काठमाडौं । काठमाडौंको चोभारडाँडास्थित ऐतिहासिक आदिनाथ मन्दिरमा धार्मिक र सांस्कृतिक विशिष्टतासहित एकमहिने मेला सुरु भएको छ ।
आश्विन शुक्ल पूर्णिमा (आज) देखि सुरु भएको मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने जनाएको छ ।
मेलाको अवसरमा काठमाडौं उपत्यका र आसपासका क्षेत्रबाट भक्तजन मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गर्ने गर्छन् ।
लिच्छवीकालीन सम्पदाका रूपमा परिचित आदिनाथ मन्दिर धार्मिक आस्थासँगै ऐतिहासिक र पुरातात्विक महत्त्वका कारण पनि विशिष्ट मानिन्छ ।
मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप झल्काउने मूर्ति रहेकाले यसलाई अर्धनारीश्वर मन्दिरका रूपमा समेत चिनिन्छ । हिन्दू धर्मावलम्बीले आदिनाथलाई शिवशक्तिका रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीले करुणाका प्रतीक लोकेश्वरका रूपमा आराधना गर्छन् ।
धार्मिक सहअस्तित्वको प्रतीकका रूपमा रहेको यस मन्दिरमा वार्षिक मेलाका बेला भक्तजनको विशेष चहलपहल हुने गर्छ । मन्दिरको दर्शन र पूजाआजा गरेमा भय, रोग तथा विघ्नबाधाबाट मुक्ति मिल्ने र पारिवारिक सुख, शान्ति एवं समृद्धि प्राप्त हुने जनविश्वास छ ।
मेलासँग छालासम्बन्धी रोगबाट बच्ने किंवदन्तीसमेत जोडिएको छ ।
त्यस्तै, बौद्ध धर्मावलम्बीले दीर्घायु, अकाल मृत्युबाट सुरक्षा र धनसम्पत्ति प्राप्तिको कामनासहित लोकेश्वरको पूजा गर्ने परम्परा छ । यी विश्वास र परम्पराले आदिनाथ मन्दिरलाई धार्मिक आस्थाको महत्त्वपूर्ण केन्द्र बनाएका छन् ।
हिन्दू र बौद्ध धर्मावलम्बीले आ–आफ्नै धार्मिक मान्यताअनुसार एउटै मन्दिरमा पूजा गर्ने परम्पराले आदिनाथको महत्त्वलाई थप विशिष्ट बनाएको आयोजकले जनाएको छ ।