काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको मृत्यु घटनालाई लिएर राज्य, समाज र नागरिक सबैले सामूहिक आत्मचिन्तन गर्नुपर्ने बताएका छन् ।
थापाले शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गणेश नेपालीको घटनाले समाज, राज्य र सामूहिक चेतनालाई स्तब्ध बनाएको बताएका हुन् ।
उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, यो घटनालाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन् ।
थापाले यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र मानवीय संवेदनासँग जोडिएको विषय भएकाले यस कठिन घडीमा गणेश नेपालीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ भन्नेमा सबैले आ–आफ्नो ठाउँबाट सोच्न र सक्दो सहयोग गर्नुपर्ने बताएका छन् ।
उनले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्ने धारणा राखेका छन् ।
थापाले नागरिकलाई निराशाको चरम अवस्थामा पुग्न बाध्य पार्ने कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले एउटा युवा किन आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्थासम्म पुग्छ, राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति किन गराउन सकेनन्, र समाज, परिवार, राज्य तथा नागरिकका रूपमा कहाँ कमजोरी भयो भन्ने प्रश्नको इमानदार जवाफ खोज्नुपर्ने बताएका छन् ।
भविष्यमा कुनै पनि नागरिकले यस्तो पीडादायी बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने थापाको भनाइ छ ।