काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा र उच्च हिमाली भेगमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ । समुद्री आँधी भारतको भूभागमा प्रवेश गरेपछि कमजोर हुने र नेपाल आइपुग्दा यसको तीव्रता घट्ने आकलन गरिए पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
भारतको विशाखापटनमनजिकबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको चक्रवातको प्रभाव नेपालमा कति पर्ने भन्ने अझै निश्चित भइसकेको छैन । यसको मार्ग, गति र वायुमण्डलीय अवस्थाले वर्षा तथा हिमपातको मात्रा निर्धारण गर्ने मौसमविद्हरूको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार नेपाल आइपुग्दा चक्रवात कमजोर भएर न्यूनचापीय प्रणालीका रूपमा रहने सम्भावना छ । तर, यसको मार्ग नेपालनजिक पर्ने भएकाले सम्भावित जोखिमलाई बेवास्ता गर्न नहुने उनले बताएकी छन् ।
चक्रवात कमजोर हुँदैमा त्यसले ल्याउने जलवाष्पको प्रभाव पनि पूर्ण रूपमा समाप्त नहुने भएकाले विशेषगरी उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहन सक्ने मौसमविद्हरूको आकलन छ ।
मुस्ताङपूर्वका हिमाली क्षेत्रमा बढी जोखिम
मौसम पूर्वानुमान महाशाखाले यसअघि नेपालका सबै हिमाली जिल्लामा सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेको थियो । मंगलबारको पूर्वानुमानमा भने मुस्ताङदेखि पूर्वतर्फका हिमाली जिल्लामा जोखिम बढी हुन सक्ने औँल्याइएको छ ।
यद्यपि, पश्चिम नेपालमा जोखिम नरहेको निष्कर्षमा पुग्न नमिल्ने विभागकी प्रवक्ता पोखरेलले बताएकी छन् । उनका अनुसार सुदूरपश्चिमको दार्चुलासम्मै पूर्वसावधानी आवश्यक छ । मौसम प्रणालीको मार्ग र तीव्रतामा परिवर्तन आउन सक्ने भएकाले जोखिमसम्बन्धी पूर्वानुमानसमेत फेरिन सक्ने उनले बताइन् ।
शुक्रबार वर्षा र हिमपातको प्रभाव बढ्न सक्ने
चक्रवात ‘अर्णव’को प्रभावबाट लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ । ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ ।
मौसम पूर्वानुमान महाशाखाको आकलनअनुसार बिहीबारदेखि सुरु हुने वर्षा शुक्रबार बढी सक्रिय हुन सक्नेछ । शनिबारदेखि भने प्रणाली कमजोर हुँदै जाने अनुमान छ । केही स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकाले मौसमको पछिल्लो अवस्था बुझेर मात्र यात्रा तथा अन्य गतिविधिको योजना बनाउन आग्रह गरिएको छ ।
विशेषगरी उच्च हिमाली क्षेत्रमा हिमपात र हिमआँधीको जोखिम हुन सक्ने भएकाले पदयात्री तथा पर्वतारोहणमा जानेहरूले सावधानी अपनाउनुपर्ने मौसमविद्हरूको सुझाव छ । प्रतिकूल मौसमको पूर्वानुमान भएका क्षेत्रमा यात्रा स्थगित गर्ने वा सुरक्षित स्थानमा फर्कने विकल्पबारे पनि विचार गर्नुपर्ने उनीहरूको भनाइ छ ।
धानबाली भित्र्याउने किसानलाई सतर्कता
चक्रवातको प्रभावले हुने वर्षाले कृषि क्षेत्रमा समेत क्षति पु¥याउन सक्ने देखिएको छ । अहिले धान काट्ने र भित्र्याउने समय भएकाले किसानले मौसमको पूर्वानुमानअनुसार कामको योजना बनाउनुपर्ने मौसमविद्हरूको सुझाव छ ।
वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्ने, बालीमा क्षति पुग्ने तथा भित्र्याउने काम प्रभावित हुने जोखिम रहन्छ । त्यसैले सम्भव भएसम्म धान सुरक्षित स्थानमा राख्ने र वर्षाको सम्भावना भएका दिनमा कृषि कार्यको तालिका मिलाउनुपर्ने देखिन्छ ।
मौसमविद्हरूले चक्रवातको प्रभाव र त्यसबाट उत्पन्न हुन सक्ने वर्षा तथा हिमपातको अवस्थाबारे पछिल्लो पूर्वानुमान नियमित रूपमा हेर्न आग्रह गरेका छन् । चक्रवात नेपाल आइपुग्दा कमजोर हुने आकलन गरिए पनि वर्षा, हिमपात र कृषि क्षेत्रमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै पूर्वतयारी गर्नु आवश्यक देखिन्छ ।