संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ को प्रतिवेदन समितिले सभामा पेस गरिसकेको छ । उक्त विधेयक सभामा विचाराधीन छ । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको प्रतिवेदन भने तयार भएर सचिवालयमा प्राप्त भएको उनले बताए ।
उनका अनुसार संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका विधेयकको संख्या १२ रहेको छ । त्यस्तै, संसद्मा प्रस्तुत भएका छवटा सन्धि तथा महासन्धि पारित भइसकेका छन् ।
उनले भने, ‘नयाँ दर्ता भएका विधेयकको सन्दर्भमा अधिवेशन अन्त्य हुने दिन संघीय निजामती सेवा विधेयक, २०८३ दर्ता भएको थियो । त्यसपछि छवटा विधेयक दर्ता भएका छन् । हाल सातवटा नयाँ विधेयक दर्ता भएका छन् । सभामा प्रस्तुत मात्रै भएर रहेको विधेयक एउटा छ, त्यो डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक हो । समितिको प्रतिवेदन पेस भएर सभामा विचाराधीन अवस्थामा संवैधानिक निकायका पदाधिकारीहरूको सेवा, सर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ रहेको छ । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयकको समितिको प्रतिवेदन सचिवालयमा प्राप्त भएर बसेको छ । यसबीच संघीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट १२ वटा विधेयक प्रमाणीकरण भइसकेका छन् ।’
समितिमा विचाराधीन विधेयकमाथि दसैँको बिदापछि छलफल अघि बढाउने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ । दसैँको बिदाअघि समितिमा कतिपय विधेयकको दफावार छलफल भइरहेको थियो भने केही विधेयकको सैद्धान्तिक छलफल सुरु गरिएको थियो । बिदापछि विधेयकलाई टुंगोमा पुर्याउने गरी छलफल अघि बढाउने तयारी गरिएको छ ।